‘कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी होस्’
शिक्षकपछि अहिले चिकित्सक सडकमा छन्। उनीहरूको एउटै माग छ, ‘कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी होस्।’ चिकित्सक आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्था अस्तव्यस्त छन्। एक वर्षअगाडि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को पहिलो संशोधन गर्दै कार्यस्थलमा सुरक्षा हुनुपर्ने स्वास्थ्यकर्मीहरू
को माग सम्बोधनको प्रयास नभएको पनि होइन। तर, चिकित्सकमाथि कुटपिट वा दुव्र्यवहारको घटना रोकिएन। यसै विषयमा अन्नपूर्णकर्मी रिता थापाले आन्दोलनरत चिकित्सकसँग लिएको प्रतिक्रिया :
डा. कृष्णकुमार गुप्ता,
कुनै पनि स्वस्थ्य संस्थामा डाक्टरले बिनाहस्तक्षेप, भयरहित वातावरणमा काम गर्न पाओस्। शान्ति सुरक्षाको ग्यारेन्टी होस्। हामीले आफ्नो भएभरको बुद्धिविवेक लगाएर बिरामीको सेवा गर्न पाउँ भन्ने हाम्रो माग हो।
पटकपटक ज्यान मार्ने हमला भएपछि हामीले आफूलाई असुरक्षित महसुस गरेर हामी माइतीघर मण्डला आएका हौं। हामीले अस्पतालमा बिरामीलाई सेवासुविधा दिँदै साथीहरूको ड्युटीको सिफ्ट मिलाउँदै सरकारलाई दबाब दिन आएका छौं। हामीले अस्पताल पूर्ण रूपमा ठप्प पार्न मिल्दैन। त्यो जिम्मेवारी हामीले बुझेका छौं।
डा. प्रज्ञान बस्नेत, मेडिकल अफिसर
हामी विभिन्न अस्पताल र स्वस्थ्यचौकीहरूमा सेवासुविधा दिइरहेका छौं। स्वस्थ्यसेवा दिइरहँदा सुरक्षाको अनुभूति गर्न पाएनौं। काम निर्धक्क भएर गर्न पाएनौं। यस्ता घटनाका सम्पूर्ण दोषीहरूलाई कारबाही होस्। हामीलाई पूर्ण सुरक्षाका साथै आफ्नो सेवामा फर्किने वातावरण बन्नुपर्छ।
यो आन्दोलनको उद्देश्य सरकार र राज्यलाई सचेतना गराउने हो। स्वस्थ्यकर्मीमाथि हमला र आक्रमण भइरहेको छ। सरकारले आन्दोलन गरेमात्रै सुन्ने भएको छ। हाम्रो उद्देश्य दोषीलाई कारबाही हुनुपर्छ भन्ने हो। हामी हाम्रो सुरक्षामा नै केन्द्रित छौं।
डा. असीम प्रजापति, स्त्रीरोग विशेषज्ञ, शिक्षण अस्पताल
हामी सबै अस्पतालका मेडिकल डाक्टरहरू चार दिनदेखि यहाँ आन्दोलनमा छौं। हामीले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो। हामीले जनताको सेवा गर्दा, जनताको लागि काम गर्दा उल्टै हामीमाथि कुटपिट हुनु भएन। भयरहित वातावरणमा काम गर्न पाउनुपर्यो। पहिलो र महत्वपूर्ण माग यत्ति हो।
डा. रोशन गैरे, रेडियोलोजी रेजिडेन्ट, शिक्षण अस्पताल
डाक्टरमाथि जुन कुटपिटको घटना भइरहेको छ, त्यसकै विरोधमा हामी जम्मा भएका छौं। यो गम्भीर समस्या पनि हो। यो पेसामा ठूलो मेहनत गरेर स्वास्थ्यकर्मीले बिरामीको सेवा गरिरहेका हुन्छन्। डाक्टरहरूको कोटा लोकसेवामा १५ सयभन्दा कम छ। स्वास्थ्यकर्मीको कम संख्या हुँदा कामको बोझ धेरै छ।
कुनै पनि कुरामा चित्त नबुझे नेपाल मेडिकल काउन्सिलमा आफ्नो गुनासो र मुद्दा दर्ता गर्न मिल्ने व्यवस्था सरकारले गरेको छ। तर, त्यसो नगरेर स्वास्थ्यकर्मी माथि नै हातपात हुँदा पनि सरकार रमिते भएर बसेको छ। यसले गर्दा सिंगो स्वास्थ्यसेवा नै धराशायी भएको छ। अबका दिनमा स्वास्थ्य सेवा धराशायी नहोस् भन्ने हाम्रो चाहना हो।
डा. श्रेष्ठराज घिमिरे, इन्टरनल मेडिसिन, वीर अस्पताल
हामी हाम्रो सुरक्षाको लागि आएका छौं। हाम्रो माग भनेकै सुरक्षा हो। राज्य र जनताले सोच्नुपर्ने कुरा हो। अब हाम्रो पालो आएको हो कि भन्ने डरले हामी यहाँ आएका हौं। शुक्रबार चौथो दिन भइसक्यो। सरकार र जतताले बुभ्mनुपर्ने कुरा हो।
डा. शिखा पाण्डे, नेपाल मेडिकल कलेज, जोरपाटी
हामी उपचार गर्दा सक्दो प्रयास गरिरहेका हुन्छौं। तर, पनि हामीले लापरबाही गर्र्यौं राम्रो उपचार गरेनौं भन्ने आक्षेप हामीमाथि लाग्दै आएको छ। त्यो गर्न मिल्दैन। डाक्टर होस् वा नर्स। कसैमाथि पनि हातपात गरिनु हुँदैन।
हामीले आफ्नो घरपरिवार छोडेर आएर बिरामीलाई सेवा दिइरहेका हुन्छौं। बिरामीलाई केही हुँदा हामीलाई तनाव भइरहेको हुन्छ। यो सेतो कोट भनेको सेवा गर्ने अनुमति जस्तो हो। सरकारले हाम्रो लागि सुरक्षा दिनुपर्छ।
डा. विवेक लामिछाने, मणिपाल शिक्षण अस्पताल, पोखरा
मणिपालमा जुन घटना घटेको थियो, त्यसैको विरोधअन्तर्गतका कार्यक्रमहरू हामीले पोखरामा पनि गर्र्यौं। अहिले काठमाडौंमा आएका छौं। हाम्रो यो आन्दोलनको माग भनेको विगत चार, पाँच महिनायता व्यापक रूपमा हामीमाथि हमला हुँदै आएकोमा त्यो बन्द हुनुपर्यो र चिकित्सकलाई सुरक्षाको प्रत्याभूति हुनुपर्यो भन्ने हो। यसमा एउटा ऐनकानुन नै पारित भएर यस्तो समस्याको स्थायी रूपमा समाधान होस् भन्ने हो।
अधिश पोखरेल, रेजिडेन्ट, मणिपाल अस्पताल, पोखरा
हाम्रो आन्दोलन डाक्टरमाथि हातपात भएको र प्रहरीले पनि कतिपय कुरामा दमन गरेको कारण हो। कानुनमा जेल विथआउट बेल भन्ने छ, तर त्यो पूर्ण रूपमा कार्यान्वयन हुनुपर्यो। हामी यहाँ सरकारलाई झकझक्याउन भेला भएका हौं। जेलसम्बन्धी नियमकानुन बनेको छ। त्यो लागू हुनुपर्छ र डाक्टरले केही गल्ती गरेको छ भने काउन्सिलमा गएर समस्याको समाधान गरिनुपर्छ।