कुलेश्वरको गृहेश्वरी ट्रेडलिंकमा वाणिज्य विभागको सिल

काठमाडौं : बजारमा कृतिम अभाव देखाएर चिनीको मूल्य बढाएको भन्दै वाणिज्य विभागले अनुगमन बढाएको छ। काठमाडौंको कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकमा वाणिज्य विभागले छापा मारेको छ।
व्यवसायी सन्तोष खेतानको उक्त गोदाममा ७० हजार किलो चिनी भण्डारण गरेर राखिएको थियो। वाणिज्य विभागका सूचना अधिकारी आनन्दराज पोखरेलका अनुसार उक्त गोदाममा भण्डारण गरिएको चिनीमा लेबल अस्पष्ट थियो।
उक्त गोदामलाई वाणिज्य विभागले सिल गरेर अनुसन्धान गरिरहेको पोखरेलले बताए। उनी भन्छन्, ‘चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको छ। गोदाममा भण्डारण गरिएको चिनीको केही बोरामा अव्यवस्थित तरिकाले प्याकिङ गरिएको भेटेका छौं। लेबलिङ पनि शंकास्पद छ। बिल बिजक र कागजातको अनुगमन भइरहेको छ।'
उक्त गोदामबाट बिलबिना नै महंगोमा चिनी बिक्री भइरहेको सूचना वाणिज्य विभागले पाएको थियो। काठमाडौंमा रहेको चिनीको गोदाममध्ये गृहेश्वरी ट्रेडलिंक सबैभन्दा ठूलो गोदाम हो। यहाँ हजारौ किलो चिनी भण्डारण गर्ने गरिन्छ।
यसैक्रममा ठूलो परिमाणमा भण्डारण गरिएको चिनी विभागले फेला पारेको हो। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर व्यवसायीले कृत्रिम अभाव गरेको र मूल्य बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ।
उक्त गोलामले उद्योगहरूबाट सस्तोमा खरिद गरेको चिनी बिल बिजकबिना नै मंहगो मूल्यमा बिक्री गरेको भन्दै विभागमा उजुरी परेको थियो। अनुगमनका क्रममा उक्त गोदामबाट ठूलो मात्रामा दाल पनि बरामद गरिएको छ।
जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागको टोलीले विभागमा अनुगमन गरेको थियो। अघिल्लो हप्तासम्म १०० रुपैयाँमा कारोबार भइरहेको चिनी अहिले १५० रुपैयाँसम्म पर्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस !
