वीरगन्जको खेतबाट ८ हजार ९१५ पिस लागूऔषध बरामद
वीरगन्ज : वीरगन्ज महानगरपालिका-२२ मनियारीस्थित खेतमा ठूलो परिमाणमा बेवारिसे अवस्थामा रहेको लागूऔषध बरामद भएको छ। मनियारीस्थित देवेन्द्र यादवको खाली खेतमा ८ हजार ९१५ पिस लागूऔषध बेवारिसे अवस्थामा बरामद भएको हो।
दुईवटा बोरामा रहेको डाइजेपाम २ हजार ३३५ थान, नुर्फिन ३ हजार १६९ थान र फेनरागन ३ हजार ४११ थान गरी कूल ८ हजार ९१५ थान लागूऔषध बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।
शाहका अनुसार स्थानीयले दिएको सूचनाअनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक धर्मजंग थिङको नेतृत्वमा खटिएको प्रहरी टोलीले यादवको खाली रहेको खेतमा पुगेर बेवारिसे अवस्थामा रहेको उक्त लागूऔषध बरामद गरेको हो। बरामद लागूऔषधका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए।