वन्यजन्तुप्रेमी सुवास नेम्बाङ

वन्यजन्तुप्रेमी सुवास नेम्बाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले वन्यजीवबारे चासो राखेको थाहा पाउँदा निकै आनन्द अनुभूत गरें। किनकि नेताले यसरी खासै चासो दिँदैनन्।

पाँच वर्षअघि मलाई संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले भेट्न चाहेको हिमालखबरबाट जानकारी पाएँ। नभन्दै, एक साँझ एक अपरिचित नम्बरबाट फोन आयो। फोन नेम्बाङले गर्नु भएको थियो। उहाँले ‘म सुवास नेम्बाङ। तपाईंको फोन नम्बर हिमालखबरका प्रकाशक कनकमणि दीक्षितजीबाट पाएँ’ भन्नुभयो।

‘सिंहदरबारतिर आउने काम परेको बेला, जानकारी पाउँ। यहाँले लेख्नु भएका केही जीवबारे केही थाहा पाउनु छ।’ यति भन्दै इलामको सन्दकपुर जैविक विविधतामा सम्पन्न छ। त्यही निकै प्रजातिका गुराँस तथा सुनाखरी देखेको भन्दै त्यहाँ पुगेर अध्ययन गरिदिन आग्रह गर्नुभयो। त्यस बखतको कुराकानी सिंहदरबार जाँदा अवश्य तपाईंको कार्यकक्षमा प्रवेश गर्छु भन्दै टुंगिएको थियो।

संविधानसभाका अध्यक्षले फोन गरेभन्दा पनि वन्यजीवबारे चासो राखेको थाहा पाउँदा निकै आनन्द अनुभूत गरें। एउटा कुरा के प्रस्ट हो भने वन्यजीव अध्येयताले जतिसुकै गहन अध्ययन गरेर वन्यजीवको यथास्थिति पत्तो लगाए पनि त्यसलाई जोगाउन र भविष्यमा लाभ लिन सक्ने नीति बनाउन राजनीतिज्ञबाट कुरा नबुझी पूरा हुँदैन। हामीकहाँ नेताहरू राजनीतिमै बढी जानकारी राख्छन्। तर, जैविक विविधताप्रति खासै चासो दिँदैनन्। नेपाल यस्तो देश हो कि यो भौगोलिक विषमताका कारण, यहाँ संसारका कैयन देशमा नभएका वन्यजीव पाइन्छन्। समुद्री सतह नजिक पाउनेदेखि संसारकै उच्च भूभागमा रहने जीव नेपालमा पाइन्छ।

संसद्मा सम्बोधन : केही महिनापछि सिंहदरबार जानु थियो, गएँ। जानअघि तत्कालीन प्रदेश १ की सभासद् यशोदा अधिकारीसँग सुवासचन्द्र नेम्बाङज्यूसँग भेट गर्न जाँदैछु भनेको थिएँ। २०४५–५२ सालमा तेह्रथुमको एक विद्यालयमा विज्ञान तथा गणित पढाउन गएको थिएँ। उसबखत पूर्वसभासद अधिकारीसँग निकै हिमखिम थियो, त्यो आजसम्म छ। अधिकारीले मेराबारे सुवास नेम्बाङलाई भनिदिनु भएछ। उहाँले तीन दशकअघि पार्टीमा सँगै काम गथ्र्यौं भन्दा छक्क पर्नु भएको थियो अरे।

म सिंहदरबारस्थित एमाले संसदीय दलको उपनेता सुवास नेम्बाङको कार्यालय पुगें। स्वकीय सचिवलाई नाम टिपाएँ। स्वकीय सचिवले बडो आदरपूर्वक नमस्कार गरी, एकैछिन बस्नुहोस् भन्दै संविधानसभा अध्यक्षज्यूले त्यसदिन अघि नै म आउने जानकारी गराउनु भएको बुझें। उनले ‘भित्र पसेकाहरू निस्केपछि तपाईं जानुहोस्, अरूलाई तपाईंपछि पठाउँला’ भन्दै म त्यहाँ पुगेको जनाउ दिन भित्र गए। बडो गजब लाग्यो, फगत एउटा वन्यजीवबारे लेख्ने लेखकसँग यति सदाशयता !

नेम्बाङसँग केहीबेर भलाकुसारीबाहेक वन्यजीवका कुरा भए। बामपुड्के बँदेल पहिले नेपालमा पाइन्थ्यो, अहिले नेपालमा पाइन्न, तै पनि यो नेपालको संरक्षित वन्यजन्तुको सूचीमा समावेश छ भन्ने थाहा पाएर छक्क पर्नुभयो। यस्तै, चिरु भनिने जनावरको पनि जानकारी लिन चाहनु भयो। चिरु नेपालमा कहिल्यै थिएन, तै पनि नेपालको वन्यजन्तुको सूचीमा समावेश छ भन्ने थाहा पाएर थप छक्क पर्नुभयो। भन्नुभयो, ‘तपाईं जस्तै अन्य केहीले पनि यदाकदा वन्यजन्तुका बारेमा लेख्छन्। तर तपाईंको लेखाइ चाहिँ अलि भिन्न कोणबाट आउँछ। हरेकजसो लेखमा हामीलाई पनि चस्स सुझाव दिनुहुन्छ। कानुनमा यसो भनिएको छ, यसो गर्दा राम्रो होला भन्ने सुझाव चाहिँ मलाई मनपर्छ। यही भएर म तपाईंको लेख पाएसम्म पढ्न छुटाउदिनँ तर कति त थाहा पाएर पनि छुट्छन्।’  

यसो भन्दाभन्दै, संसद्मा वन्यजन्तुका बारेमा कुरा उठाएको प्रसंग जोड्नुभयो। बर्खामा परेको पानी बाढी बनेर तराई हुँदै भारत प्रवेश हुन्छ। त्यसबेला पानीमात्र जाँदैन। जनावर पनि बगाएर लैजान्छ। हाम्रा कृष्णसागर, घडियाल, गैंडासमेत बगाएर भारत पु¥याउँछ। यसबारे संसद्मा आवाज उठाएको बताउनुभयो। तर, खोइ, त्यसका पछि सम्बन्धित निकाय लाग्यो कि लागेन, थाहा भएन। घडियालको संख्या बढाउन सरकारको थुप्रै रकम खर्च भएको छ। बच्चा यता हुर्काइन्छ, ठूलो भएपछि भारत पुग्छ, यसलाई के कसरी जोगाउने ?

नेम्बाङले यसो भनिरहँदा, कोसी टप्पु वन्यजन्तु आरक्षको अर्नाको कुरा उठाउन छुटाउनु भएन। उहाँले कोसीमा शुद्ध अर्ना (जंगली भैंसी) त छैन भन्ने सुन्छु, यो के हो ? भनेर जिज्ञासा राखेजसो गर्नुभयो। कोसी टप्पुमा दशकौंदेखि गाईबस्तु त भैंसी चरीचरणबाट त्यहाँको अर्ना प्रताडित भएको सुनाउनुभयो। यसले आनुवंशिक शुद्धतामा मात्र होइन, अर्नाको चरिचरण अर्थात् भोजनमै समस्या आइपरेको छ, केही अर्ना त भोकले मर्न लागेको जस्तो आफूले तस्बिर खिचेको जानकारी दिनुभयो। अर्ना जोगाउन के गर्नुपर्छ, बुँदामा टिपेर उपलब्ध गराइदिन पनि भन्नुभयो। उहाँले वनमन्त्री, वनसचिवलाई वन ऐनसम्बन्धी नियमावली वा कार्यविधि परिवर्तन गर्नुपर्छ वा ल्याउनुपर्छ, भन्छु पनि भन्नुभयो। मभन्दा बढी कोसी टप्पु र अर्नासम्बन्धी जानकारसँग विमर्श गरेर टिपोट उपलब्ध गराएँ। त्यसबारे कहिल्यै कुरा भएन। 

सन्दर्भ सालक : सन् २०१८ को सेप्टेम्वर–अक्टोवर महिनामा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका तत्कालीन अध्यक्ष सागर दाहालसँग संखुवासभाको वरुण तथा भोटखोला गाउँपालिकामा दुई पटक गएको थिएँ। उनले सन् २०१९ फेब्रुरीको दोस्रो हप्ता फोन गरे। त्यो वर्ष विश्व सालक दिवस साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनको आयोजना गर्ने तय भएको रहेछ। हरेक वर्ष फेब्रुअरी १६ तारिख विश्व सालक दिवस मनाइन्छ। दाहालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको महानिर्देशकलाई मुख्य अतिथिका लागि निमन्त्रणा गरेका थिएछन्, उनले उक्त दिन नभ्याउने बताएछन्। त्यसपछि मलाई सम्पर्क गरेका रहेछन्। दाहालले ‘पूर्वतिरको कोही सभासद् वन्यजन्तुप्रति चासो राख्ने खालका छन् भने अनुरोध गरौं न’ भने। मैले तुरुन्तै संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई निमन्त्रण गर्दा कसो हुन्छ ? भनें। दाहालजीले उहाँले मान्नुभए त काइदा हुने थियो तर के मान्नु होला र ? भने। मैले ‘तपाईं पत्र तयार गर्नुहोस्, भोलि दुवैजना निम्ता लिएर जाउँ’ भनें। उनले अपत्यारिलो शैलीमा हुन्छ भने।

भोलिपल्ट सिंहदरबारस्थित एमाले संसदीय दलको उपनेताको कार्यालय पुगियो। कुरा गरेर समय लिइसकेको हुँदा पालो कुर्नु परेन। मैले, सागरजीको परिचय वन्यजन्तु क्षेत्रमा धुरन्धर अध्ययन अनुसन्धानमा लाग्नु भएको युवा अध्येता भएको जानकारी गराएँ। त्यसपछि पर्सिका दिन अर्थात् १६ फेब्रुअरीमा सातदोबाटोस्थित राष्ट्रिय प्रकृति कोषको हलमा गरिने विश्व सालक दिवसका लागि मुख्य अतिथि भइदिन आग्रह गरियो। उहाँले सालकप्रति चासो त दिनुभयो। तर, निकैबेरपछि समय निकाल्न नसक्ने बताउनुभयो।

हामीले निमन्त्रणापत्र दिँदै उक्त कार्यक्रममा विमोचन गरिने सालक संरक्षणसम्बन्धी पुस्तक र सालक संरक्षणमा सहभागी सामुदायिक वनलाई पुरस्कार वितरण पनि छ भन्ने जनायौं। त्यसका लागिमात्र आधा घण्टा समय उपलब्ध गराइदिन थप विनम्र अनुरोध ग¥यौं। फेरि, अनुहार निकैबेर आँखा चिम्म पारे झैं गर्नुभयो। अनि बल्लतल्ल आधा घण्टाका निम्ति हुन्छ भन्नुभयो। त्यसपछि प्रमुख अतिथिले हस्ताक्षर गर्नुपर्ने प्रमाणपत्र भोलि नै कार्यालयमा ल्याइपु¥याउन भन्नुभयो। हामीले अर्कोदिन कार्यक्रमको डिटेलसहित प्रमाणपत्रहरू सिंहदरबार लग्यौं।

१६ फेब्रुरीमा ८ बजेतिर राष्ट्रिय प्रकृति कोष पुगें। डब्लूडब्लूएफ, हरियो वन, अमेरिकी दूतावासअन्तर्गत यूएसएआईडी, आईयसीएन, जुलोजिकल सोसाइटी लन्डन नेपाल शाखाका प्रतिनिधिहरू, त्रिभुवन विश्वविद्यालय जन्तु विभागका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक, नेपाली टाइम्स म्यागेजिनका सम्पादक आदि ८:३० बजे कार्यक्रमस्थल पुगेका थिए। प्रमुख अतिथि ९ बजे आइपुग्ने कुरा भएको थियो। सागरजीसहित केहीजना ९ बज्न १० मिनेट बाँकी रहँदा नेम्बाङलाई प्रवेशद्वारमै रिसिभ गर्न जान भनेर हलबाट के बाहिर निस्केका थियौं, उहाँ त हलैनेर पो आइपुग्नु भएको थियो।

कार्यक्रममा सालकका बारेमा बडो गजब चर्चा गर्नुभयो। उहाँले सालकलाई जंगलतिर कतै भेटिए गाउँघरमा अशुभ मान्ने चलन छ। तर, उनले सालक बडो शुभ भएको स्मरण गर्नुभयो। भएको के रहेछ भने उहाँले पहिलोपटक इलाममा संसद्का लागि चुनाव लडेताका प्रचारप्रसार गर्ने अन्तिम साँझ बाटामा सालक भेटिएछ। उहाँको टोलीले लौ सालक देखियो, अशुभ हुने भयो, चुनाव हारिने भयो भनेर हल्लीखल्ली गरेछ। तर, उहाँलाई पत्यार लागेनछ। रातमा विचरण गर्ने जनावर, रातमा भेटिँदा के को लोदर हुन्छ ? भन्ने लाग्यो रे। नभन्दै, त्यसयता लगातार इलामबाट चुनाव जित्दै आएको हुँदा सालक भेट्दा अशुभ हुन्छ भन्ने मान्यता गलत हो भनेर सबैलाई हँसाउनुभयो। कार्यक्रममा बोलिरहँदा उहाँकै सहायकले बारम्बार समय अवगत गराइरहेका थिए। आधा घण्टा भनेर आउनु भएको उहाँ करिब डेढ घण्टा बसेर जानु भयो। म हलको पहिलो लहरमा बीचतिर बसेको थिएँ। जाँदाजाँदै घुमेर त्यहीँ आएर मलाई मात्र हात मिलाएर उहाँ सरासर निस्कनु भयो। दंग परें। सबैजना मैतिर पो हेरिरहेका रहेछन्।

हङ्रायोबारे खुल्दुली : पूर्वी नेपालको विशेषत अरुण नदीपूर्वका पहाडी तथा हिमाली जिल्लाहरूमा कसैले ठूलो गाँस भात मुखमा लगायो भने ‘हङ्रायोले पाङ्ग्रो निलेको जस्तो खाएको’ भन्ने चलन छ। पाङ्ग्रो भनेको इन्टाडा रिडी वैज्ञानिक नाम भएको कोसो फल्ने ज्यादै लामो लहरे वनस्पति हो। यसको बोटमात्रै लामो होइन, छिप्पिएको कोसो पनि लामो हुन्छ।

सपे्रको बोटमा कोसो झन्डै दुई मिटर लामो र १५ सेन्टिमिटर चौडासम्मको हुन्छ। बिउ गोलाकार चेप्टो ४–५ सेन्टिमिटरसम्म फराकिलो हुन्छ। यत्रो बिउ निल्ने चरालाई हङ्रायो भनिन्छ। यसको स्वरूप धनेशजस्तै हुन्छ। तर, धनेशको जस्तो ठुँढामाथि हेल्मेट अर्थात् क्यास्क भने हुँदैन। यो चरा वैज्ञानिक अभिलेखमा नेपालमा सन् १८५० यता कसैले देखेको जानकारी थिएन। नेपालमा यो चरा लोप भएको भन्ने लेखिएको थियो।

पंक्तिकारले यो चरा नेपालमा हुनुपर्छ भन्ने मान्यतामा अनलाइनखबर पत्रिकाको ३ कात्तिक २०७३ संस्करणमा ‘नेपालमा चराविद्ले नदेखेको हङ्रायो’ शीर्षकमा लेख लेखेको थियो। झापाका वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले यसको तस्बिर ६ पुस २०७८ मा इलाममा खिचे। खरेल नेपालमा हङ्रायोको तस्बिर खिच्ने पहिलो फोटोग्राफर हुन्। अरूले पनि कतै खिचेका थिए होलान्। तर, जानकारी प्रकाशित भएको थिएन। यो जानकारी नयाँ पत्रिका दैनिकको ८ पुस २०७८ संस्करणमा ‘अनुसन्धानबिनाको आरोप कहिलेसम्म ?’ शीर्षकमा मेरो लेख प्रकाशित भयो।

उक्त लेखले नेपालमा चरा अध्ययन अनुसन्धान गर्नेहरूलाई मानमर्दन ग¥यो भनेर विशेषत: चरा तथा वन्यजन्तु अध्येता र चराको तस्बिर खिच्नेहरू चार दर्जनभन्दा बढीले आक्रामक रूपमा निन्दा गरे। त्यसपछि नयाँ पत्रिकाकै २४ पुस २०७८ संस्करणमा हङ्रायोबारे थप ‘हङ्रायोको वैज्ञानिक अभिलेख’ शीर्षकमा मेरो लेख अर्को लेख प्रकाशित भयो। हङ्रायो नेपालमा झन्डै दुई शताब्दीपछि पुन: देखिएको समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका तथा टेलिभिजनमा प्रसारण भइसकेको थियो।

सुवास नेम्बाङ पुस २४ गते इलाम पुग्नु भएको रहेछ। त्यहाँ हङ्रायो इलाममा भेटियो भन्ने जानकारी व्यापक फैलिएको रहेछ। यो जानकारी लेख्ने पंक्तिकार हुन् भन्ने थाहा पाएपछि इलामबाटै फोन गर्नुभएथ्यो– ‘कमलजी बधाई। तपाईंले हङ्रायो इलाममा फेला पार्नु भएछ। ज्यादै खुसी लाग्यो। यो इलामे जनताका लागिमात्र होइन, देशकै लागि गर्वको कुरा हो।’ उत्तरमा भनेथें– ‘मैले फेला पारेको होइन, मात्र पत्रिकामा लेखेको हुँ।’ उहाँले भन्नुभयो, ‘यहाँ त सबैले तपाईंकै नाम लिएको सुनें। 

सानै छँदादेखि हङ्रायो र पाङ्ग्रोको मिथक सुनेको थिएँ। के यसले साँच्चै पाङ्ग्रो निल्छ ? काठमाडौं आएर सबिस्तारमा बताउनुहोस् है। आज पार्टीअध्यक्षज्यूसँग झापा पुग्ने कार्यक्रम छ। भोलि संखुवासभा जाँदैछौं, पर्सि काठमाडौं पुगेपछि तपाईंलाई फोन गर्छु। त्यसपछि हङ्रायोलाई के कसरी जोगाउने र पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्नेबारे विमर्श गरौंला।’

त्यसपछि फेरि फोनमा कुराकानी भएन। हङ्रायोबारे भेटेर सबिस्तारमा बताउन पनि सकिनँ। पछुतो लागिरहेछ। उहाँ नेकपा विभाजन हुने संकटको बेला झन्डै प्रधानमन्त्री र गत आमनिर्वाचनपछि त्यसरी नै झन्डै राष्ट्रपति हुनुभएको थियो। यसको अर्थ, उहाँ एमालेमात्र होइन, अन्य पार्टीले पनि मान्ने नेता हो। उहाँले २०७२ सालपछि जब संविधानसभाबाट संविधान जारी भयो, त्यसपछि अक्सर भन्ने गर्नुहुन्थ्यो कि अब कुनै प्रधानमन्त्रीको सनकले संसद् विघटन हुन सक्दैन। यो कुरा सत्य सावित भयो। तर, उहाँकै पार्टीअध्यक्ष प्रधानमन्त्री हुँदा संसद् दुई–दुई पटक विघटन गर्दा सार्वजनिक रूपमा गलत हो भनेर कहिल्यै भन्न सक्नु भएन। यसमा चाहिँ सुवास नेम्बाङ चुक्नु भएकै हो।

मैले, तपाईंले किन सत्य कुरा जुनबेला भन्नुपर्ने अवस्था थियो, त्यसबेला भन्नु भएन ? भनेर सोध्ने धोको राखेको थिएँ। तर, पूरा गर्न पाइनँ। संसद् दुई–दुई पटक विघटन हुँदा त्यो कदम गलत हो भनेर भनिएको भए उहाँको ओज जति छ, थियो, अवश्य त्योभन्दा निकै माथि हुनेथियो। उहाँको अप्रत्याशित निधनप्रति यतिबेला हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.