सुर्खेतमा संविधानविरुद्ध मसाल जुलुस
वीरेन्द्रनगर : राप्रपा नेपालले वर्तमान संविधान विरुद्ध सुर्खेतमा मसाल जुलुस निकालेको छ। संविधानको पक्षका राजनीतिक दलहरूले संविधान दिवस मनाइरहँदा राप्रपा नेपाल सुर्खेतले संविधानकै विरुद्धमा बुधबार मसाल जुलुस निकालेको हो। सुर्खेतको गणेश चोकबाट निकालेको मसाल जुलुस वीरेन्द्रचोकमा कोण सभाका रुपमा परिणत भएको थियो।
राप्रपा नेपालका कर्णाली प्रदेश इन्चार्ज इश्वरकुमार श्रेष्ठले ९४ प्रतिशत हिन्दूको मुलुकमा संविधानमा धर्मनिरपेक्षता लेखेर बहुसंख्या नागरिकको अपमान भएको बताए। उनले कोणसभालाई सम्बोधन गर्दै भने, 'नेपालको अहिलेको संविधानको काम छैन। यो खारेज हुनुपर्छ। नेपाललाई तत्काल हिन्दुराष्ट्र घोषणा गरिनुपर्छ। नेपाल हिन्दुराष्ट्र कायम गर्नका लागि लागिरहेको छ। अब कडा रुपमा जनताका बीचमा जानुपर्ने अवस्था आएको छ।'
यस्तै राप्रपाले लोकतन्त्र र संघीयताको खारेजीका साथै राजतन्त्र पुनर्स्थापित गर्नुपर्ने बताएको छ। कोण सभामा बोल्दै राप्रपा प्रदेश इन्चार्ज श्रेष्ठले भने, 'यो मुलुकका लागि राजतन्त्र नै ठीक हो। राष्ट्र र राष्ट्रियता बलियो बनाउन र मुलुकको समग्र विकास र समृद्धिका लागि राजतन्त्र नै ठीक हो। अहिलेको संघीयता र गणतन्त्रले मुलुकलाई गरिब बनाउने र जनतालाई लुट्ने काम मात्र भएको छ।'
कार्यक्रममा राप्रपा नेपाल निकट ट्रेड युनियनका केन्द्रीय सदस्य कमल चौलागाईं, राप्रपा नेपाल वीरेन्द्रनगर नगर अध्यक्ष तुलाराम पौडेल लगायतका नेताहरूले वर्तमान संविधान, संघियता, लोकतन्त्रको खारेजी र राजतन्त्रसहितको हिन्दुराष्ट्र घोषणाका लागि दबाब सिर्जना गर्न मसाल जुलुस निकालिएको बताएका थिए।