'मधेसलाई राम्रोसँग बुझेपछि मात्रै रास्वपाले मधेसबारे धारणा सार्वजनिक गर्छ'
वीरगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मधेस र मधेसका मुद्दा बारे आफ्नो पार्टी अहिले पनि बुझ्ने क्रममै रहेको बताएका छन्।
वीरगन्जमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति अर्यालले मधेस र मधेसका मुद्दा बुझेपछि मात्रै मधेसबारे पार्टीको धारणा स्पष्ट पारिने बताए। उनले भने,'मधेसले के चाहेको छ, मधेसका मुद्दाहरू के के हुन्, यसबारेमा पार्टीले बुझ्ने काम गरिरहेको छ।'
मधेसलाई राम्रोसँग बुझिसकेपछि मात्रै मधेसका मुद्दा सम्बोधनका लागि काम गर्न सकिने उनले बताए। अर्यालले पुराना वा ठूला भनिएका राजनीतिक दलले अहिले सम्म मधेसलाई बुझ्नै नसकेको रास्वपाको निष्कर्ष रहेको पनि बताए। उनले भने,'त्यही कारणले उनीहरूले मधेसलाई माया दिन सकेका छैनन्। मधेसका मुद्दा सम्बोधन गर्न सकेका छैनन्।
अहिले मधेसका ८ वटै जिल्लामा रास्वपा संगठन विस्तारको अभियानमा लागेको जानकारी पनि गराए। अर्यालले संविधान संशोधनका लागि रास्वपाले संसदमा जोडदार ढंगले आवाज उठाउने बताए। उनले भने,'संविधानसभा केही कुरा असाध्यै राम्रा पनि छन्। तर धेरै कुराहरू सच्याउनु पर्ने पनि छन्। त्यसकारण संविधान संशोधन गर्नुपर्छ। यो रास्वपाको स्पष्ट धारणाा पनि हो।'
राजतन्त्र र राजा फर्काउने सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उपसभापति अर्यालले नेपालमा अब राजा वा राजतन्त्रका बारेमा बहस गर्नु आवश्यक नै नभएको बताए।