राजनीतिमा गणतन्त्र गाथा
लोकतान्त्रिक गणतन्त्रभित्रै विकास, सुशासन, समृद्धि, सामाजिक न्याय र स्वाधिनताको यात्रा सम्भव छ।
राजनीतिको माछा बजार होस् कि समाजको आलु बजार, अहिले ‘वर्तमान’ चुप लाग्ने र ‘भूत’ फर्किने खुब हौवा चलेको छ। माछा बजारमा कसैले भन्यो– ज्ञानेन्द्र शाहको यो क्रेजले ‘भूतपूर्व राजा’ वर्तमान बन्छ अर्थात् पन्छाइसकिएको राजतन्त्र ब्युँतन्छ। मलाई बडो गाह्रो भयो आफू परियो ‘राजावादी मात्रै होइन, रानीवादी समेत।’ अर्थात् राष्ट्रिय जागृति (रा.जा.) अनि राष्ट्रिय निर्माण (रा. नी.)। थप प्रष्ट पारौं है– म युवराजवादी चैं कदापी होइन, कुनै छाँट पनि छैन।
अरे यार राजा न परे बरु उनलाई कलाकार ‘हैट’ नै उधुम प्यारो लाग्न थालेको छ। भन्दा रहेछन्– त्यो कमल फेरि राजावादी भए छ। त्योभन्दा त यो कलाकार बुद्धि तामाङ कति काइदा छ भन्या कति, उसले ‘हैट ! राजा भनेको राजै हो’ भन्ने संवादले बहुतै आनन्द दिँदोरहेछ। प्रायः ‘कुल मुड’मा हुने ज्ञानेन्द्रलाई उनले मन्दिर दर्शन गरेको बेला देखिएको भीडलाई उदाहरण देखाउँदै ‘पुनः राजा हुने संकेत छ है महाराज’ भनेर उचाल्न खोजेको भेउचैं पाइहाल्दा रहेछन्। ज्ञानेन्द्रलाई थाहा भइसक्यो कि उनको प्रत्यक्ष शासनका प्रधानमन्त्री तुलसी गिरीभन्दा उनकै पिए सुशील कोइराला उत्तम रहेछन्, राजतन्त्रभन्दा लोकतान्त्रिक गणतन्त्र उत्तम जस्तै। उनका दाजु राजा वीरेन्द्रले शुक्रबारे भोजमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई त पञ्चायतको जननी मानिने सूर्यवहादुर थापाभन्दा राष्ट्रभक्तिले ओतप्रोत भएको निष्पृयता र निष्ठाको प्रतीक रहेछन् भनेर अद्र्धप्रशंसा सम्झदा आज लाग्दो हो बुबा हजुरले बीपीलाई त्यसरी गल्हत्याएर जेल नकोच्या भए कम्तीमा आलंकारिक राजतन्त्र चैं रहन्थ्यो कि ? फेरि यी लोकतान्त्रिक गणतन्त्र भनेर बुरुकबुरुक उफ्रिनेहरूले कहिलेकाहीँ तथ्य र तर्कमा कुरा गरे हुने नि (अरे बाबा मेरी कोमलको जन्मजयन्ती फागुन ७ गते प¥यो त प¥यो मैले सारेर मिल्छ र भन्या ?) !
मधेसी, महिला राष्ट्राध्यक्ष बने, दलित, जनजाति अल्पसंख्यकको पालो। तपार्इंलाई लाग्दो हो खुब ‘विद्यादेवी भण्डारीले राजाजस्तै हुन खोजेर हुन्छ र महाराज ! उनी राजा होइनन् ‘हेड अफ दि स्टेट’ हुन्, राष्ट्राध्यक्ष हुन् क्या ! चीन भ्रमणमा राजा वीरेन्द्र र ऐश्वर्य राजकीय सम्मानका साथ समकक्षीसँग भेट्दा पहिलो हात मिलाउनेदेखि सलामी खाँदासमेत राजा ‘हेड अफ दि स्टेट’को हैसियतमा वीरेन्द्र अघि–अघि ऐश्वर्या पछिपछि। अर्ब जनसंख्या भएको चीन र भारतमा विद्यादेवी भण्डारी पहिलो लहरबाटै समकक्षीसँग हात मिलाउँदा, विश्वव्यापी गज्जब सन्देश सञ्चार भएकै हो त। अर्थात् भ्रुणमा रहेको बच्ची प्रथम नागरिक राष्ट्राध्यक्ष, राष्ट्रपति, हेड अफ दि स्टेट बन्न बाटो खुल्यो त।
लोकतन्त्रमा जनताको सर्वाधिक शक्ति, धर्म र मौका भनेकै फेरि पनि निर्वाचन नै हो। त्यहीबेला शासक नेता चुन्ने कि सेवक सरकार चुन्ने ? विवेक प्रयोग गर्ने हैसियतको नागरिक बनाउने दायित्व हामी सबैको हो।
यो चानचुने कुरा हुनै सक्दैन। गणतन्त्र भएकाले कमसेकम देशको कार्यकारी व्यक्ति यही जातको हुनुपर्छ, यही लिंग, यही धर्म मान्ने हुनुपर्छ, यही विचार मान्ने हुनुपर्छ या फलानाकै जेठो छोरो भन्ने त केही छैन नि !‘राजा आउ देश बचाउ रे !’ राजा ल्याउने भनेको त पूर्वतानाशाह ज्ञानेन्द्रलाई नै ल्याउने भन्या हो नि ! अर्थात् ज्ञानेन्द्र पछि पारसलाई ढोगेर रैती बन्न हतार गरिरहेकाहरूको चेतबारे भो धेरै मन्थन नगरौं। ज्ञानेन्द्र, पारस ल्याउने भनेको ठकुरी क्षेत्रीमध्ये पनि गोरखाकै शाह खलकलाई यो देशको शासन अकण्टक चलाउने ठेक्का दिने भनेको हो। अरूले सक्दैनन् भनेको हो। हामीले ज्ञानेन्द्रकालीन शासन नभोगेको हो र ? पञ्चायतको भो कुरै नगरौं, सबै शक्ति राजामा निहित हुँदा पनि जनताको कुनै छोराले ५ वर्षिय कार्यकाल पूरा बिताउन पाएनछन्, १९औं स्थानमा रहेर पनि। २०४७ सालको संविधानले दशौं स्थानमा नेपाली जनतालाई स्थान दिएको कुराभन्दा खास सत्य नेपालको संविधान २०७२ ले जनताका छोराछोरीलाई प्रथम स्थान सुरक्षित गरेको कुरा बुझ्दै जाँदा सबैभन्दा बढी ज्ञानेन्द्रलाई घत परेको छ। मजा आएको छ अरे मैले र गिरीले भन्दा गजबले देश चल्ने बाटो त बन्यो नि !
ज्ञानेन्द्रभन्दा अचाक्ली राजावादीहरूको चुरीफुरी त्यतिन्जेल चलिरहन्छ, जबसम्म राजा बिर्साउने नवमहाराजहरूको राज्यदोहन, रजगज र रवाफ बढ्दै जाने गरिबी र विभेदको ग्राफ बढिरहन्छ। त्यसैले राजावादीभन्दा राष्ट्रिय जागृतिवादी मनपर्छ, रानीवादीभन्दा बढी राष्ट्रिय निर्माणवादी मन पर्छ। बरु म रा.जा.वादी, रा.नी.वादी बन्नुस् भन्छु आफैं हेड अफ दि स्टेट हुने अथाह सम्भावना वोकेको लोकतान्त्रिक गणतन्त्रको बन्ध्याकरण गरेर पिशाचको हैसियतमा मिल्काइएको राजतन्त्रलाई ब्युँताउने घिनौना, जन्मजात राष्ट्र प्रमुख हुने अभियानलाई रामराम भन्नू काँध नथाप्नु भन्छु। पारस नभए पारसको खराउ पूजा गरेर आफैंलाई स्वघोषित निम्न श्रेणीको नागरिक बन्न उद्धतहरूलाई भन्न चाहन्छु– ‘एस, नेप्लिज किङ डिड मोर रङ, लेट्स होप एन्ड सपोर्ट न्यू–सिस्टम एन्ड लिड दि नेसन्स’। यसको मतलब छोटे महाराज, नवमहाराजको जयजयकार गरेर सब ठीकठाक छ भन्ने पक्षमा कोही हुनु हुँदैन। लोकतन्त्रले ज्ञानेन्द्रको त विकल्प हुन्छ भन्ने आँखै अगाडि सन्देश दिइरहेको छ भने छोटे महाराज, नवमहाराजहरूको विकल्प हुन्न भन्ने त कुरै भएन।
दलाली प्रवृत्तिको राजनीतिको जगजगीमा निष्ठा, क्षमता र मूल्यमान्यता सहितको राजनीतिलाई प्रबद्र्धन गरौं। राजनीतिमा मौलाएको दलाली, कालाबजारी, सेटिङबाज, सुदखोर, नातावाद, राष्ट्रघात, बिचौलीयावादको खुलेर खबरदारी गर्नै पर्छ। चाचुने प्रयासले गिज्याउने र गिजोल्नेबाहेक केही हुन्न। राजकाज, शासन, प्रशासनमा सदा हालीमुहाली सदा सत्ताको खराब खेलाडी पाल्ने काम होइन, अब फाल्ने महाअभियानमा जुट्नै पर्छ। भ्रष्टाचारीको भारी बोक्न, बलात्कारी जेलमुक्त गर्न, हत्यारालाई छुटाउन, भ्रष्टाचार गरेर सात पुस्तालाई पोस्न, अकुत सम्पत्ति कमाउन तँछाडमछाड गरिरहेकाहरूलाई देखाइदिनै पर्छ, कात्रोमा गोजी हुन्न पात्रोमा मृत्यु लेखिन्न, जनशक्ति स्थायी शक्ति हो भनेर।
लोकतन्त्रमा जनताको सर्वाधिक शक्ति, धर्म र मौका भनेकै फेरि पनि निर्वाचन नै हो। त्यहीबेला शासक नेता चुन्ने कि सेवक सरकार चुन्ने ? विवेक प्रयोग गर्ने हैसियतको नागरिक बनाउने दायित्व हामी सबैको हो। परम्परागत शक्तिहरू त पकेट भोटलाई बैंक बनाउँदै कारोबार गर्न अग्रणी छन्। यो मैदान पनि उनीहरूकै हो, रेफ्री पनि उनीहरू नै भएको निर्लज्ज खेल कहिलेसम्म हेरिरहने निरीह बनेर ? खप्पर विश्वास प्रणालीलाई कहिलेसम्म स्वीकारीरहने ? त्यसैले जिम्मेवार र जबरजस्त जनमतले मात्रै पदीय आशक्तिको प्रतीक कुर्सीमा बसेरै आर्यघाट यात्राको आराधना गरिरहेका वृद्धतन्त्रका ठेकेदारहरूलाई सेलाउन सकिन्छ। र, बुझाउनै पर्छ कि सबै शासकका शालिक बन्दैनन्, हुलाक टिकटमा छापिन पनि सिन्को नभाँची हुन्न। लोकतान्त्रिक गणतन्त्रभित्रै विकास, सुशासन, समृद्धि, सामाजिक न्याय र स्वाधिनताको यात्रा सम्भव छ। जय जनता जनार्दन !