६ लेनको सडकमा २ लेनको पुल

६ लेनको सडकमा २ लेनको पुल
पोखरा–बाग्लुङ सडकखण्डको पोखरा बजारको फिर्के खोलामा करिब ५ वर्षदेखि पुरानो २ लेनको पुलसँगै नयाँ पुल निर्माणका लागि ठड्याइएको छड । तस्बिर : कृष्णमणि बराल

पोखरा : ६ लेनको सडकअन्तर्गत पोखराको जिरो किलोमिटर विन्ध्यवासिनी मन्दिरको बीचको फिर्के खोलामा दुई लेनको पुल छ। फराकिलो सडकको बीचमा साँघुरो पुल भएकै कारण रातको समयमा दैनिकजसो सवारीसाधन दुर्घटना पर्ने गरेका छन्। व्यस्त बजारको पुल समयमै निर्माण सम्पन्न गर्ने विषयमा निर्माण कम्पनी र सडक विभाग उदासीन देखिएको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बताए। 

अहिले भइरहेको दुई लेनको पुलको दुवैतर्फ दायाँ–बायाँ २५/२५ मिटरको पुल निर्माणको काम दुई वर्षमा सम्पन्न गर्ने गरी दिएको ठेक्का ५ वर्षमा पनि पूरा नभएको हो। शान्ति आरोग्य जेभीले २०७५ असोज ८ गतेदेखि काम सुरु गर्ने गरी सडक डिभिजन कार्यालय पोखरासँग सम्झौता गरेको थियो। सम्झौताअनुसार पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने समय २०७७ चैत ३० गतेसम्म थियो। पुल निर्माणको सम्झौता रकम भ्याट र पीएससहित १४ करोड २५ लाख ४० हजार २ सय ३० रुपैयाँँ रहेको छ। 

साँघुरो सडकका कारण सवारी दुर्घटना भइरहँदा पनि पुल निर्माणमा ढिलाइ हुनु दुःखद् भएको वडाध्यक्ष पराजुली बताउँछन्। दुई वर्षमा सक्नुपर्ने काम पाँच वर्षको समय पाउँदा पनि काम गर्न नसक्ने कम्पनीलार्ई पुनः समय थप गर्नु अर्को गम्भीर गल्ती भएको वडाध्यक्ष पराजुलीले बताए। धेरै चाप हुने व्यस्त बजार र राजमार्गको सडक निर्माणमा सारै लापरबाही भएकोले ठेक्का तोडेर छिटोछरितो र गुणस्तरीय काम गर्न सक्ने कम्पनीलार्ई दिने गरी पुनः ठेक्का प्रक्रियामा जानु पर्ने वडाध्यक्ष पराजुलीको सुझाव छ।

कोभिडको कारण पुल निर्माणमा समस्या आएको भन्दै पहिलोपटक २०७८ असार २३ गते १८० दिन म्याद थप गरिएको थियो। त्यस्तै गरी दोस्रोपटक १२औं संशोधान अनुसार २०७९ भदौ ६ गते थप ६ सय ३५ दिन म्याद थपिएको सडक डिभिजन कार्यालय पोखराकी इञ्जिनियर सहनशिला कायस्थले बताइन्। दुईपटक थपिएको समयमा पनि पुल निर्माणको काम पूरा हुन नसकेको हो। अन्तिम अवसरको रूपमा म्याद थप्दा पनि पुल निर्माणको काम पूरा गर्न नसकेको शान्ति आरोग्य जेभीले पुनः एकपटक जग्गा मुआब्जाको कारण भनेर बाधा अड्काउ फुकाउबाट ३५८ दिन थप समय पाएको सडक डिभिजन कार्यालय पोखराकी इञ्जिनियर कायस्थले बताइन्। २०८१ असार २० गते सम्मका लागि अन्तिम मौका पाएको हो। 

अहिलेसम्म भौतिक प्रगति ३० प्रतिशत रहेको बताइएको छ। विभिन्न कारणले गर्दा पेमेन्ट पनि सडक डिभिजन कार्यालयले गर्न नसकेको उनले बताइन्। समयमै पेमेन्ट नभएको भन्दै निर्माण कम्पनीले निवेदन समेत दिएको छ। यही समेत कारण देखाएर कम्पनीले काम समयमै नसकिएको दाबी गरेको छ। हामीले पनि समयमै पेमेन्ट गर्न सकेनौं उनले सुनाइन्। ‘अहिलेसम्म भौतिक प्रगति ३० प्रतिशत भएको र हामीले पेमेन्ट गरेको लगभग २० प्रतिशत रहेको छ’, उनले भनिन्। 

अहिले मुआब्जाको समस्या सकिएको छ। पुल निर्माणस्थलमा २३ जनालार्ई मुआब्जा दिनु पर्ने थियो। तीन घरबाहेक सबैलार्ई मुआब्जा दिइसकेको र तीनजना सम्पर्कमा आएपछि उपलब्ध गराइने पनि उनले सुनाइन्। अव रोकिनुपर्ने त्यस्तो केही कारण नरहेको उनले बताइन्। २०८१ असार २० गतेसम्मको समयमा निर्माण सम्पन्न नभए निर्माण कम्पनीले पेनाल्टी तिरेर काम सम्पन्न गर्नुपर्ने उनले सुनाइन्। 

निर्माण ढिला हुनुमा पहिलो ठेक्का पाएको शान्ति आरोग्य जेभीले पेटीको रूपमा दिएको रहेछ। पेटी कन्ट्र्याकटरले समयमै काम सम्पन्न नगरेकोले गत पुसबाट मुख्य कन्ट्र्याकटरले नै आएर काम गरेको बताइएको छ। अहिले भइरहेको पुललार्ई बीचमा पारेर तल र माथि दुबैतर्फ दायाँ र बायाँ दुई–दुई लेनको पुल निर्माण गर्न लागिएको हो। पुल निर्माण सम्पन्न भएपछि ६ लेनको सडक जतिकै चाक्लो पुल बन्नेछ। तर, पुल कहिलेसम्म निर्माण सम्पन्न हुने हो भन्ने भने अन्योल नै छ। फिर्के खोला पुल निर्माण ढिला भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरीसमेत परेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.