सेवक चिकित्सक १०० वर्षमा

सेवक चिकित्सक १०० वर्षमा

काठमाडौं : चारैतिर हरियाली। सलक्क परेका सल्लाका बोटले घेरिएको इलाका। आहा ! सरर्र क्या शीतल हावा चलिरहने। क्षयरोगका बिरामीलाई सल्लाको हावा लाभदायक हुने विश्वासमा बनाइएको थियो टोखा सिनेटोरियम (क्षयरोग केन्द्र)। 

डाक्टरी गरेका व्यक्ति दुर्लभै पाउने उस जमानामा डा. गौरीशंकर लाल दास त्यहाँ छिरे असिस्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट बनेर। क्षयरोग अर्थात् टीबी भनेपछि सुन्दै सातो जान्थ्यो धेरैको। बिरामीको संसर्गमा रहने डाक्टर पनि जोखिममै हुन्थे। २००९ सालमा हिम्मत बटुलेर त्यहाँ गएका डा. दासले अनौठो उपचार विधि शुभारम्भ गरे, ‘औषधिसँगै संगीत थेरापी।’ 

संगीत किन ? ‘यो त सञ्जीवनी बुटीजत्तिकै हो’, उनी भन्छन्, ‘गीत–संगीतले आधा रोग त क्वाप्पै खाइदिन्छ। यसले मन एकाग्र गर्छ, मान्छे चिन्तामुक्त हुन्छ। र, धेरै बाँच्न सक्छ।’ 

अनि, डाक्टर साप त भाका निकालेर गाउनै थाले– 
म त लालीगुराँस भएछु 
वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
फाँटहरूले कसलाई पुग्छ, भिरमा पनि फुलिदिन्छु
खुसी मात्र कहाँ हुन्छ, पिरमा पनि फुलिदिन्छु
म त लालीगुराँस भएछु...

नारायणगोपालको स्वर/संगीत र क्षेत्रप्रताप अधिकारीको गीतको भाव जे छ, डा. दासको यथार्थता त्यस्तै छ। जो लाली गुराँस झै फक्रिएका छन्। मनभरि, वनभरि फुलेका छन् र जसको सुगन्ध भिरदेखि पिरसम्म छिराएका छन्। 

हुन पनि अल्लारे उमेरमा बाँसुरी बजाउन पोख्त उनले शास्त्रीय संगीतको पनि गतिलै स्वर साधना गरेका रहेछन्। अहिले पनि गुनगुनाउँछन् यस्तै–यस्तै गीतहरू। शायद त्यही संगीतको तागत, सामान्य आहार–बिहार र चिन्तामुक्त दिनचर्याका कारण उनी सय वर्ष टेक्दा पनि आज हट्टाकट्टा छन्। 

ह्याप्पी बर्थडे डाक्टरसाप ! 

जसको आज देशले भव्यतापूर्वक जन्मशताब्दी वर्ष मनाइरहेको छ। र, बनेका छन् उनी दिव्य शताब्दी पुरुष। आफू र राष्ट्रका लागि यी सय वर्ष गौरवपूर्वक व्यतीत गरेका छन्। उनका कर्म र पौरख प्रेरणदायी एवं अनुकरणीय छन्। 

दिव्य सय वर्ष 

उमेरले भन्दा कर्मले मुलुकका मात्र दुर्लभ व्यक्तित्व हुन्, डा. दास। अहिले उनी बेफुर्सदी छन्। अन्तर्वार्ता लिनेदेखि अभिनन्दनको तयारी गर्नेहरूको प्रवेशले उनको निवासमा चहलपहल छ। आगन्तुकलाई उनी हँसिलो मुद्रामा स्वागत गर्छन्। भलाकुसारी गर्छन्। मुस्कुराउँदै भन्छन्, ‘जीवन एकांगी होइन पूर्ण हुनुपर्छ। पूर्णतामा बाँच्नुपर्छ। रमाउनुपर्छ।’

विरलै बाँचिने सय वर्ष टेकेका डा. दास स्वस्थ छन्। उनको कर्म झन् स्वच्छ छ। त्यसैले त, उनको नाम लन्डनस्थित वल्र्ड बुक रेकर्डसमा अंकित छ। चिकित्सा सेवा, सामाजिक कार्य, स्वास्थ्य सचेतना शिविरमार्फत समाजमा उल्लेखनीय योगदान गरेबापत उनको नाम वल्र्ड बुक रेकर्डसमा अंकित गरिएको ब्रिटिस संसद्का वीरेन्द्र शर्मा हस्ताक्षरित प्रशंसा पत्रमा उल्लेख छ। 

आम नेपालीका श्रद्धेय व्यक्तित्व डा. दासको चाबहिल–७, मित्रपार्कस्थित निवासमा चहलपहल छ। नागरिकस्तरबाट दिउँसो राष्ट्रिय सभाग्रह जन्मशताब्दी अभिनन्दन समारोह हुँदै छ। मंगलबार सय वर्ष टेक्ने डा. दासलाई ‘दिव्य शताब्दी पुरुष’को उपाधिले अभिनन्दन गरिँदै छ। यहीँ मेसोमा सञ्चारकर्मीलाई अन्तर्वार्ता दिन उनलाई भ्याइनभ्याइ छ। 

उनको उमेर थाहा पाउने धेरैजना दीर्घायुको रहस्य जान्न खोज्छन्। दौतरिहरू परलोक भइसके। उनी पृथ्वी लोकमा रमाइरहेका छन्। अझै चुस्त देखिन्छन्। जीवनप्रति पछुतो छैन। बरु, गर्व गर्छन्। मुसुक्क हाँस्दै भन्छन्, ‘विश्वमै र मुलुकभित्रैका राजनीतिक परिवर्तनको साक्षी हुन पाइएको छ।’ तीन पटकसम्म मानसरोवरको यात्रा गरेका डा. दास राणा शासनदेखि गणतन्त्र कालसम्मका साक्षी हुन्। उनको ‘दुष्मन दोस्त’ हुन्, पत्रकार भैरव रिसाल। जो ९६ वर्ष टेकेका छन्। ‘हो, पत्रकार रिसाल मेरो ‘दुष्मन दोस्त’ हुन्,’ रहस्यपछि सुनाउने संकेत गर्दै उनी मुस्कुराए। गिंजामा टम्म मिलेका दाँत टलक्क टल्किए। 

यी पुरानै दाँत हुन् है ? प्रश्न सुनेर उनी पुनः मुस्काए। ‘ओर्जिनल दाँत त दुई/चारवटा होलान्। सबै डुब्लिकेट हुन्,’ उनले भने। जनाद्र्धन लाल र भवानीदेवीका चार सन्तानमध्ये ज्येष्ठ पुत्र हुन्, डा. दास। आफ्ना छोराबुहारीभन्दा चाँडै ब्युँझन्छन्। बिहान पाँच बजे ब्युँझिहाल्ने उनी नित्यकर्म गरे लगत्तै सुरु गर्छन्, ‘अनुलोम, विलोमसहित सामान्य कसरत।’ यति गरेपछि जीउ तनक्क तन्किन्छ। उनी फुर्तिलो महसुस गर्न थाल्छन्। केही क्षण ठमठम हिँडिहाल्छन्, त्यो पनि बिना लठ्ठी ! १९८१ असोज १० गते सिराहाको इनर्वा गाउँमा जन्मिएका हुन्, डा. दास। जनाद्र्धनलाल र भवानीदेवीका ज्येष्ठ सुपुत्र उनी मंगलबार सय वर्ष टेकेका छन्। 

भारतको पटनाबाट एमबीबीएस उत्तीर्ण गरी डकोटा विमानबाट काठमाडौं आए, डा. दास। उनी मुलुकको सबैभन्दा जेठो अस्पताल वीरका पहिलो आवासीय चिकित्सक हुन्। जहाँ उनले २००९ साल फागुन १८ गते प्रवेश गरेका थिए। त्यसपछि उनको कर्मभूमि बन्यो, काठमाडौं उपत्यका। सातदशकभन्दा लामो समय उनले अब्बल चिकित्सक, कुशल प्रशासक, सचेत अधिकारकर्मी, समाजसेवीका रूपमा बिताएका छन्। स्वास्थ्य सेवाका अतिरिक्त विभिन्न सरकारी र संवैधानिक पदमा रहेर जिम्मेवारी बहन गरे। 

बालविवाहपछि पढाइ 

जन्मेको इनरुवामा पठनपाठनका लागि विद्यालय थिएन। उनी पुख्र्यौली गाउँ भारत पुगे। तत्कालीन समयमा भारत स्वतन्त्र भइसकेको थियो। विहार प्रान्तअन्तर्गत पर्ने दरभंगा राजनगरमा भर्ना हुन पुगे। त्यहीँको रामेश्वर हाईस्कुलबाट १९९८ सालमा म्याट्रिकुलेसन (अहिलेको एसईई ) गरे। ‘राम्रै विद्यार्थीमा मेरो गणना हुन्थ्यो,’ डा. दासले भने।

उनले पढेको रामेश्वर स्कुल दरभंगा महाराजका भाई रामेश्वरनारायण सिंहले निर्माण गरेका हुन्। मैथली समाजमा छोराछोरीको विवाह चाँडै गर्नुपर्छ भन्ने मान्यता व्याप्त थियो। उनले पनि म्याट्रिकुलेसन पास गरेको अर्को वर्ष १३ वर्षकी गंगादेवीसँग लगनगाँठो कसे।

पढाइमा लगनशील दासले म्याट्रिकुलेसन गरेका दुई वर्षमै आईएस्सीको अध्ययन सके। भागलपुरस्थित पीएनजेकलेजबाट आईएस्सी गरे। २० वर्षको कलिलो उमेरमै डिस्टिङ्सनसहित बीएस्सी उत्तीर्ण गर्नुभयो।े एमबीबीएस अध्ययनका लागि ढोका खुल्यो। उनको चाहना इन्जिनियरिङ विषय पढ्ने थियो। मुम्बईको इन्जिनियरिङ कलेजमा नाम पनि निकालेको उनले बताए। बुबाको इच्छा भने छोरा डाक्टर बनोस भन्ने थियो।

‘बुवाको इच्छालाई नकार्न सकिन,’ उनले भने, ‘एमबीबीएस पढ्न थालेँ।’ पटना विश्वविद्यालयबाट एमबीबीएसको पढाइ सके। एमबीबीएसको पढाइ सकेपछि उनी जागिर खोज्ने क्रममा काठमाडौं आए। तीन दाजुभाइमध्ये माइलो चिन्तामणिको पाँच वर्षअघि निधन भइसकेको छ। बहिनी पनि परलोक भइसकिन्। कान्छो भाई मात्र घनश्याम जीवितै छन्। 

मेडिसिनसँगै म्युजिक थेरापी 

तिनताक वीर अस्पतालमा जम्मा तीन जना मात्र डाक्टर भएको डा. दास बताउँछन्। उनले मासिक दुई सय सय पाउँथे। वि.सं. १९९० को भूकम्पपछि १९९१ मा खुलेको थियो, टोखा सिनेटोरियम (क्षयरोग केन्द्र)। तलब धेरै हुने भएपछि उनलाई क्षयरोग केन्द्रमा नियुक्ति लिन डा. जितसिंह मल्लले हौस्याए। जो स्वास्थ्य सेवा विभागका तत्कालीन निर्देशक हुन्। केही महिना पछि डा. दास केन्द्रको सुपरिटेन्डेन्ट भए। 

क्षयरोग केन्द्रमा ए र बी जस्ता विभिन्न ब्लक बनाइएको थियो। ती ब्लकमा राज परिवार र राणा परिवारका सदस्यको उपचार हुन्थ्यो। अन्य ब्लकमा सर्वसाधारणको उपचार गरिन्थ्यो। संगीतप्रेमी दासले बिरामीहरूलाई मनोरञ्जन पनि आवश्यक भएको महसुस गरे। रेडियो नेपालबाट संगीतकार/गायक नातिकाजी, बच्चुकैलाशलगायतका सांगीतिक टोली बेलाबखत क्षयरोग केन्द्र छिथ्र्यो। बिरामीले गीत–संगीतबाट स्वास्थ्य लाभ गर्थे। उनले राजपरिवार र राणा शासकदेखि सर्वसाधारण जनताको सेवा गरे।

त्यहीँ क्रममा क्षयरोग लागेकी एक युवती भर्ना भइन्। उपचारका क्रममा डा. दासलाई देखेपछि महिला आकर्षित भइन्। एकतर्फी प्रेम गरिन्। डिस्चार्ज हुने बेला बिहेकै प्रस्ताव राखिन्। जिद्दी नै गरिन्। ती दिन स्मरण गर्दा डा. दास हल्का लजाए। भन्छन्, ‘उनको एकोहोरो प्रेम थियो। ज्यादै ढिपी गरिन्। अलि जिद्दी लाग्यो, मलाई।’ भर्खर बिहे गरेका डा. दासलाई सम्झाइबुझाइ गरेर पठाउन हम्मे हम्मे पर्‍यो। 

nullडा. गौरीशंकरलाल दास आफूले पाएको सम्मानपत्र । तस्बिर : दिपेन श्रेष्ठ

क्षयरोग केन्द्रमा जानु अघि उनी वीर अस्पतालमा कार्यरत थिए। लोकसेवा आयोगमा मौखिक परीक्षा (अन्तर्वार्ता) दिए। अन्तर्वार्तामा बसेका थिए, आयोगका सचिव खड्गमान मल्ल र स्वास्थ्य सेवा विभागका निर्देशक डा. जितसिंह मल्ल। डा. जितसिंहले प्रश्न सोधे, ‘टन्सिलको शल्यक्रिया कसरी गरिन्छ ? उनले सहजै उत्तर दिए। त्यसबेला वीर अस्पतालमा टन्सिल, हर्निया, हाइड्रोशिलका बिरामीहरूको चाप हुन्थ्यो। डा. दास मौखिक परीक्षा उत्तीर्ण भए। वीर अस्पतालमा नियुक्ति पाए। २००९ फागुन १८ गते रेजिडेन्ट मेडिकल अफिसरका रूपमा सेवा प्रवेश गरे।

‘त्यो बेला १ सय ८० रुपैयाँ तलब थियो। २० रुपैयाँ भत्ता,’ डा. दासले भन  ‘२ सय ५० रुपैयाँ तलब पाइने भएपछि टोखा जान तयार भएँ।’ वीरमा ६ महिनाको अनुभव बोकेर टोखा पुगेका थिए, डा. दास। 

स्वास्थ्य सेवा विभागमा उनी प्लानिङ अफिसर भए। बिफर उन्मूलन शाखामा रहेर खटिए। त्यो बेला बिफर रोग लाग्दा शीतलामाई रिसाएका भन्दै पूजाआजा गर्ने चलन रहेको डा. दासले स्मरण गरे। बालाजुमा स्थापना गरिएको शीतला माईको मन्दिरमा बिफर नलागोस भन्दै पूजा आराधना गर्नेको घुइँचो लाग्थ्यो। ‘अन्ध विश्वास व्याप्त थियो। श्रापले हुने होइन। यो त रोग पो हो भनेर सम्झाउन हम्मे हम्मे पथ्र्यो,’ डा. दासले स्मरण गरे। त्यहीँं बिफरका कारण आफ्ना संगीत गुरु वाद्य शिरोमणि उस्ताद गणेशलाल श्रेष्ठको दृष्टि गुमेको डा. दास सुनाउँछन्। प्रसिद्ध साहित्यकार भवानी भिक्षुलाई पनि बिफरले बिपदमा पार्‍यो। 

वीर अस्पतालको पहिलो आवासीय चिकित्सकका रूपमा सरकारी सेवामा प्रवेश गरेका डा. दास स्वास्थ्य सेवाको महानिर्देशकसमेत भए। उनकै नेतृत्वमा पहिलो दीर्घकालीन स्वास्थ्य योजना निर्माण भएको थियो। मालल्दिभ्सको पहिलो स्वास्थ्य योजना निर्माणमा पनि कन्सल्टेन्ट रहेर योगदान गरेका थिए। 

लोकसेवामा बाह्र वर्ष

डा. दासले चिकित्सा सेवामा तल्लीन थिए। त्यहीँ बेला उनलाई संवैधानिक निकाय लोकसेवा आयोगमा सदस्यको अफर आयो। लोकसेवा आयोगमा सबैभन्दा लामोसमयसम्म सदस्य रहने व्यक्ति हुन्, डा. दास। जो १२ वर्षसम्म लोकसेवा आयोगमा सदस्यका रूपमा कार्य गरे। उनी २०३५ चैत २८ देखि २०४७ कात्तिक २३ गतेसम्म लोकसेवा आयोगको सदस्य रहे। आयोगको सदस्यको रूपमा उनले योग्यता, निष्पक्षता एवं स्वच्छता जस्ता आयोगको मूलभूत मूल्य मान्यता थप सुदृढ पार्न योगदान गरे। आयोगको साख, जनविश्वास, गरिमा र मर्यादा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आयोगले सम्मानपत्र प्रदान गरेको छ।

डा. दास मुलुकका दोस्रो वरिष्ठ छाती रोग विशेषज्ञ हुन्। वि.सं. २००९ सालमा डकोट विमान चढेर राजधानी उत्रेका डा. दासको अधिकांश समय काठमाडौंमा नै बित्यो। त्यसपछि उनलाई टोखास्थित क्षयरोग केन्द्रमा सेवा गर्न आकर्षक प्रस्ताव आयो। मासिक २ सय ५० रुपैयाँ तलब पाइने भयो। उनी टोखामा बसेर क्षयरोग (टीबी) का बिरामीका जाँचमा तल्लीन भए। क्षयरोग केन्द्र उपचार मात्र नभई मनोरञ्जनस्थलसमेत बनेका डा. दास स्मरण गर्छन्। उनी टोखाको डाक्टर’को रूपमा चर्चित थिए। 

बुढेसकालमा द्वन्द्वग्रस्त क्षेत्रमा 

२०५२ सालदेखि सुरु भएको द्वन्द्वले मुलुक आक्रान्त थियो। २०५७ सालमा गठन भयो, राष्ट्रिय मानव अधिकार आयोग। ७६ वर्षमा उक्त आयोगको सदस्य बन्न पुगे, डा. दास। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फोन गरेर जिम्मेवारी बहन गर्न आग्रह गरेका थिए।

८० वर्षको उमेरसम्म उनी आयोगको सदस्य रहे। ‘द्वन्द्वग्रस्त रुकुम, दाङलगायतका जिल्लाहरूमा पुगेँ,’ डा. दासले स्मरण गरे, ‘बाटोमा विद्रोही माओवादीका कार्यकर्ताले गाडी नै रोक्थे।’ उनी र अर्का सदस्य सुशील प्याकुरेल रुकुम पुगेर विद्यालय शान्ति क्षेत्र भएकाले बन्दुक लिएर आउन नहुने भन्दै सम्झाएका थिए।

ज्यान मेन्टेन गर्न सन्तानलाई सकस

डा. दासका चार सन्तान छन्। जेठा छोरा इन्जिनियर डा. आनन्द मोहनलाल ७६ वर्षका भए। कान्छा छोरा सुरेन्द्रमोहन लाल ६१ वर्षका भए। दुई भाइ सगोलमा छन्। सगोल परिवारमा डा. दासको सार्थक जीवन बितिरहेको छ।

दुई छोरीमध्ये जेठी हुन्, शान्ति मल्लिक। उनी पनि ७० वर्षकी भइसकिन्। मंगलबार बुवाको सय वर्ष मनाउन माइती आएकी ७० वर्षीया शान्ति भन्छिन् ,‘बुवा सय वर्ष पुग्नु भएको छ। आफूलाई बच्चै छुँ जस्तो लाग्छ।’ कान्छी छोरी सरिता भने छोरी बिरामीले भएकाले बुवाको जन्म दिनमा सामेल हुन पाइनन्। 

null

अहिले डा. दासलाई कान्छी बुहारी रञ्जुले हेरचाह गर्छिन्। स्नेहका साथ हरदम ख्याल गर्छिन्। डा.दासका छोरा बुहारी, छोरी, ज्वाइँबाट जन्मिएका नातिनातिनामात्र होइन पनाती पनातिना छन्। संख्या कति छ ? डा. दास मुस्कुराउँछन्। भन्छन्, ‘कति छन्, ठ्याक्कै भन्न सकिन्। गणना गर्नुपर्छ।’ डा. दासको स्वस्थता देखेर सन्तान पनि चकित छन्। जेठी छोरी शान्ति मुस्कुराउँदै भन्छिन्, ‘बुवाभन्दा ३० वर्ष कान्छी हुँ। ज्यान मेन्टेन गर्नै सकस छ।’

कायस्थ शिरोमणि 

नेपाल चित्रगुप्त समाज, काठमाडौंले डा. दासलाई गत वर्ष कायस्थ शिरोमणि सम्मान दिएको थियो। २०७९ कात्तिक १० गते दिइएको उक्त सम्मान कार्यक्रमका प्रमुख अथिति थिए, सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा। श्री चित्रगुप्त पुजनोत्सव २०७९ को अवसरमा समाजको तर्फबाट कायस्थ शिरोमणि उपाधि प्रदान गरिएको थियो। जसमा भनिएको छ, ‘विज्ञ चिकित्सक, कुशल प्रशासक, समर्पित राष्ट्रसेवक, समाजका लागि प्रेरणाको स्रोत, अग्रणी पथप्रदर्शक, अथक सामाजिक अभियन्ता, बहुमुखी प्रतिभाका धनी एवं दर्जनौं उच्चस्तरीय सम्मान तथा पुरस्कारबाट विभूषित हे कायस्थ शिरोमणि ! यहाँको विशिष्टि उपलब्धि, अतुल्य योगदान र बहुआयामिक प्रतिभाको बखान गर्नु भनेको सूर्यलाई दियो देखाउनु जस्तै हुन्छ।’ 

डा. दास एक दर्जनभन्दा बढी सामाजिक संघ–संस्थामा संलग्न छन्। उनी राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको पूर्वअध्यक्ष हुन्। नेपाल रेडक्रस सोसाइटी, कुष्ठ रोग निवारण संस्था, नेपाल दृष्टिविहीन कल्याण संघ, बीपी नेत्र प्रतिष्ठान, क्षय रोग एवं छाती रोग विशेषज्ञ चिकित्सकहरूको संघ, नेपाल क्षय रोग निवारण संघ, नेपाल मेडिकल संघ, परिवार नियोजन संघ, नेपाल–भारत मैत्री संघलगायत दर्जनौ संस्थामा रहेर समाजमा योगदान दिएका छन्। 

सामान्य व्यक्ति, असामान्य पहिचान 

डा. दास सङ्गीतका पारखी हुन्। बाँसुरी र ढोलकका सौखिन। साङ्गीतिक कार्यक्रमहरूमा उनी कहिले बाँसुरीको धुन भर्थे। कहिले ढोलक बजाएर साथ दिन्थे। युवावस्थामा रेडियो नेपालमा पुगेर बाँसुरी बजाउँथे। सबै विधामा रुचि राख्ने डा. दास युवावयमा शास्त्रीय संगीतमा स्वर साधना (रियाज) पनि गरे। 
उनी ज्येष्ठ उमेरसँग झिँजो मान्दैनन्। गर्व गर्छन्। सखारै उठेर कसरत गर्छन्। अनुलोम विलोम गर्छन्। ठमठम हिँड्छन्। भेट्न आउने व्यक्तिसँग रमाउँछन्। घन्टौं भलाकुसारी गर्छन्। पुराना कुराहरू स्मरण गर्छन्। मुसुक्क हाँस्छन्। आफ्ना जीवनका भोगाइहरूका बारेमा पुस्तक तयार पार्ने सोंच छ। हिन्दी भाषामा यादों वmे गलियारों में शीर्षक दिएर केही लेखिरहेका छन्। जसलाई नेपाली भाषामा अनुवाद गर्ने योजना छ। 

२६ वर्षअघि पत्नी गंगा गुमाउँदा उनी शोकमा डुबे। वि.सं. २०५४ जेठ ११ गते उनी एक्लो महसुस गरे। एकपटक उनी बागबजारमा मोटरसाइकल दुर्घटनामा परे। बाल बाल बँचे। पछाडि भागको हड्डी टुक्रियो। लामै समय थला परे। दोस्रो जुनि पाएको महसुस गरे। 
अहिले पनि डा. दास सखारै उठेर कसरत गर्छन्। अनुलोम विलोम गर्छन्। ठमठम हिँड्छन्। भेट्न आउने व्यक्तिसँग रमाउँछन्। घन्टौं भलाकुसारी गर्छन्। पुराना कुराहरू स्मरण गर्छन्। मुसुक्क हाँस्छन्। पुनः गीत गुनगुनाउँछन्,‘ यसै गरि बिताइदिन्छु दुई दिनको जिन्दगी ....’


रमाउन पनि जान्नुपर्छ 

जिन्दगी कस्तो हुनुपर्छ ? 
जिन्दगीमा एकांगी होइन पूर्णता हुनुपर्छ। आफ्नो पेसासँगसँगै अन्य क्षेत्रमा पनि भिज्न सक्नुपर्छ। रमाउनुपर्छ। जस्तै, बिरामीको सेवामा मात्र नभई अन्य विधामा पनि डाक्टर रमाउनुपर्छ। जीवनका हरेक क्षेत्रमा रुचि लिनुपर्छ। रमाउन जान्नुपर्छ। तबमात्र जीवन पूर्णतातर्फ उन्मुख हुन्छ। 

जीवनको सार्थकता के हो ?
पूर्ण जीवन जीउन सक्नुनै सार्थकता हो। 

शताब्दी बाँच्दाको फाइदा के हुँदो रहेछ ?
विश्व र मुलुकमा भइरहेका विभिन्न परिवर्तनको साक्षी हुन पाइन्छ। राजनीतिक होस् वा सामाजिक परिवर्तन प्रत्यक्ष हेर्न पाइन्छ। 

दीर्घ जीवनको बेफाइदा के हो ? 
६० वर्षपछि कतिपयलाई अल्जाइमर्स (विस्मृत रोग)ले सताउँछ। आफ्नै नाम, विगतको काम सबै बिर्सने हुन्छ। अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले त आफू राष्ट्रपति भएको क्षण नै बिर्सन पुगे। पण्डित राहुल सांस्कृत्यायनलाई पनि बिर्सने रोग लाग्यो। 

तपाईंको स्मरण शक्ति बलियो छ। के रहस्य के छ ? 
त्यस्तो बलियो त छैन। कहिलेकाहीँं बिर्सन्छु म पनि। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.