दुर्लभ अनुहार : राजेन्द्र पराजुली

दुर्लभ अनुहार : राजेन्द्र पराजुली

समाजलाई बदल्ने छट्पटी दुवैमा एउटै प्रकारको हुँदो हो। सुवास नेम्बाङ जस्तोसुकै असहज अवस्थामा पनि अरूको कठोर आलोचना गर्नबाट जोगिन्थे भने राजेन्द्र कठोर आलोचना गर्न चुक्तैनथे।

दुईजना शालीन र भद्र व्यक्तिहरू एकै दिन हामीसँग अनिच्छापूर्वक बिदा भए– काठमाडौं कोटेश्वरका राजेन्द्र पराजुली र इलाम सुन्तलाबारीका सुवासचन्द्र नेम्बाङ। शिक्षा र कामका दृष्टिले दुवैजना फरक पृष्ठभूमिका थिए तर नेपाली समाजको लोकतान्त्रिक रूपान्तरणका पक्षमा यी दुवै एकै ठाउँमा उभिएका थिए। एकजना धैर्यवान् र संवेदनशील नेताको छविमा प्रकट भए, अर्का चाहिँ संवेदनशील साहित्यकार र पत्रकारको छविमा।

यसो हेर्दा लाग्छ, समाजलाई बदल्ने छट्पटी दुवैमा एउटै प्रकारको हुँदो हो। सुवास जस्तोसुकै असहज अवस्थामा पनि अरूको कठोर आलोचना गर्नबाट जोगिन्थे भने प्रतिकूल अवस्थामा राजेन्द्रको छटपटी बढेर अराजकताको हद पार गथ्र्यो र उनी कठोर आलोचना गर्न चुक्तैनथे। सायद एक विशुद्ध राजनीतिकर्मी र एक विशुद्ध साहित्यकारका बीच कोरिएको यही लक्ष्मणरेखाले एकअर्काको क्षेत्र अतिक्रमण गर्न दिएन।

शोखले राजेन्द्र कवि र आख्यानकार थिए, पेसाले उनी पत्रकार र सम्पादक भए। उनले विदुर गौतमको साहित्यिक द्वैमासिक पत्रिका तन्नेरीका केही स्मरणीय विशेषांक सम्पादन गरे। तीमध्ये २०५६ पुस–माघ–फागुनको प्रतिनिधि कथा र आत्मटिप्पणी विशेषांक पनि एउटा हो। यसमा मनु ब्राजाकी, शैलेन्द्र साकार, मञ्जु काँचुुली, राजव, नारायण ढकाल, अशेष मल्ल र अविनाश श्रेष्ठलगायत १८ समकालीन कथाकारका कथा र कथासम्बन्धी तिनका धारणा समेटिए। समकालीन कथाकारबारे बुझ्न हामीलाई यस अंकले धेरै सहयोग गर्दछ।

राजेन्द्र यस्ता खाले नयाँ योजना ल्याइरहन्थे। सम्भवतः सोही पत्रिकाको आयोजनमा प्रकाशित भएको कविता/सोच ग्रन्थ यसको उम्दा उदाहरण हो। उल्लिखित विशेषांकमा कथाकारका आत्मटिप्पणीसमेत सँगालिए झैं यसमा पनि कविहरूलाई कवितासम्बन्धी तिनका धारणा लेख्न लगाइएको थियो। म पनि ती प्रतिनिधि कविमध्ये एक थिएँ। यस्ता कामले रचनाकारका रचना क्षमता र आफ्नैबारे कविको दृष्टिकोण बुझ्न निकै मद्दत पुर्‍याउँछन्।

राजेन्द्रद्वारा सम्पादित अर्को महत्त्वपूर्ण ग्रन्थ हो कविता–सन्दर्भ। यसमा एक कविले विशेषांकमा संकलित अर्को कविका बारेमा आआफ्ना धारणा प्रकट गरेका छन् र तिनीहरूमाथि भूमिका प्रसिद्ध समालोचक डा. तारानाथ शर्मा र प्रसिद्ध कथाकार/कवि भाउपन्थीका आलोचनात्मक धारणा व्यक्त गरिएका छन्।

राजेन्द्रले २०५५ सालमा विप्लब ढकालसँगको सहसम्पादनमा ‘नेपाली नाटकः समकालीन सन्दर्भ’ ग्रन्थका लागि डा. दयाराम श्रेष्ठलाई भूमिका लेख्न लगाए। पछिल्लो समय नेपाली नाटकका बारेमा खास केही लेखिएको थिएन। यस्तो अवस्थामा १२ नाटककारका चर्चित एकांकी नाटक राखेर तिनका आधारमा एक साहित्य शास्त्रज्ञबाट भूमिका लेखाउनु पनि लर्तरो काम मानिँदैनथ्यो।

मलाई राजेन्द्र पराजुलीका बारेमा नकारात्मक कुरा भेटाइहाल्न कठिन भयो। किनभने उनी सामान्यतः एक सज्जन साथी थिए। उनी जीवनमा सामान्यतया दुर्लभ झैं हुने सहयोगी तर अत्यन्त भावुक पात्र थिए भन्ने कुरा उनका परम मित्र उपन्यासकार नयनराज पाण्डेले मित्रहरूबारेको निबन्ध ग्रन्थ ‘यार’मा हामीलाई सम्झाएका छन्।

एक समय उनी आफ्नो निजी अवस्थामा विरक्तिएका थिए। उनलाई आफ्नो जीवनलाई मर्यादित ढंगले अघि बढाउन कतै पनि आशाको किरण देखा परिरहेको थिएन। भएको व्यवसाय छाडेपछि स्रोतविहीन हुनु र त्यसकारणले परिवारमा खटपट हुनु अनि नियमित सामान्यताबाट विचलित हुनु पनि स्वाभाविकै थियो। राजनीति उनले चाहेअनुसार अझ हामी कसैले पनि चाहेअनुसार अघि बढेको थिएन। राज्यका हरेक संयन्त्रमा अवसरवादीहरूको हालिमुहाली बढ्दै थियो। र यसैले उनी आफूले समर्थन गरेका नेता र दलहरूसँग पनि विरक्तिए। वास्तवमा मैले चिनेका राजेन्द्र पराजुली को थिए ?

अलिअलि नवप्रवर्तनकारी सोचका धनी थिए, राजेन्द्र। अहिले भर्खर पाँचौं संस्करण सम्पन्न भएको बाह्रखरी कथा प्रतियोगिताका उन्नायक थिए राजेन्द्र। नयाँ कथाकारहरूका लागि चौतारो खडा गर्ने यो काम अलि जोखिमले भरिएको पनि छ। त्यसैले सुरुमै राजेन्द्र विवादमा पनि परे। यस आयोजनको/यस अनुष्ठानको आफ्नै विशिष्ट आकर्षण छ : कुरो लाख रुपैयाँको मात्र होइन, कुरो प्रथम वा दोस्रो तेस्रो वा चौथो दसौं वा पचासभित्र परियो कि भन्ने मात्र पनि होइन, एक खालको व्यापक मञ्चमा आफूलाई उपस्थित गराउन पाउनु पनि हो।

त्यसैले राजेन्द्रलाई यस मञ्चले र यस मञ्चमा उपस्थित भएर आफ्नो पहिचान बनाउनेहरूले सम्मानपूर्वक सम्झनेछन्। उनको निधन भएपछि आर्यघाटमा उनलाई श्रद्धाञ्जली दिन उपस्थित नयाँ पुस्ताका साहित्यकारमा देखिएको बेचैनीबाट पनि यसो बुझ्न सकिन्छ। मैले राजेन्द्रलाई पहिलोपल्ट भेटेको सायद २०३९ सालतिर हुनुपर्छ। त्यतिबेला ललिजन रावल, नकुल सिलवाल, उदय निरौला अदिको एक क्रियाशील समूहका साथीसँग मिलेर नेपाल साहित्य गुठी चलाउँथे। उनले त्यसपछि ‘विपुल’ भन्ने एक साहित्यिक पत्रिका पनि सम्पादन गरे, जसको मास्ट हेड र आवरण कला मैले नै तयार गरिदिएको थिएँ।

नयाँ छिमलका साहित्यकारमाझ राजेन्द्र कति लोकप्रिय थिए भन्ने कुरा उनको अन्त्येष्टिका दिन बिहानैदेखि उर्लेर आएका साहित्यकारको संख्याबाट बुझ्न सकिन्थ्यो। मैले बुझेसम्म तीमध्ये केही उनका विशिष्ट खोजहरू थिए। उनले लेख्न उत्प्रेरित गरी साहित्यको मैदानमा उतारेका युवाको संख्या पनि त्यहाँ गतिलै थियो। उनले हिमाल खबरपत्रिका, अभियान आर्थिक दैनिक र नेपाल समाचारपत्रमा काम गरेर सम्पादन कौशल प्रमाणित गरे। तर उनी धेरै लामो समयसम्म उनी कुुनै संस्थामा पनि टिकेनन्। दालभात जुराउनकै लागि भनेर आफ्नो अहम्मा चोट लाग्ने गरी उनी कहीँ पनि झुन्डिएको देखिएन। बरु नयाँ काम थाले। अभियान छाडेपछि उनले एउटा स्तरीय म्यागेजिन पनि थालेका थिए तर त्यो धेरै समय बाँचेन।

छोराछोरीलाई शिक्षाको एक खास मुकामसम्म पुर्‍याएपछि र उनीहरूलाई आआफ्नो पेसातर्फ सोझ्याएपछि सायद उनी पारिवारिक सुखको पहिलो अनुभव गर्न थालेका थिए। उमेरले पनि उनलाई बढी जिम्मेवार बनाइरहेको थियो किनकि उनी नातिनातिनाका बाजे भइसकेका थिए। स्नातक गरेका 
दशकौंपछि स्नातकोत्तर गर्ने हुलमा म पनि मिसिएँ र राजेन्द्र पनि मिसिए। हामीले सँगै नेपाली एमएको जाँच दियौं। यसरी उनी जम्मा एक दिन मेरा सहपाठी बने।

लोकसाहित्यसम्बन्धी त्यस पत्रको जाँचको अघिल्लो दिन उनीसँगै पढौं भनेर उनी कोटेश्वरबाट कलंकीस्थित मेरो घर आइपुगे। हामी छलफल गर्ने बहानामा थानकोटको त्रिभुवन स्मृति पार्कमा पुगेर एक दिन लोकवार्ता, लोकसाहित्य, नेपालमा लोकसाहित्यको बढ्दो महत्त्व तर त्यसको अध्ययनको क्षीण परम्पराबारे चर्चा गरेर बितायौं। त्रिविका नेपाली गुरुहरूका मापदण्ड अनुरूप जाँच दिएर उत्कृष्ट नतिजा ल्याउन नसके पनि लोकसाहित्य जस्तो विषयमा हामी फेल भइहाल्ने खालका विद्यार्थी भने थिएनौं। तर कहिल्यै पनि राजेन्द्रलाई उनी पास भए नभएको सोधिनँ। उनले पनि सोधेनन्।

अघि नै भनें, राजेन्द्रलाई खराब थियो भन्न मसँग केही पनि प्रमाण छैनन्, सायद अरूसँग पनि नहोलान्। यो मेरो अनुमान हो। यस्तो अनुमान गर्न उनको व्यवहारले नै प्रेरित गथ्र्यो। उनी एक सज्जन मित्रमात्र थिएनन्, मन परेका मित्रजनलाई घरमा बोलाएर सत्कार गर्ने संस्कार पनि उनमा प्रचुर मात्रामा थियो। जिन्दगीलाई असन्तोषको भुंग्रोमा हालेर रोदन गर्दै खेर फाल्नु हुन्न भन्ने मान्यता थियो राजेन्द्रको। त्यसैले उनी बडो प्रफुल्ल मुद्रामा प्रस्तुत हुन्थे। मलाई उनीसँग बेलाबेला नगरकोट जाँदा हावा महलमा बसेर संवाद गरेको याद आउँछ। उनले कृष्ण पराजुलीको होटलबाट बाहिर खुला हावामा निस्केर मण्डन देउपुरको पारितिरका डा“डाकाँडा हेरेको याद आउँछ।

सबैभन्दा बढी त चित्त नबुझेका कुरालाई पनि जिब्रो चपाएर लुकाउने साथीहरूका बारेमा उनको कठोर आलोचना सुनिरहौं जस्तो लाग्थ्यो। आफूले मत दिएर जिताएका मानिसले उपल्लो आसनमा पुगेर जनताको कोमल भावनामाथि खेलबाड गरेपछि उनलाई रन्का छुट्थ्यो।

एकपटक साझा प्रकाशनको बोर्डमा दुईजना उठे राजेन्द्र र नयनराज। म त्यतिबेला कामका सिलसिलामा नेपालगन्जमा थिएँ। उनीहरू उठेपछि म सुत्ने कुरा त भएन भनेर बिदै लिएर भोट दिन हवाईजहाज चढेर आएँ। उनीहरूले जिते। यसोभन्दा मलाई आनन्द आउँछ। एउटा अर्को सही काम गरेछु। अर्थात् उनीहरूलाई जिताउन मैले पनि योगदान गरेछु। किनभने उनीहरूले कम्तीमा पनि साझा प्रकाशनलाई डुबाउने काममा सहीछाप नगर्लान् जस्तो लागेको थियो। सायद गरेनन्। बरु मैले एक वर्ष साझा पुरस्कारका लागि जाँचकी बन्ने मौका पाएको थिएँ। र, बडो होसियारीपूर्वक कृति छानेको थिएँ।

हाम्रो साहित्यिक दुनियाँका लागि, हामी साथीभाइका लागि र परिवारका लागि राजेन्द्रको उपस्थिति अत्यन्त आवश्यक भएको बेला राति पौने ३ बजे उनी अस्ताए। जीवनमा यति नमीठो अनुभव कमै हुन्छ। गोविन्द वर्तमान र अग्निशिखा पनि यसैगरी ६० नपुग्दै अचानक हामीलाई छोडेर अल्पेका थिए। 
मित्र राजेन्द्र पराजुली सधैं हाम्रो स्मृतिमा रहिरहनेछन्। भावुकताकै कुरा सही, राजेन्द्र, तिमीले कसैलाई केही नबिगारेको हुनाले तिमीलाई पनि कसैले हेलाँहोचो गर्न नसकेका होलान् भन्ने ठानेको छु। नत्र त्यहाँ पनि विद्रोह गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.