एमालेको बागमती प्रदेश अधिवेशन : बन्द सत्र जारी
काठमाडौं : नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र जारी रहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा तोकिएको समयभन्दा ढिला गरी बन्द सत्र सुरु भएको हो।
प्रतिनिधि मनोनयनको विषयमा विवाद भएपछि तोकिएको समयभन्दा ढिला गरी बन्द सत्र सुरु भएको हो। जारी बन्दसत्रमा राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।
बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डलको अध्यक्षमा प्रदेश इन्चार्ज गुरु बराललाई जिम्मेवारी दिइएको एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्कीले जानकारी दिए।
अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन गर्ने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ। अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११ सयबढी प्रतिनिधि छनोट भएका छन्। अधिवेशनमा नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको छ। सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ।
बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान अध्यक्ष केशवराज पाण्डे र सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले आकांक्षा व्यक्त गरेका छन्। उनीहरुमध्ये कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धाको सम्भावना रहेको छ। सहमतिको प्रयासमा केन्द्रीय कमिटीका पदाधिकारी नै खटिएका छन्।
केन्द्रीय सदस्य ढुंगेलले सकेसम्म सहमतिमै नेतृत्व चयन हुने बताए। ‘सहमतिबाट नै नेतृत्व चयन हुने प्रयास भइरहेको छ। सहमति नभएको खण्डमा एमालेले लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउँछ। आकांक्षीको उम्मेदवारी दर्ता हुन्छ, स्वस्थ प्रतिस्पर्धा हुन्छ। निर्वाचनमार्फत प्रतिनिधिले नेतृत्व चयन गर्नेछन्।’ बागमती प्रदेशका पूर्वअर्थमन्त्री ढुंगेलले अन्नपूर्णसँग भने,‘साथीहरुले नेतृत्वमा आउनुपर्छ भनिरहनुभएको छ। सहमति भएको खण्डमा सहमतिबाटै र निर्वाचन भएको खण्डमा पनि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएर प्रदेशको नेतृत्व लिने मनस्थिति बनाइसकेको छु। स्वस्थ प्रतिस्पर्धामा भाग लिएर निर्वाचित हुन्छु।’
नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुने संकेत
सहमतिबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदान गराउने तयारी एमालेले गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार उद्घाटन समारोहमा पार्टीको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुने संकेत गरेका छन्। उनले प्यानल बनाएर चुनाव लडेको भेटिए नेतृत्वले कारबाही गर्ने चेतावनी दिए। अध्यक्ष ओलीले समेत कसैले चुनाव लड्छु भनेको खण्डमा एमालेमा चुनाव लड्न पाउने व्यवस्था रहेको बताए। ओली गुट नै बनाएर चुनाव लडाउने पक्षमा भने देखिएका छैनन्।
उनले चुनावमात्रै लोकतन्त्रको अभ्यास नभई मिल्नु पनि लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए। ‘चुनाव लड्नुस्, लड्न दिनुस्। स्वस्थ प्रतिस्पर्धा गर्नुस्। प्यानल बनाइएको थाहा भयो भने सिंगै प्यानलको उम्मेदवारी पनि खारेज हुन सक्छ,’ उनले भने।
अध्यक्षमण्डललाई त्यो अधिकार राखेर काम गर्न पनि ओलीले आग्रह गरे। उनले चुनाव भइसकेपछि हार जितलाई सहर्ष स्वीकार गर्न सक्नुपर्ने पनि बताए। ‘प्यानलाइज गर्ने दुई फ्याकमा बाँड्ने यो खालमा अभ्यासहरू कसैले नगरून्। स्वस्थ प्रतिस्पर्धा गर्नुस् हार जितलाई स्वीकार्नुस्। भोलिपल्टबाट मेरो पक्षमा भोट हालेको मेरो विपक्षमा भोट हालेको भनेर कुनै प्रकारले खोजीनिति गर्न पाइँदैन।