फेन्सिङमा सबैको हार
हाङ्चाओ : १९औं एसियाली खेलकुदअन्तर्गत फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन्। हाङझाव डायान्जी विश्वविद्यालय जिम्नाजियममा भएको पुरुष व्यक्तिगत सेवर स्पर्धामा पायस योञ्जनले पाँच वटै खेलमा पराजय बेहोरे। पायस काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग ५–० तथा उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले स्तब्ध भए।
पुरुष सेवरकै व्यक्तिगत स्पर्धामा राजेन्द्र गजुरेल कुवेतका मोहमद अब्दुल करिमसँग ५–२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान एनगुएन, दक्षिण कोरियाका सानगुक हो र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित हुँदा उनको यात्रा समूह चरणबाट अघि बढ्न सकेन।
महिला फोइल व्यक्तिगततर्फ मन्दिरा थापाको यात्रा पनि समूह चरणमै टुंगियो। उनी हङकङकी नोक डाफी चेन, जापानकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङसँग समान ५–०, मकाउकी हियो ल्याम कुसँग ५–१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५–३ ले निरास बनिन्।
दक्षिण कोरियाकी सिना होङसँग ५–३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५–१, सिंगापुरकी म्याक्सिन वाङसँग ५–४ र चीनकी क्वइयानक्यान हुआङसँग ५–० ले स्तब्ध बन्दा गोमा आर्चायको यात्रा पनि समूह चरणमै रोकियो।