गुल्मीमा ढिस्कोसहितको पहिरोमा पुरिएर मजदुरको मृत्यु
गुल्मी : गुल्मीमा ढिस्कोसहितको पहिरोमा पुरिएर १७ वर्षीय मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्लाको रेसुंगा नगरपालिका-३, भाडगाउँमा निर्माणाधीन घरमा पहिरोको ढिस्को खसेर प्युठान गौमुखी गाउँपालिका-३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पहिरोमा परेर घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका तीनका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीनकिशोर प्रधानले जानकारी दिए।
घाइते दुई जनाको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा उपचार भइरहेको छ। शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टमपश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।