भारतीय खेलमन्त्रीले गरे चीन भ्रमण रद्द
उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेशका तीन जना महिला खेलाडीले एसियाली खेलकुद प्रतियोगिता आयोजक समितिले अनुमति दिए पनि ती खेलाडीलाई चीन सरकारले खेलाडी परिचयपत्र (एक्रिडिएसन)नदिएपछि खेलमन्त्रीले भ्रमण रद्द गरेका हुन्।
नयाँदिल्ली: एसियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुद मन्त्रीले चीन भ्रमण रद्द गरेका छन्।
उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेशका तीन जना महिला खेलाडीले एसियाली खेलकुद प्रतियोगिता आयोजक समितिले अनुमति दिए पनि ती खेलाडीलाई चीन सरकारले खेलाडी परिचयपत्र (एक्रिडिएसन)नदिएपछि खेलमन्त्रीले भ्रमण रद्द गरेका हुन्।
चीनले एक्रिडिएनलाई नै भिसाको मान्यता दिएकाले त्यसको अभावमा उनीहरू प्रतियोगितामा भाग लिनबाट वञ्चित भएका हुन्। चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतका रूपमा आफ्नो भूमि दाबी गर्दै आएको छ। उक्त प्रदेशको केही भूभागलाई लिएर नयाँदिल्ली र बेइजिङबीच विवाद जारी छ।
यसैबीच, भारतीय विदेश मन्त्रालयले खेलाडीमाथि चीनले गरेको भेदभावपूर्ण व्यवहारको निन्दा गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले चीनको यो कदमबाट एसियाली खेलकुदको भावनामा गम्भीर आघात पुगेको बताएका छन्।