रक्तदानमा मधेसी महिलाको उत्साह
जनकपुरधाम : ५२ वर्षीया प्रमिला साहले जीवनमा पहिलो पटक बुधबार रक्तदान गरिन्। पहिलो पटक रक्तदान गर्दा केही मनमा डर लागे पनि पछि उनको डर समाप्त भयो। पेसाले शिक्षिका रहेकी साहले हुन त पहिला पनि रक्तदान गर्छु भनेर सोचेकी थिइन्।
तर, कहिले के मिलेन त कहिले के। बुधबार धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरमा उनको आफ्नै गाउँमा एक संस्थाद्वारा संविधान दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएपछि उनले मौका पाएर रगत दान गर्ने निधो गरिन्। ‘रक्तदान जीवनदान भनेर सधैं विद्यार्थीहरूलाई पढाउँदै आएकी थिएँ। हाम्रो शरीरमा समय अनुसार खेर नै जाने रगत दान गरेपछि अर्काको जीवन बचाउन सहयोग हुनसक्छ भनेर पनि थाहा थियो। तर, अहिले सम्म रगत दान गर्ने अवसर जुरेको थिएन,’ प्रमिलाले अन्नपूर्णकर्मीसँग रक्तदान पछिको खुशी साट्दै भनिन्, ‘मेरो रगत अर्काको लागि जीवनदायी हुन सक्छ भन्ने कल्पना मात्रले निकै खुशी लागेको छ।’
२७ वर्षीया बबिता साहले पनि पहिलो पटक रक्तदान गरेकी हुन्। उनी रक्तदान गरेपछि शरीर नै हलुको भएको र मन निकै उत्साहित भएको अनुभव सुनाउँछिन्। ‘मलाई त निकै खुशी लागेको छ। बढिजसो महिलाहरूलाई प्रसुतिकै बेला रगत बढी गएर ज्यानै गुमाउँछन् भन्ने कुराहरू सुनेको थिए यस्तोमा आफू महिला भएर आफ्नो रगतले कसैको जीवन बाँचोस् भन्ने सोचका साथ रक्तदान गरे,’ बबिताले सुनाइन्, ‘म त फेरी पनि अवसर पाएभने रक्तदान गर्छु।’
मधेसका गाउँघरमा अहिले पनि महिलाहरूमा रक्तदान प्रतिको अवधारणा राम्रो छैन्। ‘रगत दान गरेपछि कमजोरी हुन्छ, यो निकै पीडादायी काम हो, महिलाको शरीर कमजोर भएकोले रगत दान गर्नु हुँदै भन्ने जस्ता मनगढन्ते प्रचारप्रसारका कारण महिलाहरू रक्तदान गर्न खासै अगाडि सर्दैनन्।
तर, सबैला गाउँमा भएको रक्तदान कार्यक्रममा १२ जना महिलाहरूले स्वस्फूर्त रुपमा रगत दान गरेर भ्रमहरूलाई चिर्ने काम गरेको रक्तसञ्चार सेवा जनकपुर प्रयोगशालाका प्रमुख नारायण न्यौपाने बताउँछन्। ‘घरमा कामकाज गर्ने गृहणीहरू आफूखुशी रक्तदान गर्न आएको देखेर निकै राम्रो लाग्यो, यस्तो माहौल मधेसमा बल्ल मात्रै बन्न थालेको छ,’ न्यौपाने भन्छन्, ‘यो एउटा ठूलो सन्देश हो समाजमा, महिलाहरूले अब आफ्नो रगतको महत्व बुझ्न थालेका छन्। सामाजिक क्षेत्रमा काम गर्न उत्प्रेरित भएका छन् यो परिवर्तित समाजको उदाहरण हो।’
रक्तसञ्चार सेवा जनकपुरसँग आबद्ध रहेका झण्डै ६५ वटा अस्पतालमा प्रतिदिन ५० पोकाभन्दा बढीको माग आउने गरेको न्यौपानेले बताए।