चिनीले मुटुमा मात्र असर पार्दैन– मिर्गौला, रक्तनली, आँखा, खुट्टा र मस्तिष्कमा पनि खराब असर पार्न सक्छ।
‘छाती भारी भएको छ दाइ ?’
‘छाती नै भारी भएको त थाहा भएन तर भर्याङ उक्लेर आउँदा बीचमा गाह्रो हुन्छ अनि सास फेर्न गाह्रो हुन्छ।’
धुलिखेल अस्पतालको बहिरंग विभागमा बिरामी हेर्दै थिएँ। दाइको पालो आएर मेचमा बस्दै गरेको दाइले भन्नुभयो।
‘दम त छैन नि ?’
‘छैन, छैन।’
‘अनि दाइलाई चिनी बढेको कति भयो रे ?’
‘भयो १२ वर्ष जत्ति।’
‘नियन्त्रणमा त छ नि, चिनी ?’
‘खै ? औषधि त खाइराखेको छु तर पनि त्यति नियन्त्रण भए जस्तो छैन।’
पुरानो रिपोर्ट पल्टाएर हेरें। १५ दिन जति अगाडिको रिपोर्ट देखें। खाली पेटमा जाँचेको चिनीको मात्रा १४६ मिलिग्राम र डे.लि.। खाएपछि १८६ र एचबीएवानसी ८.१ प्रतिशत।
हुनुपर्ने खाली पेटमा चिनीको मात्रा १०० भन्दा मुनि र एचबीएवानसी ६ प्रतिशतभन्दा मुनि।
‘ए दाइ, भएन न नि त। तपाईंको त यो चिनी नियन्त्रणमा छैन नि।’
मन्द हाँसेर ‘हो र ?’ भन्नुभो।
चिनी रोगले मिर्गौलालाई नि छोएको छ कि भनेर रगतमा मिर्गौलाको कार्य ठीक छ छैन भन्ने हेर्न युरिया, क्रियाटिनिन, पोटासियम, सोडियम जचाएको रिपोर्ट हेरें।
सबै ठीक रहेछ।
‘मिर्गौलामा त छोएको देखिएन।’ भनें।
दाइ खुसी हुनुभयो।
‘सुन्नुस् दाइ, तपाईंको यो औषधि त ठीक पाइराख्नुभएको छ तर खाने कुरा धेरै
भयो कि ?’
‘खान मन लाग्छ। राम्ररी नै खान्छु।’ दाइ हाँस्दै भन्नुभो।
‘खाना त खानुपर्छ तर धेरै खानु भएन। चिनी बढ्ने खानेकुरा जस्तै भात, चिउरा, रोटी, मैदाबाट बनेका कुरा, बिस्कुट, मिठाई, सेलरोटी, चिनी भएका पेयपदार्थ आदि खानेकुरा चाहिँ थोरै मात्र खाने।’
‘अनि के खाने त ?’
‘सागसब्जी, फलफूल धेरै खाने। प्रोटिनयुक्त खानेकुरा मासु, अन्डा, गेडागुडी पनि खाने।’
‘खानेकुरा मात्र मिलाएर चिनी नियन्त्रण होला त ?’ ‘खानेकुरा नियन्त्रण प्रमुख हो। सँगै नियमित हिँड्नु पर्छ– सकेसम्म दैनिक आधा एक घण्टा, नसके हप्तामा पाँच दिन र यत्ति गर्दा पनि नियन्त्रण भएन भने औषधि मिलाउनु पर्छ।’
‘हुन्छ। अब त्यस्तै गर्छु।’ ‘अनि यो भर्याङ चढ्न गाह्रो चाहिँ किन भएको होला ?’
‘चिनी रोगले मुटुलाई पनि असर पार्छ दाइ। तपाईंको मुटु पनि जाँच गरेर हेर्छु।’ ‘चिनी रोगले आँखा र रक्तनलीमा पनि खराब असर पार्न सक्छ।’
दाइसँग कुरा गर्दागर्दै शारीरिक जाँच– नाडी, ब्लडप्रेसर, फोक्सो, मुटु जाँचेर हेरेपछि ईसीजी, ईको सँगसँगै केही दिनपछि मुटुको एन्जियोग्राफी पनि गरेर हेरें।
एन्जियोग्राफीमा मुटुलाई रक्तसञ्चार गर्ने रक्तनली साँघुरिएको देखियो। साँघुरिएको रक्तनली बन्दै भएको त थिएन तर ९० प्रतिशत नै साँघुरिएको हुनाले मुटुलाई असर चाहिँ परेको थियो। चिनी रोग लागेको व्यक्तिलाई झट्ट छाती दुखेको थाहा पनि नहुन सक्ने भएको हुनाले दाइलाई छाती भारी हुनुको सट्टा भर्याङ उक्लिन गाह्रो भएको निक्र्योल गर्र्यौं। केही समयमै सो साँघुरिएको रक्तनलीलाई स्टेन्ट लगाएर खोल्नु पर्नेछ।
सबै चिनीरोग लागेको व्यक्तिलाई मुटुको रोग हुन्छ नै, भन्ने छैन तर चिनी नियन्त्रणमा छैन भने– मुटुको रक्तनली साँघुरिने र बन्द हुने सम्भावना धेरै नै बढ्छ। हरेक हृदयाघात भएका व्यक्ति वा मुटुका रक्तनली साँघुरिएर छाती भारी भएकाहरूमा चिनी रोग प्रमुख कारणमै पर्छ। यसबाहेक, उच्च रक्तचाप, धूमपान, रगतमा चिल्लो पदार्थ धेरै, न्यून व्यायाम, तनाव पनि मुटुको रोगका प्रमुख कारण हुन्। तसर्थ यिनलाई नियन्त्रण गर्नै पर्छ।
दाइलाइ बिस्तारै सबै कुरा बेलिविस्तार लगाएपछि– निक्कै चनाखो हुनु भएको छ। आशा गर्छु– उहाँको चिनी राम्रो नियन्त्रण हुनेछ र मुटुको समस्या बढ्ने छैन। चिनीले मुटुमा मात्र असर पार्दैन– मिर्गौला, रक्तनली, आँखा, खुट्टा, मस्तिष्कमा पनि खराब असर पार्न सक्छ।