कृषि तथा सामुदायिक भवनमा कमसल इँटा प्रयोग, अनुगमन टोलीले भत्काइदिए वाल
झापा : झापाको बिर्ता बजारमा निर्माणाधीन कृषि तथा सामुदायिक भवनमा निर्माण कम्पनीले कमसल इँटा प्रयोग गरेको पाइएको छ। बिर्तामोड नगरपालिका–३ निर्माणाधीन सामुदायिक भवनको स्थलगत अनुगमन गएका टोलीले कमसल इँटा प्रयोग गरेको वाल भत्काइदिएको छ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको टोलीले बुधबार अनुगमनमा गएका थिए। कमसल इँटा प्रयोग भएको वाल तुरुन्तै भत्काएर गुणस्तरीय इँटा प्रयोग गरी नयाँ वाल निर्माण गर्न नगर प्रमुख प्रसाईंले निर्माण कम्पनीलाई निर्देशन दिएकी छन्।
एक नम्बर इँटा प्रयोग गर्नुपर्नेमा निर्माण कम्पनीले दोस्रो तलाको वालमा दुईदेखि चार नम्बरसम्मको इँटा प्रयोग गरेको पाइएपछि वाल भत्काउन बाध्य भएको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए। उनले अब पनि लापरबाही ढंगले काम अघि बढाए निर्माण व्यवसायीलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी दिए।
भवनमा यसअघि प्रयोग गरिएका इँटा एक नम्बर नै भएको पाइए पनि पछिल्लो पटक खरिद गरेको इँटा गुणस्तरहीन भेटिएको वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए। भोलिदेखि नै वडाको तर्फबाट पनि समिति बनाएर हरेक दिन अनुगमन तथा निगरानी बढाउने उनले बताए।
निर्माण कम्पनीले ४ ट्याक्टर इँटा कमसल आएको स्वीकार गरेको छ। कम्पनीका सुपरभाइजर सुदिप चौलागाईंले नगरपालिकाको निर्देशन अनुसार कमसल इँटा फिर्ता गरी गुणस्तरीय इँटा मगाएर प्रयोग गर्ने बताए।
सरकारको ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याटसहित)को लागतमा सामुदायिक भवन निर्माण भइरहेको छ। निर्माण कम्पनी शिवालय/आरएस जेभीले २०७९ वैशाख ४ गते भवन निर्माणको सम्झौता गरेका थिए।
सम्झौताअनुसार २०८० असोज ६ गते योजना सम्पन्न गर्नुपर्ने छ। ठेकेदार कम्पनीले हालसम्ममा ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ।