छेडागाडका बालबालिका विद्यालयको पहुँचमा
जाजरकोट : जाजरकोट जिल्लाको छेडागाड नगरपालिका कर्णाली प्रदेशको प्रथम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयन गर्ने नगरपालिका घोषणा भएको छ ।
छेडागाड नगरपालिका प्रमुख रत्न खड्काले शैक्षिक ब्यवस्थापन तथा सुधारका १० बुँदे प्रतिबद्धता सहित छेडागाड नगरपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित भएको नगरपालिका घोषणा गरेका हुन् ।
“हामी सबैको एउटै ईच्छा, बालबालिकाहरुका लागी अनिवार्य तथा निःशुल्क शिक्षा' भन्ने मूल नारासहित विभिन्न कार्यक्रमहरु गरी जाजरकोट जिल्लाको छेडागाड नगरपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा नगर घोषणा गरिएको हो।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ तथा छेडागाड नगरपालिकाको अनिवार्य तथा आधारभूत शिक्षा कार्यान्वयन निर्देशिका २०७७ बमोजिम जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका आधारभूत तह (४ वर्षदेखि १२ वर्षसम्मका) शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना तथा निरन्तरता भएकोले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको नगरप्रमुख खड्काले बताए।
घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले नागरिकका असंख्य आवश्यकताको र समग्र छेडागाडको शैक्षिक, भौतिक लगायतको बिकास गर्नका लागि आफू सदैब प्रतिबद्ध रहेको बताए। अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गर्न सफल भएकोमा नगरपासिलाई मन्त्री सिंहले बधाई तथा शुभकामना दिए।
शिक्षा तथा खेलकुद शाखा प्रमुख दिपक शाहीले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यक्रमले बालबालिकाको विद्यालय छोड्ने दर शून्य बनाउने, कक्षा दोहोर्याउने दर घटाउने, उत्तीर्ण दर बढाउने, टिकाउ दर बढाउने र तह पार गर्ने दर बढाउने, बालअधिकारको सुनिश्चितता गर्ने लगायतका सुचकहरुको सुनिश्चितता हुने उनले बताए। छेडागाडमा विद्यालय बाहिर रहेका २ सय २३ जना बालबालिकालाई शिक्षाको पहुँचमा ल्याएपछि सतप्रतिशत अर्थात १० हजार ४ सय ३० बालबालिका विद्यालयको पहुँचमा पुगेका हुन्