‘फ्रायडलाई गुरु मानेका बीपी महिला अधिकारप्रति संवेदनशील देखिनु विरोधाभास’
पोखरा : विज्ञानका विद्यार्थी हुन् त्रिवेणी । उनी पठनका वैध अम्मली हुन् । विज्ञानमात्रै होइन, विज्ञान साहित्यदेखि पूर्वीय र पाश्चात्य दर्शनका धेरै ठेली उनले छिचोलिसकेका छन् । बीपीका साहित्यक कृति उनले पढेकै थिए ।
त्यतिबेलासम्म बीपी उनलाई सामान्य नै लागेको थियो,जब उनले बीपीको जेल डायरी पढे, बीपीप्रतिको बुझाइ नै बदलियो । त्यतिबेलाको बन्द समाज,अनि जेल जीवनमा पनि बीपीको पढाइप्रतिको लगाव र उनको कल्पनाशीलताबाट त्रिवेणी औधी प्रभावित भए ।
त्रिवेणीलाई लाग्यो,यो पुस्तक र बीपीको अध्ययनशैलीका बारेमा परिचर्चा गर्नैपर्छ । पुस्तकका सम्पादक शंकर तिवारीलाई पोखरा डाके । कार्यक्रमको चाँजोपाँजो मिलायो रिडर्स कर्नरले । त्यही जेल डायरीका बारेमा शनिबार पोखरामा परिचर्चा गरियो । शिखा बुक्सले निकालेको किताब उनै तिवारीले सम्पादन जो गरेका हुन् ।
कार्यक्रमको सुरुमै लेखक एवं विश्लेषक गनेस पौडेलले बीपीको अध्ययन खुबीका बारेमा चर्चा गरे । तर बीपीलाई महामानव भनिएकोप्रति भने उनले असन्तुष्टि जनाए ।
त्रिवेणीले प्रश्नको पोयो फुकाए । त्यसो त उनका प्रश्नमा भूमिका बढी बाँधिएको हुन्थ्यो । बीपीको पढाइप्रतिको लगाव अनि उनले डायरीमा उल्लेख गरेका विषयवस्तुले जेल जीवन कष्ठपूर्ण नभएको अनुभूति भएको उनको ठम्याइ थियो । उनले सोधे,‘के त्यतिबेलाको जेल जीवन कष्ठपूर्ण थिएन ? शंकरको उत्तर थियो,‘जेल लक्जरी पक्कै हुँदैन,त्यसलाई आफू अनुकूल बनाउने हो,पढाइप्रति बीपीको प्यासन भयानक थियो ।’
पश्चिमा दर्शनबाट बीपी बढी नै प्रभावित हुँदा पूर्वीय दर्शनतिर ध्यान पुग्न नसकेको प्रसंगलाई सम्पादक तिवारीले इन्कार नै गरे । बीपीका हरेकजसो विचारहरू गीतामा आएर ठोक्किने गरेको उनको तर्क थियो । फ्रायडलाई गुरु मानेका बीपी महिला अधिकारप्रति बढी नै संवेदनशील देखिनुलाई त्रिवेणीले विरोधाभास भने । यसलाई पनि शंकरले मानवगत स्वभाव भने ।
साम्यवादलाई अधिनायकवादका रुपमा व्याख्या गर्ने बीपीले नेपालमा उन्नत प्रजातन्त्रको कल्पना गरेका थिए । त्यही अनुसारको जग पनि बसाउन खोजेका थिए । बीपीपछि उनका सच्चा अनुयायी किन भेटिएनन् ? त्रिवेणीको प्रश्नमा शंकरले बुद्धपछि अर्का बुद्ध किन जन्मेनन् होला भनी प्रश्न गरेजस्तो भनेर ठट्टा गरे ।