सम्झनामा ‘सुवासजी’
काठमाडौं (अन्नपूर्ण) : राजनीतिक दलका नेता तथा संविधानविद्हरूले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई सम्झेका छन्। संविधान निर्माणमा नेम्बाङले गरेको योगदानको उनीहरूले खुलेर प्रशंसा गरेका हुन्। नेम्बाङको समझदारीपूर्ण क्रियाकलापको कारण नै २०७२ असोज ३ मा संविधान बनेको उनीहरूको तर्क छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्बाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुःखद् अवस्था आएको बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेम्बाङको स्मरणमा आफ्नो पार्टीले ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताए। ‘हामी संविधान दिवस पनि मनाइरहेका छौं। तर, संविधान बनाउने सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङजी हामीमाझ हुनुहुन्न,’ ओलीले भने, ‘यसपल्ट उहाँको उपस्थिति नभएर पदचिन्ह, कन्ट्रिब्यूसन के छ ? उहाँले दिनुभएको दिशानिर्देश, गोरेटो के छ ? उहाँका योगदान के छन् ? यी विषयहरूमा हामी छलफल गर्छौं, गरिरहेका छौं।’ ओलीले संविधान निर्माणमा नेम्बाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मूलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।
संविधान निर्माणको अगुवाइमा नेम्बाङको योगदानको सम्मान र प्रशंसा गर्दै ओलीले समृद्ध नेपालः सुखी नेपालको गन्तव्यमा मूलुकलाई पु¥याई छोड्न एमाले प्रतिवद्ध रहेको बताए।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनमा सबै दलहरूलाई एकै ठाउँमा उभिन आह्वान गरेका छन्। संविधान निर्माणमा सुवास नेम्बाङको योगदानबारे चर्चा गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले राष्ट्रियताको विषयमा सबै एकजुट हुनुपर्ने बताए। नेता खनालले संविधानसभाको अध्यक्षको नाताले संविधान निर्माणमा नेम्बाङको भूमिकाबारे पनि चर्चा गरे।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेम्बाङको नेपालको संविधान निर्माणमा अतुलनीय योगदान रहेको बताए । नेपालमा संविधान जारी हुन नदिन विभिन्न दबाब हुँदा पनि अध्यक्ष नेम्बाङको समझादारीपूर्ण व्यवहारले अघि बढेको बताए। ‘संविधान जारी हुन नदिन अनेकौं प्रेसर थियो। मस्यौदा समितिले संविधान बनाउँदैन, बनाए बुझाउन सक्दैन। बुझाए पनि सभामुखले समयमा टेबल गर्दैन, टेबल गरे निर्णयार्थ पेस गर्दैन। अनेकौ प्रकारको प्रेसर देशले खपेकै हो।’ उनले भने । उनले नेम्बाङमा संविधान सभा अध्यक्ष नभएको भए सम्भव त संविधान जारी गर्न गाह्रो पर्ने बताए। पूर्वसभामुख ओनसरी घर्तीले संसद्मा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व सुवासचन्द्र नेम्बाङलाई संसद्ले गुमाएको बताएकी छन्। उनले स्व.नेम्बाङको निधनप्रति दुःख व्यक्त गर्दै उनी संसद्को अभिभावक भएको बताइन्।
उनले नेम्वाङलाई समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने र असल नेताको रूपमा स्मरण गरिन्। उनले भनिन्, ‘उहाँले आफ्नो पदीय मर्यादा कहिल्यै पनि भुल्नुभएन। उहाँ संविधान सभाको सफल अध्यक्ष हुनुहुन्छ। हामी सबैले सम्झिरहन्छौं।’ पूर्वसभामुख घर्तीले राजनीतिक वृत्तमा उनले खेलेको मध्यस्थकर्ताको भूमिका राज्यले सधैंँ सम्झिरहने बताइन्।
सविधानविद् नीलाम्बर आचार्यले सबैंको भावनालाई समेटेर संविधान कार्यान्वयनको पाटोलाई सही बाटोमा ल्याउन सक्ने क्षमता भएका सुवास नेम्बाङको निधनले ठूलो क्षति पु¥याएको बताए।
संविधानविद् आचार्यले नेम्बाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानुनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने बताए।
उनले भने, ‘देशका सबै पार्टीहरूले आफ्ना निकटम मित्र गुमाएको अनुभव गरेका छन् भन्ने कुरा यस बीचका दिनहरूले देखाइसकेका छन्। सुवासजी एमालेका नेता हुनुहुन्थ्यो। तर साथसाथै नेपाली राजनीतिका पनि बहुतै प्रतिष्ठित, सम्मानित सबैले रुचाएका प्रिय व्यक्ति पनि हुनुहुन्थ्यो।’