
दाङ : तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्कालाई धेरैले सुकुम्बासी नगरप्रमुखका रूपमा चिन्छन्। उनको परिचय यतिमा मात्रै सीमित छैन। उनलाई धेरैले सादगी नेताको रूपमा लिने गरेका छन्। उनको यहीँ परिचय नै चुनाव जित्नुको कारण बनेको थियो।
गत वर्ष निर्वाचनकै समयमा रोटी पकाउँदै गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमै पोस्ट गरिएपछि उनको जीवनशैलीबारे धेरैले प्रशंसा गरेका थिए। उनको जीवनशैलीबाट प्रभावित भएर धेरैले मेयर खड्कालाई ऊर्जावान् व्यक्तिको रूपमा रहेको प्रतिक्रिया दिए। तर, निर्वाचनपछि उनी निर्वाचन अघिभन्दा उल्टो लयमा देखिएका छन्। सत्ता र शक्तिमा पुगेपछि जसरी पनि राज्यको सम्पत्ति दुरुपयोग गर्नुपर्छ भन्ने मानसिकता उनमा हाबी भएको छ।
नगरप्रमुख खड्काले राज्यकै रकम खर्च गरेर कर्मचारीलाई घरको व्यक्तिगत काममा लगाएका छन्। दोस्रो स्थानीय तहको निर्वाचन २०७९ मा सुकुम्बासीको नारा र सर्वहारा वर्गको काम गर्ने भन्दै चुनाव जितेका नगरप्रमुख खड्काले आफ्नो घर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को अक्कासीमा उपमहानगरकै खर्चमा घरायसी प्रयोजनका लागि कर्मचारी राखेका छन्।
नगरप्रमुखले आफ्नो घरमा भान्साको लागि कर्मचारी राखेको भन्ने गुनासो प्राप्त भएपछि अनुसन्धानको क्रममा नगरकै तलबमा नगरप्रमुख खड्काको घरमा व्यक्तिगत काममा कर्मचारीलाई राखिएको खुलेको हो। ती कर्मचारीले उपमहानगरबाट मासिक १५ हजार तलब बुझ्ने गरेका छन्। यतिसम्मकि उनलाई महिनामा एक पटक उपमहानगरमा आएर रजिस्ट्ररमा महिनाभरकै हाजिर गर्न लगाउने सुविधा उपलब्ध गराइएको छ।
उपमहानगरमा सबै कर्मचारीलाई ई–हाजिरीको व्यवस्था गरे पनि उनको लागि छुट्टै सुविधाको व्यवस्था गरेको प्रमाण फेला परेको छ। ती कर्मचारी नगरप्रमुखको नजिकको नातेदार भएकाले निर्वाचित भए लगत्तैबाट उनलाई घरमा भान्सेको रूपमा राखिएको हो। नगरप्रमुखको निजी निवास टाढा भएको अवस्थामा मात्र सरकारी आवासीय सुविधा लिएको खण्डमा यस्तो कर्मचारी राख्न सकिन्छ।
तर नियमविपरीत नगरप्रमुख खड्काले आफ्नो घरायसी भान्सामा उपमहानगरबाट तलब भुक्तान गरेर कर्मचारी राखेको पाइएको हो। राज्यको ढुकुटीबाट तलब भुक्तानी भएपछि कुनै पनि कर्मचारीले कार्यालय समयमा नगरप्रमुखको व्यक्तिगत काम गर्न पाइँदैन। २०७९ वैशाख ३० गते भएको स्थानीय तहको दोस्रो निर्वाचनमा नगरप्रमुख खड्काले आफू निर्वाचित भएलगत्तै आफ्ना नातेदारलाई भान्सेको रूपमा राखेको पाइएको हो। उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले वास्तविकता लुकाउन आफूलाई यो विषय जानकारीमा नआएको उल्लेख गरे।
उनले आफू उपमहानगरमा केही समय अघिमात्र आएका कारण आफू यस बारेमा बेखबर भएको दाबी गरे। उनले उपमहानगरपालिकाबाट तलब भुक्तानी भएपछि कार्यालय समयमा उपमहानगरकै काम गर्नुपर्ने पनि बताए। ‘जे भए पनि मेयर हिसाबकिताबमा क्लियर हुनुहुन्छ, मैले यस्तो क्लिन मेयर त नेपालमै देखेको थिइनँ’, उनले भने, ‘तर अहिलेको बारेमा मलाई थाहा भएन।’ प्रमुख प्रशासकीय अधिकृत केसी यसबारे थप जानकारी लिने भनेर उम्कन खोजेका छन्। ‘म केही समय अघिमात्र तुलसीपुर आएको हुँ, मलाई यसबारेमा केही जानकारी थिएन’, उनले भने, ‘वास्तविक कुरा के रहेछ म बुझ्छु र यो विषयको समस्या समाधान गर्नेछु।’
जबकि प्रमुख प्रशासकीय अधिकृतको अनुमतिबिना कुनै पनि कर्मचारीलाई तलब भुक्तानी गर्न नमिल्ने प्रावधान छ। त्यसैमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा निजी काम गराएर तलब भुक्तानी भइरहेको छ। एकातर्फ उपमहानगरमा विद्युतीय हाजिरीमार्फत मासिक तलब भुक्तानी हुन्छ। तर उपमहानगरले भने यसरी भर्ना गरिएका कर्मचारीलाई रजिस्टरमा हाजिरी गराएर तलब भुक्तानी गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !
