समाचारको त्यो धुन

समाचारको त्यो धुन

लालबहादुर खातीले ‘च्यानकुटु च्यानकुटु झ्याईं गर्ने बाजा, मन परेको...’ बोलमा रेडियो नेपालमा रेकर्ड गराए। जुन राजालाई पनि औधि मन पर्‍यो।

२०४६ सालअघि रेडियो नेपालमा बज्ने समाचार धुन बज्न छोडेको ३५ वर्ष भयो। २०४६ सालमा शासन व्यवस्था फेरियो। २००७ वैशाख २० देखि बज्दै आएको समाचारको शैली फेरियो। समाचारका ‘कन्टेन्ट’ फेरिए अनि समाचारमा प्रयोग हुने पदावली पनि फेरिए। शब्द र भाषामा राजनीतिक गन्ध हुनसक्छ, तर धुनमा न शब्द, न गन्ध।

तैपनि शासन व्यवस्था फेरिएसँगै समाचारको धुन फेर्नुपर्ने बाध्यता किन पर्छ ? शासन व्यवस्थासँग धुनको के साइनो ? राजतन्त्रमा बज्ने समाचार धुनमा लोकतान्त्रिक, गणतान्त्रिक समाचार बजाउन नमिल्ने के थियो ? तमाम अनुत्तरित प्रश्नको पर्वाह नगरी रेडियो नेपालको समाचार धुन बदल्ने काम भयो।

त्यो धुनसँग गोरखाको अगाध साइनो छ। साइनोमात्र होइन, सो धुनमा गोरखाको ठूलो गौरवगाथा छ। त्यसैले त्यो धुन नामेट भएकामा गोरखाको ठूलो गुनासो छ। त्यो धुनको मूलगीत ‘कहिलेको झरी, कहिलेको बतास घामछाया, दुई दिनको जिन्दगानी रामछाया’ हो (स्रोत : झङ्कार २०७८, बुलु मुकारुङ, रेडियो नेपाल)। कुनै बेला अन्तर्राष्ट्रियस्तरको स्वर्ण पदक जित्न सफल उक्त गीत न रेडियो नेपालको अर्काइभमा सुरक्षित छ, न नयाँपुस्ताले संरक्षणमा चासो दिएका छन्।

बरु शब्द अदलबदल गरी लालबहादुर खातीले ‘च्यानकुटु च्यानकुटु झ्याईं गर्ने बाजा, मन परेको मायालाई पाएँ आज’ बोलमा रेडियो नेपालमा रेकर्ड गराए। नेपाली लोकगीतको अर्काइभमा कतै नभेटिने यो गौरव बोकेको गीत छ त केवल सिरानचोक क्षेत्रका पाका पुस्ताको जनजिब्रोमा मात्र छ। गीत यसै कर्णप्रिय छ, यसको इतिहास झन् गजब छ। २०१३ वैशाख २१ गते तत्कालीन श्री ५ महाराजाधिराज महेन्द्र वीरविक्रम शाहदेवको शुभराज्यभिषेकमा सिराचोकका कलाकार टिमले यही गीत सानदार प्रस्तुति गरे। धुमधामले नाचे, नचाए। राजालाई पनि औधि मन पर्‍यो। कलाकार टिमलाई बक्सिस बक्स भयो।

लगत्तै चीनमा आयोजित अन्तर्राष्ट्रियस्तरको लोकगीत सम्मेलनमा राजालाई मन परेको यही गीत र तिनै कलाकार जाने भए। टिममा सिरानचोक उपल्लो पामका पाँचजना सहभागी थिए। उनीहरू सबै गुरुङ समुदायका कलाकार हुन्। टोपमान सुबेदार, उद्वीर जम्दार, लैबरिया जम्दार (हर्कबहादुर), होमाया (मायादेवी) र हीरादेवी सो टिममा सामेल थिए। उनीहरू अहिले कोही पनि यस धरामा छैनन्।

गाउँमा हुने सांस्कृतिक कार्यक्रममा उनीहरूसँगै नाचगानमा सामेल भएका तर चाइना जाने टिममा नपरेका ७८ वर्षीय तेजवीर गुरुङका अनुसार चाइनाबाट गोल्ड मेडल जितेर गाउँमा फर्केपछि गाउँमा ठूलै रमिता भयो। पाँचजनाले सुनको तक्मा ल्याएको देखेर गाउँलेहरू पनि दंग परेका थिए। सबैलाई खादा माला, टीका लगाएर सम्मान गरेको अहिले पनि उनको आँखामा झल्झल याद आउने गर्छ। किनभने उद्वीर तेजवीरका भेना पर्छन्, लौबरिया जम्दार ठूलोबाबा र होमाया उनकी दिदी हुन्। सो कहानी छिचोलेर बताउन सक्ने अहिले उनै तेजवीर मात्र हुन्।

६८ वर्षअघि नेपालको, अझै गोरखाको, त्योभन्दा पनि सिरानचोकको र सिंगो गुरुङ समुदायको शिर उँचो पार्ने कलाकारमात्र होइन, उनीहरूले जितेको तक्मा, प्रमाणपत्र, अन्य चिनो केही बाँकी छैन। संरक्षण गरेर राख्नुपर्छ भन्ने चेतनाको कमीले ती दसीप्रमाण नासिए। २०१२ सालअघि नै आर्मीको पेन्सनमा बसेका तीनजना पुरुष कलाकारका नाति, नातिनी पनि अहिले वृद्धावस्थामा छन्।

त्यतिबेला यो टिम गाउँमा ‘थेटर’ (नाटक) देखाउन नामी थियो। त्यतिबेला गाउँठाउँमा तिथि, पर्वमा जात्रा लाग्थ्यो। हरेक कोट, घाट, तीर्थ, थुम्काहरू जात्रा लाग्ने थलो थिए। यो टिम जहाँतहीँ थेटर देखाउन पुग्थ्यो। टिमको नेतृत्व टोपमान सुबेदारले गर्थे। ‘लैबरी लैबरी’ बोलको गीत आफैंले बनाएकाले हर्कबहादुर जम्दारलाई सबैले लैबरिया जम्दार भनेर बोलाउँथे। उद्वीर त झन् अद्भुत कलाका धनी थिए।

तीन पुरुषमध्ये उद्वीर फाइभ–सिक्स गोरखा राइफलका हुन् भने बाँकी सबै नेपाली सेनाका कलाकार टिममा आबद्ध थिए। टोपमान उत्कृष्ट कलाकार भएरै छिटोछिटो बढुवा भई सुबेदार पदमा पुगेका थिए। गणमा पनि उनी कलाकार टिममै थिए। उद्वीर जम्दार अद्भुत प्रतिभाका धनी। २०१२ सालतिरै म्याट्रिक पास गरेका मान्छे। पेन्सनमा आएपछि डिस्ट्रिक सोल्जर बोर्डको सेक्रेटरी भएर काम गर्ने अवसर पनि पाएका। इन्डियन एम्बेसीमा सीधै कन्ट्याक्ट हुने। इन्द्रजाल पनि पढेका। बेलाबेला जादु देखाएर सबलाई चकित पार्थे।

प्रत्यक्षदर्शी तेजवीरका अनुसार लैबरिया जम्दार उस्तै, छोरी होमाया (मैयादेवी)लाई पनि थेटर खेलाउन सँगै लिएर हिँड्थे। उद्वीर लैबरियाकै ज्वाइँ पर्ने, हीरादेवी पनि उद्वीरको दाइको छोरी। गोरखादेखि काठमाडौंसम्म थेटर देखाउन जान्थे। त्यही सम्पर्कले गर्दा उनीहरूले चाइना जान पाएका हुन्। त्यतिबेला महिला कलाकार पाइँदैनथ्यो। पुरुष कलाकारले नै महिलाको भेषभूषा लगाएर नाचगान गर्नुपर्ने जमानामा होमाया र हीरादेवीजस्ता कलाकार जन्मनु ठूलै कुरा थियो। त्यस्तो अवस्थामा हीरामाया र होमायाले सानदार प्रस्तुति गरेकाले देश, विदेशमा गएर पनि जितेका हुन्। नाचगानमा जितेर आएपछि उनीहरूबाट चाइनाको कहानी सुनेर गाउँले दंग परे।

राजाको राज्याभिषेकमा उत्कृष्ट प्रस्तुति गरिएको, राजाले उधुम मन पराएको र अन्तर्राष्ट्रिय स्तरको लोकगीत सम्मेलनमा तक्मा जितेको गीत भनेर सो गीतलाई रेडियो नेपालको समाचार धुन बनाइएको चर्चा त्यतिबेला गाउँमा थियो। त्यतिबेला न सामाजिक सञ्जाल, न कसैले लेखेको प्रमाण, त्यसैले यो विषयले व्यापकता पाएन। गौरवगाथा गाउँलेहरूको मनमै सीमित भयो। स्थानीय निवृत्त शिक्षक आशमान गुरुङ दाबी गर्छन्, ‘तर वास्तविकता यही हो कहिलेको झरी, कहिलेको बतास घामछायाँ भन्ने गीत राजाको राज्याभिषेकमा गाएको र चाइनामा गोल्ड मेडल जितेको हुनाले रेडियो नेपालले समाचारको धुन बनाएर बजाउन थालेको हो।’

त्यतिबेलाको सरकारले आफ्नो गाउँका कलाकारलाई त्यसरी सम्मान दिएको तर अहिले इतिहास गुमनाम हुँदा गाउँलेको चित्त दुखेको छ। चित्त दुखेको व्यहोरा जगमा जाहेर गर्ने प्लेटफर्म भने पाएका छैनन्। इतिहासमा चर्चित गोरखाली कलाकारको नामोनिसाना नहुँदा गोरखाकाका लागि दु:खको विषय हुनु स्वाभाविक हो। मरेर गएका उनीहरूको नाम पनि सुरक्षित छैन, इनाम सुरक्षित छैन। सुनको तक्मा 

कहाँ छ, कसैले खोज्दा पनि खोजेनन्, कतै देख्न पनि पाइएन। अरू इनाम के के थियो कता पुग्यो केही पत्तो छैन। उनीहरूको बारेमा न उत्खनन, न त खोजतलास नै।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.