मुस्ताङमा ९ थान ड्रोन जफत
जोमसोम : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ९ थान ड्रोन जफत भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। आर्थिक वर्ष २०७९/०८० मा नेपाल नागरिक उड्यन प्राधिकरणबाट उडान दर्ता अनुमति नलिई प्रयोग भएका ९ जना पर्यटकबाट ९ थान ड्रोन जफत गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले गत वर्ष ३ जना भारतीय, ५ जना नेपाली र १ जना थाई नागरिकबाट ड्रोन क्यामेरा जफत गरेको थियो। गतवर्ष नेपाल नागरिक उड्यन प्राधिकरणबाट ड्रोन उपकरण अनुमतिपत्र नलिएको र ड्रोन उपकरण कार्यविधि अनुसार स्थानीय प्रशासन र गृह मन्त्रालयको स्वीकृत नलिई प्रयोग गरिएको ड्रोन उपकरण नियन्त्रणमा लिएर नेपाल नागरिक उड्डयन प्राविधिकरण शाखा जोमसोम कार्यालयलाई बुझाइएको थियो।
ड्रोन कार्यविधि २०७५ अनुसार ड्रोन उपकरणको उडान अनुमति नेपाल नागरिक उड्डयन प्राविधिकरणमा लिनु पर्ने हुन्छ। ड्रोन प्रयोग गर्नुअघि सम्बन्धित क्षेत्रको स्थानीय प्रशासनको स्वीकृति लिनुपर्ने हुन्छ। गतवर्ष मुस्ताङमा हवाई उपकरण ड्रोन क्यामेरा उडाउन ९ जनाले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लिखित अनुमति लिएको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए।
उनका अनुसार ड्रोन उडानका लागि अनुमति लिन आउनेलाई ड्रोन इजाजतपत्र भए नभएको प्रमाणित गरेर मात्र अनुमति दिने गरेको बताए।