खेलाडीको समस्या बुझौं
नेपाललाई विश्वमा चिनाउने माध्यम हो खेल। नेपाली खेलाडीले मुलुकको नाम विभिन्न देशमा पुगेर चिनाएकै छन्। सीमित स्रोतसाधनमा भए पनि खेलाडीले आफूले सकेको दिएकै छन्। जब नेपाली खेलाडीले कुनै खेलमा जित्छन् अनि केही दिन मात्रै मुलुकमा चर्चा हुने गरेको छ। सरकारले पनि उनीहरूको व्यवस्थापन र हौसला वृद्धिका लागि केही गरेको छैन। खेलाडीका धेरै समस्या छन्। उनीहरूको पनि घर परिवार हुन्छन्। खेल खेलेर मात्रै नेपालमा त्यो धान्न नसकेर नै हो विदेश पलायन हुनुपरेको। यसमा अन्य कारणहरू पनि छन्।
१, देशमा विद्यमान अस्थिरता, रोजगारीको अभाव र अनिश्चित भविष्यका कारण अधिकांश खेलाडीहरू बिदेसिन बाध्य भएका हुन्। देशको अस्थिर राजनीतिक अवस्थाको प्रभाव अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि परेको छ। सरकार आफैं अस्थिर छ।
२, देशमा युवालाई कसरी टिकाउने भन्ने चिन्ता हाम्रा नेताहरूलाई छैन। देशको विद्यमान अवस्था राम्रो नभएपछि बाध्यताले नै उनीहरूले बिदेसिने बाटो रोजेका हुन्। यस्तो अवस्थामा हामीले चाहेर पनि खेलाडी पलायनलाई रोक्न सक्दैनौं।
३, खेलाडीको आर्थिक सवलतासँगै मानसम्मान र इज्जत भयो भने कोही खेलाडी बिदेसिनुपर्ने अवस्था आउँदैन। तर, त्यो अवस्था छैन।
४, खेलाडी रोक्न घरेलु खेलकुदको संरचना बलियो बनाउनुपर्छ। खेलाडीहरू खेलेर आर्थिक रूपमा स्वाबलम्बी हुन र समाजमा मानसम्मान र प्रतिष्ठा पाउने वातावरण जबसम्म आउँदैन, तबसम्म खेलाडी पलायन रोकिँदैन।
५, हाम्रा खेलाडी रहरले कोही पनि विदेश पलायन भएका होइनन्। उनीहरू करले गएका हुन्। स्वदेशमा जीविकोपार्जनको उपाय नदेखेपछि बिदेसिनुको विकल्प पनि त रहँदैन। उनीहरूको जीवनयापन र भविष्य सुरक्षित गर्ने विषयमा सरोकारवाला निकाय गम्भीर हुन जरुरी छ।
(कराते प्रशिक्षकसमेत रहेका श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष हुन्।)