४ वर्षपछि मुस्ताङको उत्तरी कोरलानाका खुल्ने
जोमसोम : लगातार ४ वर्षदेखि बन्द रहेको मुस्ताङको उत्तरी कोरलानाका खुल्ला हुने भएको छ। दसैंअगावै नेपाल-चीन व्यापारिक नाका अन्तर्गत मुस्ताङको कोरलानाका खुल्ला गर्ने तयारी भइरहेको बताइएको छ।
नेपाल-चीन सीमानाका १४ वटा स्थानमा व्यापारिक नाका पुनः खोल्ने विषयमा सन् २०१९ मा हस्ताक्षर भएको थियो। नेपालका लागि चिनियाँ दुतावासले सोही हस्ताक्षर अन्तरगत नेपाल पक्षलाई एक साताअघि कुटनीतिक नोट पठाएसँगै लगातार ४ वर्षसम्म बन्द रहेको कोरलानाका खुल्ला हुन लागेको हो।
सो हस्ताक्षरको एग्रिमेन्ट अफ द बोर्डर मेनेजमेन्ट सिस्टम बमोजिम नेपाल पक्षले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई अतिरिक्त प्रवेश अनुमति पत्र जारी गर्ने , प्रवेश अनुमति पत्रको नमूना चिनियाँ पक्षलाई कूटनीतिक माध्यमबाट उपलब्ध गराउन अनुरोध गर्दै अतिरिक्त प्रवेश सम्बन्धी अन्य विषयको बारेमा उल्लेख गरी लेखिएको काठमाडौं स्थित चिनियाँ राजदुतको सेप्टेम्बर २०,२०२३ को कूटनीतिक नोट प्राप्त भइसकेकाले त्यहाँको जानकारी एवं आवश्यक कार्यर्थ गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई नाका खोल्न निर्देशन दिएको हो।
योसँगै मुस्ताङको उत्तरी कोरलानाका चाँडोभन्दा चाँडो खुल्ला गर्ने तयारी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारीले दिए। उनले अक्टोबर १५ तारिखमा नेपाल—चीन समकक्षी बैठक बस्ने तयारी भइरहेको र सोभन्दा अगावै कोरलानाका खोल्ने गृहकार्य अघि बढेको बताए। कोरलानाका खोल्नका लागि सीमावर्ती क्षेत्रका जनप्रतिनिधि,स्थानीय र सरोकारवालाहरुसँगै बैठक बस्ने तयारी भइरहेको प्रजिअ पन्तले उल्लेख गरे।
हिउँदयामको सुरुवात भइसकेको र उपल्लो मुस्ताङका नागरिकहरुले जाडो छल्न बेसी झर्ने भएकाले दसैंअगावै कोरलानाका सञ्चालन गर्ने तयारी गरिएको प्रजिअ पन्तको भनाइ छ। ‘सीमावर्ती क्षेत्रका नागरिक तल झर्ने क्रम सुरु भइसकेको छ, हामीलाई नाका खोल्न निर्देशन आइसकेको छ', प्रजिअ पन्तले भने, 'यसैले नाका खोल्न ढिला नगरौं भन्ने मान्यता हो, छिटो नाका खोल्न सके सीमावर्ती क्षेत्रका नागरिकले बढी लाभ लिन सक्ने थिए।’
कोरना कहरका कारण सन् २०२० देखि हालसम्म चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरलानाकामा सञ्चालन हुने दुई देशबीचको अन्तरदेशीय अल्पकालीन ब्यापार मेला अवरुद्ध हुँदै आइरहेको थियो। प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमणसँगै मुस्ताङको उत्तरी कोरलानाका खुल्ला गर्ने पहल सुरु भएको हो। प्रधानमन्त्रीको चीन भ्रमणसँगै नेपाल-चिन उत्तरतर्फको १४ वटा नाका खुल्ला हुने वातावरण बनेको हो।
मुस्ताङको उत्तरी कोरलानाकाको तिब्बती भूमीमा बर्सेनी असार र भदौ महिनामा नेपाल—चीन अन्तरदेशीय अल्पकालीन व्यापार मेला सञ्चालन हुने गर्थ्यो। चीन पक्षले कोरलाको दशगजा क्षेत्रको करिव ५ किमी भित्र तिब्बती भूमीमा यो मेला सञ्चालन गर्थ्यो। चीनले सुरक्षा तथा कोभिड माहामारीको कारण देखाउँदै कोरला अन्तरदेशीय ब्यापार मेला बन्द गराएको हो।
४ वर्षदेखि लगातार कोरला ब्यापार मेला ठप्प रहँदा सीमावर्ती क्षेत्रका बासिन्दालाई निकै सास्ती भएको थियो। नेपाल—चीन कोरला ब्यापार मेलामा सीमावर्ती क्षेत्रका बासिन्दाले भेडा च्यांग्रा आयातदेखि दैनिक उपभोग्य किराना सामान, लत्ताकपडा, निर्माण सामाग्री र कृषि उपकरण लगायतका सामाना खरिद्ने गर्थ्यौं। नेपाल पक्षबाट सीमावर्ती क्षेत्रका बासिन्दाले पस्मिना,स्थानीय उत्पादन र बन्य जटीबुटी चीनतर्फ निर्यात गर्थ्यो। विषेश गरी उपल्लो मुस्ताङी र तिब्बतको संस्कृति मिल्दोजुल्दो भएकाले त्यहाँ प्रयोग हुने सामानहरु सीमावर्ती क्षेत्रका बासिन्दाले उपभोग गर्न पाएका थिएनन्।
लोमान्थाङ-५ का स्थानीय ढुक्के गुरुङले ब्यापार मेला खुल्ने कुराले उपल्लो मुस्ताङबासीलाई उत्साहित बनाएको बताए। उनले नाका नखुल्दा भेडा च्यांग्राको मुल्य महङ्गो पर्ने भएको र नाकाबाट भेडा च्यांग्रा भित्रिएमा ३५ प्रतिशतसम्म च्यांग्राको मुल्य सस्तो पर्ने दावी गरे।
मुस्ताङ भन्सार कार्यालयले कोभिड अघि बर्सेनि १५ लाखसम्म राजश्व संकलन गर्ने गर्थ्यो।