राजनीतिमा ‘सेवा’को गलत भाष्य
जबसम्म राजनीतिलाई सेवा मान्ने भुलभुलैया रहन्छ, तबसम्म राजनीतिज्ञहरू गैरजिम्मेवार र मनमौजी भइरहन्छन्।
राजनीतिलाई नीतिहरूमध्येको मूलनीति हो भन्ने मानिन्छ। प्राचीन दार्शनिक अरस्तुले राजनीतिलाई विज्ञानकी रानी भन्थे। कुनै पनि देशको विकास अथवा अविकासमा राजनीतिको प्रधान भूमिका रहन्छ। केन्द्र नीति अथवा मियो नीति भएका कारण राजनीति सफा, शुद्घ तथा जनता केन्द्रित भए समाजका अन्य सबै क्षेत्र र विधा स्वतः उही लयमा बहन थाल्छन्। यदि राजनीति नागरिक समर्पित नभए अनि जनताको खास चासो र सरोकारभन्दा बाहिर गए समाजका अरू सबै क्षेत्र पनि कुरूप तथा असंगतिपूर्ण बन्दै जान्छन्। त्यही भएर साहित्यकार जगदीश घिमिरेले उनको कृति ‘सकस’मा समाजका अन्य विधा र पक्षलाई सहायक बाटो अनि राजनीतिलाई मूलबाटो भनेका छन्।
दार्शनिक र साहित्यकारहरूले फरकफरक धारणा व्यक्त गरे पनि राजनीतिमै सलंग्न नेताहरू स्वयं भने राजनीतिलाई सेवा मान्छन्। राजनीतिक अभ्यासमार्फत देश र नागरिकको सेवा गरिरहेको भनेर आत्मप्रशंसाको अलाप लगाउँछन्। साँच्चै उनीहरूका गतिविधिलाई परिवारका सदस्यबाहेक अन्यले पनि सेवा नै मानेका छन् कि छैनन् भन्ने चाहिँ कहीँ कतै मापन गरिएको छैन। नेताहरूले जनताको सेवा कुन तह र तरिकाले गरेका छन् भन्ने वास्तविकतालाई थुप्रै तथ्यांकले उजागर गरेकै छ। व्यापार घाटा थेगिनसक्नु छ। एक वर्षमा २० लाख युवा बिदेसिएका छन्।
तीन लाख बढी उच्च शिक्षा अध्ययनमा गएका छन्। वास्तवमा त्यो तीन लाख चाहिँ बिदेसिएका होइनन्, देश नै छाडेका हुन्। बिदेसिएका त कुनै दिन देशमा आउँछन्। तर पढ्ने नाममा गएका अब अधिकांश फर्किएर नआउन सक्छन्। भ्रष्टाचारमा सायद विश्व कीर्तिमान नै कायम हुँदैछ। नेताहरू नमिलेर मात्र देश बिग्रिएको होइन, मिल्दा पनि बिगार्दा नै रहेछन् भन्ने कुरा यी विविध काण्डबाट प्रस्ट भएकै छ। सरकार र नेताप्रति नागरिकमा सामान्य विश्वसनीयता पनि छैन। राजनीति निःसन्देह र नागरिक निराश छन्। तर कहीँ कतै हाम्रो देशको राजनीतिले नागरिक अपेक्षा पूरा गर्न नसक्नुमा चाहिँ ‘राजनीति भनेको सेवा हो’ भन्ने मान्यता नै प्रधान कारण बनेको त छैन ?
सेवा भन्नेबित्तिकै स्वेच्छाले गर्ने अथवा स्वेच्छिक काम हो। मन लागे गर्ने र मन नलागे नगर्ने गर्न पाइन्छ। सेवा फगत आफ्नो आनन्द र खुसीका लागि गरिन्छ। सेवामा आफूलाई केन्द्रमा राखिन्छ। मैले सेवा गरेको छु, त्यही भएर म मुख्य अथवा प्रधान हँु भन्ने भावना अव्यक्त हुन्छ। अरूबाट कृतज्ञता अपेक्षा गरिन्छ। अरूको आवश्यकता हैन, आफ्नो खुसी मुख्य हुन्छ। सेवा कति र कुन मात्रामा गर्नुपर्छ भन्ने कुनै निश्चित मापदण्ड पनि हँुदैन। आफूले चाहेकालाई सेवा गर्ने र नचाहेकालाई नगर्दा पनि हुन्छ।
सेवा सबैलाई गर्नुपर्छ भन्ने कुनै बाध्यात्मक परिस्थिति हुँदैन। सेवा गर्दा आफूले रुचाएअनुसारको मात्र गर्ने छुट हुन्छ। सेवा गर्ने भनेको अपेक्षितको अथवा ग्राहीको आवश्यकता अथवा आशा अनुरूप नै हुनुपर्छ भन्ने छैन। दिनेले जे र जति दियो पाउनेले त्यही र त्यतिमा नै खुसी अनि सन्तोष व्यक्त गर्नुपर्छ। अझ दिनेप्रति अनुगृहीत र कृतज्ञ पनि बन्नुपर्छ। सेवाका लागि वतन अथवा लाभ लिन पाइँदैन। सेवा गरेबापत कुनै प्रतिफल अथवा भुक्तानी आशा गरिँदैन। सेवा नगरेबापत कसैलाई दण्ड जरिबाना गर्न मिल्दैन। सेवा नगर्दा कुनै कानुन आकर्षित गराउन सकिँदैन। सेवा भनेर गरे पछि कथम्कदाचित गलत नै मनशाय राखे पनि राम्रो भावले गरेको भनेर त्यसलाई छुट दिनुपर्छ।
तर जिम्मेवारी पूरा नगरे वा गलत गरेबापत भने दण्डसजाय गर्न पाइन्छ। उनीहरूले गलत गर्दा नेतृत्वलाई दण्डसजाय भएका विश्वमा अनेकन उदाहरण छन्। राष्ट्रलाई घाटा लगाएको कारण केही वर्षपहिले चीनका पूर्व रेलमन्त्री लियु जिझुन र अर्को वर्ष उच्च बैंकर लियाई जिआओमिनलाई मृत्युदण्ड दिइयो। नागरिक र देशप्रतिको जिम्मेवारी पूरा नगरेको तर भ्रष्टाचारमा सलंग्न भएबापत पछिल्लो दुई वर्षमा चीन, साउदी अरेबिया र अमेरिकामा दर्जनौंैलाई मृत्युदण्ड दिइएको हुन सक्ने अनुमान एमनेस्टी इन्टरनेसनलको छ। सन् १९६७ बाट १९९८ सम्मका इन्डोनेसियाका राष्ट्रपति महम्मोद सुहार्नेलाई लगभग ३५ अर्ब डलर अपचलन गरेकामा दण्ड भयो।
२०१२ मा फिजीका पूर्वप्रधानमन्त्री लाइसेनिया क्वारिजलाई भ्रष्टाचार आरोपमा जेल चलान गरियो। ब्राजिलमा भएको एक घोटालामा २०१२ मा त्यहाँका शक्तिशाली नेता जोस डिरेकु दण्डित हुनुपर्यो। अर्को एउटा समान मुद्दामा २०१२ मा नै क्रोएसियाका पूर्वप्रधानमन्त्री इभो सनादरलाई १० वर्ष कैद सुनाइयो। इजरायलका पूर्वप्रधानमन्त्री इहुद अर्लमर्टलाई ६ वर्षको जेल सजाय भयो। बंगलादेशमा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई पनि भ्रष्टाचारको अभियोगमा १८ वर्ष जेल तोकिएको थियो। तर हाम्रो देशमा राजनीतिमा संलग्न भएर राम्रो गर्ने वा नगर्ने वा गलत गर्ने सबैलाई समान व्यवहार र सुविधा प्राप्त छ। सदैव उत्तिकै उन्मुक्त छन्। देश गरिबीमा डुब्दैछ, नेता अर्बपतिमा उक्लँदैछन्। देश नबने पनि नेताहरू भने बनेका छन्। देश नफेरिए पनि, नेताहरू प्रशस्तै फेरिएका छन्। देशको नभए पनि नेताको चाहिँ विकास भएकै छ।
हामी आमनागरिकलाई चाहिँ राजनीतिलाई सेवा भनेर गलत भाष्य निर्माण गराइयो। तसर्थ राजनीति गर्नेहरूले कुनै जिम्मेवारी बहन गर्नुपर्छ भन्ने मनन् गराइएन। नागरिकको अपेक्षा पूरा गर्नुपर्ने नैतिक दायित्व निर्माण गराइएन। उनीहरूको निष्प्रभावितामा दण्ड र सजाय हुनुपर्छ भन्ने चेत निर्माण हुन दिइएन। जे सके त्यही गरे, नसकेको सबैमा माफी मिनाहा तथा छुट हुन्छ भन्ने मनोविज्ञान निर्माण गराइयो। सेवा हो, उनीहरूको खुसीअनुसार गरे भनेर सबैलाई स्वतः स्वीकार्ने आदत अनि आचरण विकसित गराइयो।
अब राजनीतिलाई सेवाको गलत भाष्यबाट मुक्ति दिएर जिम्मेवारीको रूपमा बुझ्नुपर्छ। जिम्मेवारीमा यसलाई बहन गर्ने मापदण्ड हुन्छ। आफूले चाहेअनुसार हैन, ग्राही र नियोक्ताले अपेक्षा गरेअनुसार कार्यसम्पादन गर्नुपर्छ। त्यसो गर्न नसकेमा जिम्मेवारीबाट मुक्त हुनेमात्र हैन, दण्डसजाय पनि भोग्नुपर्छ। आफ्नो असक्षमताले भएको हानिनोक्सानीको क्षतिपूर्ति दिनुपर्छ। लाचार र आत्म–आलोचितसमेत हुनुपर्छ।
तसर्थ राजनीतिलाई अब सेवा नभै जिम्मेवारीको रूपमा बुझ्ने र बुझाउने माहोल तथा मनोविज्ञान निर्माण हुनुपर्छ। जबसम्म राजनीतिलाई सेवा मान्ने भुलभुलैया समाजमा व्याप्त रहन्छ, तबसम्म राजनीतिज्ञहरू गैरजिम्मेवार र मनमौजी भई नै रहन्छन्। देश अधोगतिको मार्गमा लम्किरहन्छ।