धर्मका नाममा समुदायबीच तनाव बढेपछि वीरगन्जमा निकालियो ‘सद्भाव र्याली'
वीरगन्ज : वीरगन्जमा केहिदिन यता दुई फरक धर्मका समुदायबीच तनाव बढ्दै गएपछि सोमबार‘सद्भाव र्याली’ निकालिएको छ । सर्लाहीको मलंगवामा गत बिहीबार गणेश चर्तुथीको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको भिडन्तको घटनालाई लिएर वीरगन्जमा पनि तीनदिन यतादेखि तनाव भइरहेको छ । उक्त घटनाको विरोधमा गत शनिबार हिन्दुवादीहरूले वीरगन्ज बजार बन्द गराउनुका साथै प्रदर्शन पनि गरेका थिए ।
यसैलाई मध्यनजर गरी वीरगन्जमा सोमबार वीरगन्ज महानगरपालिकाको अगुवाईमा ‘सद्भाव रयाली’ निकालिएको हो । आदर्शनगरस्थित स्वीमिङ पुल परिसरबाट सुरू भएको ‘सद्भाव रयाली’ पशुपति घोष चोक ,आदर्शनगर चोक , घडीअर्वा , माइस्थान चोक , घण्टाघर चोक हुँदै नगर परिक्रमा गरेको थियो ।
‘सद्भाव रयाली’ मा प्रतिनिधिसभा सदस्य प्रदीप यादव ,वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ,उपमेयर इम्तियाज आलम ,राजनीतिक दलका नेता,महानगरपालिकाका कर्मचारी ,शिक्षक–शिक्षिका ,नागरिक समाजका अगुवा,मानवअधिकारकर्मी ,सञ्चारकर्मीलगायतको सहभागीता थियो ।
‘सद्भाव रयाली’ मा सहभागीले ‘ धार्मिक सद्भाव कायम गरौं ’ सामुदायिक सदभाव कायम राखौं,हिन्दू–मुस्लिम भाइ भाइ’लगायतका नारापनि लगाएका थिए । नगरपक्रिमापछि जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो ।
वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सहायक प्रजिअ शीव प्रसाद लम्साललाई ज्ञापनपत्र बुझाउँदै वीरगन्जमा धार्मिक उन्माद बढाउने,सदभाव विगार्ने तथा शान्ति सुरक्षामा खलल पुग्ने गरी जनजीवन प्रभावित पारी अशान्ति मच्चाउने व्यक्ति तथा समूह सक्रिय रहेकाले त्यस्ता उच्छृङखल गतिविधिमाथि संलग्न जुनसुकै धर्मको जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।
‘वीरगन्जमा सदियौंदेखि हिन्दु र मुस्लीमबीच आपसी सद्भाव र भाइचारा रहिआएकोमा केहि समयदेखि दुवै समुदायका चाडपर्व, सभा, जुलुस तथा जात्रामा दुवै धर्मावलम्बीका केहि सिमित व्यक्तिबाट आपसी सद्भाव र भाइचारा विथोल्ने गरी धार्मिक सहिष्णुता विरुद्द अवाञ्छित गतिविधि गर्ने क्रम बढ्दै गएको,समाजमा रहेको अमनचयन र शान्ति भङ्ग गर्न क्रियाशिल त्यस्ता उच्छृङखल व्यक्तिले सामाजिक संजालको दुरुपयोग गरी समाजलाई भड्काउने,विभाजित गर्ने र कुनै धर्म तथा समुदायलाई उक्साउने र धार्मिक द्वन्द्व बढाउने खालका श्रव्य दृष्य सामग्री समेत पोष्ट गरिरहेकोले त्यस्ता व्यक्ति तथा समूहविरुौ साइबर अपराध तथा कडा कानुनी कारबाहीको लागि माग गर्दछौं ,' ज्ञापनपत्रमा उल्लेख छ ।
सहायक प्रजिअ लम्साललाई ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्नेमा जोड दिए ।
धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाँड्ने काम नगर्न उनले सुझाव दिए । आफू वीरगन्ज्कै जनताको मतबाट दुईपटक सांसदमा निर्वाचित हुँदासम्म कहिल्यै पनि धार्मिक विभेद नभएको बताउँदै उनले पछिल्लो समयमा भने सामाजिक सञ्जालमार्फत् भइरहेका उच्छृंख गतिविधिको भत्सर्ना गरे ।
वीरगन्जका मेयर राजेशमान सिंहले धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरूदेखि वीरगन्जबासी सचेत छन् भन्ने सन्देश प्रवाह गर्नका लागि सद्भाव र्याली निकालिएको बताए । उनले भने, ‘हामी वीरगन्जबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस रयालीबाट दिन खोजेका हौँ ।’
नेकपा एमाले पर्साका संयोजक डाक्टर विशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेहरूलाई कानुनको दायराभित्र ल्याई कारबाही गर्न उनले ध्यानाकर्षण पनि गराए ।
सोही अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्वलाई कारवाही गर्नुपर्ने जिकिर गरे । साथै उनले गृहमन्त्रालयमा विज्ञप्ति पठाएर सुरक्षा निकायलाई परिपत्र गर्ने आश्वासन पनि दिएका छन् ।
यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा पनि वीरगन्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुर्याउने खालका धार्मिक एंव सामुदायिक प्रकारका र्याली ,जुलुश ,प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने सहमति गरिएको थियो ।