मनास्लु फेदीकी नाङ्साल छोदेनले चढिन् मनास्लु
गोरखा : मनास्लु हिमालको फेदी सामागाउँकी नाङ्साल छोदेनले विश्वको आठौँ अग्लो मनास्लु हिमालको सफल आरोहण गरेकी छिन्। चुमनुब्री गाउँपालिका-१ सामागाउँ निवासी २५ वर्षीया छोदेनले आइतबार बिहान सवा छ बजे मनास्लु हिमालको सफल आरोहण गरेकी हुन्।
४,८०० मिटर अग्लो बेसक्याम्पबाट सरासर २५ घण्टा हिँडेर ८,१६३ अग्लो मनास्लुको सफल आरोहण गरेको उनले बताइन्। बिना तालिम बिना विश्राम सरासर हिडेर मनास्लुको शिखर चुमेको उनले बताइन्।
मनास्लु आरोहण गरेर सानैदेखिको सपना पूरा गरेको उनले बताइन्। ‘म सामागाउँको एउटा सानो होटलमा काम गर्ने गर्थें। सिजनमा मनास्लु चढ्न आउनेहरूको सामागाउँमा खचाखच भीड लाग्थ्यो। कहाँ–कहाँदेखि आएर चढेर जान्छन्, आफ्नै गाउँको हिमाल भएर पनि चढ्न नपाएर मनमा नरमाइलो लागेको थियो’, उनले भनिन्, ‘धेरै खर्च लाग्छ होला, धेरै तयारी गर्नुपर्छ होला, हामी खर्च पनि गर्न नसक्ने, पढाइ लेखाइ पनि नभएको मान्छे, नेपाली भाषा बोल्न पनि नजान्ने मान्छे, मनको कुरा कसैलाई भन्न सकेको थिइन। पायोनियर कम्पनीको बोस मिङ्मार दोर्जेले हिमाल चढ्ने भए जाम भन्नुभयो। जुत्तादेखि चस्मासम्म सबै बोसहरूले सहयोग गर्नुभएको हो।’
शनिबार बिहान साढे पाँच बजे बेसक्याम्पबाट निस्केर आइतबार चुचुरोमा पुगेको उनले बताइन्। ‘केही प्राक्टिस पनि गरेको छैन। बेसक्याम्पबाट गएर क्याम्प थ्रीमा तीन घण्टाजति रेस्ट गरेको हो। त्यसपछि रेस्ट पनि गरेको छैन। दिनभरि, रातभरि हिँडेर टपमा पुगेको हो’, उनले भनिन्, ‘टपमा पुगेपछि सपना पूरा भयो भनेर धेरै बेरसम्म रोएँ।’
आफ्नै गाउँको हिमाल चढ्नुबाहेक अरू ठूलो सपना केही नभएको उनको भनाइ छ। वसन्त ऋतुको सिजनमा सबैभन्दा धेरै आरोही सगरमाथामा हुने गरे पनि सरदको सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहण गर्ने गर्दछन्।
यसवर्ष पर्यटन विभागबाट ३९५ जनाले नेपालका विभिन्न हिमाल आरोहणको अनुमति लिएकामध्य मनास्लु आरोहणका लागि ३०१ जनाले अनुमति लिएका छन्। २३ जनाले धौलागिरी, १० जनाले अमादब्लम, पाँचजनाले चोयू र चारजना मकालु आरोहणका लागि अनुमति लिएका छन्।
हिमाल आरोहणबाट तीन करोड ९९ लाख ६६ हजार राजस्व संकलन भएकामा मनास्लु आरोहणको अनुमतिबापत तीन करोड ३७ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।