आन्दोलनका नाममा अराजक गतिविधि गर्ने सात जना जेल चलान
महोत्तरी : जिल्ला अदालत महोत्तरीले ७ जनालाई जेल चलानको फैसला सुनाइएको छ। महोत्तरीको सोनमा गाउँपालिकामा शिक्षक सरुवा विषयलाई लिएर भएको आन्दोलनमा अराजक गतिविधि गरेको ठहर गर्दै उनीहरूलाई जेल चलान गरिएको हो।
जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी महेन्द्र झाका अनुसार न्यायाधीश पूर्व ढकालको इजलासले सोनमा गाउँपालिका-१ का उपेन्द्र कुमार साह सुडी, राकेश कुमार महरा, नजामुदिन अन्सारी, महेश कुमार यादव, रामकेवल यादव र सोही गाउँपालिका वडा नम्बर २ बस्ने ललिन्द्र यादवलाई पुर्पक्षमा राखी मुद्दा चलाउन आदेश दिइएको हो।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये जिल्ला अदालतले ६ जनालाई पुर्पक्षमा राखी मुद्दा चलाउने र १ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको सूचना अधिकारी झाले जानकारी दिएका छन्।
सोही मुद्दामा रामप्रसाद पासमानलाई १ लाख ५० हजार धरौटी राखी छाड्ने आदेश भए पनि धरौटी रकम जम्मा गर्न नसक्दा पासमानलाई पनि जेल पठाइएको सूचना अधिकारी झाले बताएका छन्।
यता सोही मुद्दामा पूर्व गाउँपालिका अध्यक्ष राजकुमार यादव, वडा नम्बर १ का वडाध्यक्ष अशोक यादव र सोही वडाका शैलेन्द्र यादव फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। फरार रहेका उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ।
गत भदौ १९ गते तीनजना शिक्षक सरुवाको विषयलाई लिएर सरस्वती माध्यमिक विद्यालय सोनमाका विद्यार्थीहरूले गाउँपालिकाविरुद्ध प्रदर्शन गरेका थिए।
त्यसैक्रममा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको थियो। आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले कार्यालय अगाडि राखिएको प्र २–०३–०१९ प ९१५८ नम्बरको मोटरसाइकल र ज ११प ४९६६ नम्बरको मोटरसाइकलमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।