सासुलाई बोक्सी आरोप लगाउने बुहारी पक्राउ
गोरखा : ७२ वर्षीया सासुलाई विगत १५ वर्षदेखि बोक्सी आरोप लगाएर दुर्व्यवहार गर्ने गोरखाकी एक बुहारी पक्राउ परेकी छन्। बोक्सीको आरोप लगाई दुर्व्यवहार गरेको भन्दै पीडितको जाहेरी दिएपछि शहिदलखन गाउँपालिका–६ बतासेकी चमेली भनिने बिपना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
उनीलाई हिरासतमा राखी बिहीबार ‘बोक्सीको आरोप’ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए।
आफूमाथि बोक्सीको आरोप लगाई अपमान र बेइज्जत गरेको भन्दै पीडित महिलाले गत भदौ २९ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।
‘सधैं यता फर्के पनि बोक्सी बूढी भन्ने, उता फर्के पनि बोक्सी बूढी भनेर बस्न खान दिइन। सही नसक्नु भएर प्रहरीलाई गुहारेको हो’, पीडित वृद्धाले भनिन्, ‘मेरो बुढा मरेको २२ वर्ष भयो। कान्छो छोरो मरेको १५ वर्ष भयो। कान्छो छोरो बितेको दिनदेखि मलाई जता फर्के पनि बोक्सी भन्ने। धान्नै नसक्ने भएपछि अरू के गर्ने त ?’
काट्छु, मार्छु भनेर डर धम्की दिने गरेको पीडित महिलाले आरोप लगाइन्। ‘बोक्सी लाग्छ भनेर आफ्नै नाति, नातिनी छुन पनि दिन्न। अरूको नाति, नातिनी खेलाउँछु। आफ्नो नाति, नातिनी नजिक पर्नै दिन्न’, उनी भन्छिन्, ‘मेरो छोरालाई कहिले बोक्सीको छोरो भन्छे, कहिले बोक्सीको पोइ भन्छे। कहिले मारिदिन्छु भनेर लाठो उचालेर आउँछे।’ अचाक्ली भएर प्रहरी गुहार्न पुगेको उनको भनाइ छ।