गाउँमै पुगे डाक्टर, सैयौंले लिए सेवा
बर्दिवास : ‘हाम्रो स्वास्थ्य जाँच्न डाक्टरहरू गाउँमै आएर धेरै राम्रो भयो। बाहिर जानु पनि परेन। पैसा पनि लागेन।,’ निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएपछि महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी ललिता महतोले भनिन्, ‘मलाई कहिलेकाहीँ छाती दुख्ने समस्या छ। मुटुको समस्या छ कि भनेर शंका थियो। यहाँ डाक्टरले मुटु ठीक छ भनेपछि ढुक्क भएँ। छातीको लागि औषधि पनि बिना पैसाकै दियो। धेरै खुसी लाग्यो।’
विश्व मुटु दिवसको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (नेपाल हर्ट फाउन्डेसन) महोत्तरीले पशुपतिनगर गाउँमै स्वास्थ्य शिविर लगेको थियो। पशुपतिनगरस्थित जनमुखी आधारभूत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो। त्यहाँ प्रभातफेरी, स्वास्थ्य शिविरलगायत विविध कार्यक्रमहरू गरी हर्ट फाउन्डेसनले विश्व मुटु दिवस मनायो।
त्यहाँ पुगेर ऊँ समाज डेन्टल अस्पताल बर्दिबासका डा. शिखा घिमिरे, शुभस्वस्तिक हस्पिटल बर्दिबासका डा. सुशीलकुमार साह र धिरज साहले गाउँलेको स्वाथ्य परीक्षण गरेका हुन्। मुटु दिवस मनाइएको पशुपतिनगरको उक्त विद्यालयमा अन्नपूर्णकर्मी राजकरण महतोले सामुदायिक विद्यालय रुपान्तरण अभियान चलाइरहेका छन्। पत्रकार महतोको अभियानपछि धेरैजसो संघ–संस्था सो स्कुलमा कार्यक्रमहरू सञ्चालन गर्न अग्रसर देखिएका छन्।
विद्यालय रूपान्तरण अभियानमा इट्टा थप्ने उद्देश्यले नै यसपटक पशुपतिनगरको उक्त विद्यालयमा विभिन्न कार्यक्रमहरू गरेर मुटु दिवस मनाइएको नेपाल ह्ृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखाका सभापति दीपक कार्कीले बताए। शिविर उद्घाटन गर्न विद्यालय पुगेकी महोत्तरीको बर्दिवास नगरपालिकाकी उपप्रमुख तारादेवी महतोले मुटु जोगाउन सबै गम्भीर हुन एकदमै आवश्यक रहेको उल्लेख गरिन्। ‘जसरी गाडीमा इन्जिन सही भएन भने त्यो जहाँ गएर पनि फेल खान्छ। त्यसरी नै हाम्रो शरिरको लागि मुटु एकदमै आवश्यक छ,’ उपप्रमुख महतोले भनिन् ‘मुटु स्वस्थ राख्न हामी गम्भिर हुनैपर्छ। खानपानमा सजगता अपनाउनुपर्छ।’
गाउँसमाजमा महिलाहरू पाठेघरको समस्या लाज मानेर लुकाउन खोज्दा त्यसले ठूलो समस्या निम्त्याउनेप्रति चिन्ता व्यक्त गर्दै उनले गाउँमै आएको शिविरमा चिकित्सक सामु खुलेर आफ्नो समस्या राख्न आग्रह गरिन्। ‘जबसम्म डाक्टरसाबलाई हामी समस्या सुनाउँदैनौं तबसम्म रोगको वास्तविक पहिचान हुँदैन,’ उपप्रमुख महतोले भनिन्।
बर्दिवास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोले सहर केन्द्रित कार्यक्रमलाई गाउँमा पु¥याउने आयोजक तथा सहयोगी संस्थाहरूप्रति कृतज्ञता व्यक्त गरे। उनले गाउँ केन्द्रित शिविरले यहाँका स्थानीयहरूलाई जागरुक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। विद्यालयहरूलाई रुपान्तरण गर्ने अभियानमा जुटेका अभियानीहरूको उनले खुले प्रशंसा गरे। ‘पत्रकार राजकरणजीलाई मुरी मुरी धन्यवाद। उहाँले अभियानै चलाएर शिक्षा क्षेत्रलाई बलियो बनाउने कामको अगुवाई गरिरहनु भएको छ। यसले समाजलाई पनि जिम्मेवार बनाइरहेको पनि मैले महसुस गरेको छु,’ वडाध्यक्ष महतोले भने। विद्यालय रूपान्तरण नभएसम्म समाज रूपान्तरणको कल्पना पनि नसकिने उनको भनाइ छ।
सामुदायिक विद्यालय रूपान्तरण अभियानका अगुवा एवं पत्रकार राजकरण महतोले विद्यालय समुदायको कारखाना भएकाले यसलाई मजबुत बनाउन सबै जुट्नुपर्ने धारणा राखे। विद्यालय राम्रो नभएसम्म स्वास्थ्य, कृषिलगायत कुनै क्षेत्र राम्रो हुन नसक्ने उनले सुनाए। विद्यालय समुदायलाई जोड्ने महत्वपूर्ण माध्यम भएको महतोले बताए। ‘यसै अभियानअन्तर्गत स्वास्थ्य शिक्षा, कृषि शिक्षा सबै शिक्षालाई जोड्नुपर्छ,’ पत्रकार महतोले भने ‘विद्यालय रूपान्तरण अभियान सकारात्मक रूपमा अघि बढिरहेको छ। यो सुखद संकेत हो। सहयोगी सबैप्रति आभार व्यक्त गर्दछु।’
निःशुल्क स्वास्थ्य शिविरमा २२३ जनाले जेनरल सेवा, १५९ जनाले डेन्टल सेवा १५१ जनाले सुगर जाँच, ४६ जनाले इसिजी सेवा लिएको विद्यालय रूपान्तरण अभियानका अभियन्ता अमृतकुमार महतोले जानकारी दिए।