डाक्टर आन्दोलित : वीरगन्जका अस्पतालमा ओपिडी सेवा बन्द
वीरगन्ज : चिकित्सकमाथि भइरहेका आक्रमणको विरोधमा वीरगन्जका अस्पताल र क्लिनिकमा शुक्रबार बहिरंग (ओपिडी)सेवा बन्द गरिएको छ।
नेपाल चिकित्सक संघ नारायणी शाखाको आह्वानमा वीरगन्जका चिकित्सकहरुले शुक्रबार सरकारी तथा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकल कलेजमा ओपिडी सेवा बन्द गरेका हुन्।
चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ता र सचिव डाक्टर नौसाद हकले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्य संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा बढिरहेको घटनाको घोर भर्त्सना गर्दै शुक्रबार ओपीडी सेवा बन्द गरिएको जनाएको हुन्।
चिकित्सकमाथि कुटपिट र अस्पतालहरुमा गरिएको तोडफोडका घटनाहरुमा प्रहरी प्रशासन मुकदर्शक बनेको तथा सरकार र चिकित्सक संघबीच पटक पटक भएको वार्ता र सहमतिको बावजुद पनि चिकित्सक र स्वास्थ्यकर्मी लगायत स्वास्थ्य संस्थालाई सुरक्षा गर्न नेपाल सरकारका सुरक्षा निकायहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको संघले जनाएको छ।
सरकारले नागरिकको जीवन रक्षाका लागि अहोरात्र खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रदान गर्न नसकेको विरोधमा वीरगन्जमा शुक्रबार ओपीडी सेवा बन्द गरिएको संघले जनाएको हो।
यसअघि बिहीबार र बुधबार वीरगन्जका चिकित्सकले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग्दै विरोध जुलुश निकालेर प्रदर्शन गरेका थिए।