के हो नेप्से ३० ?
बजारको वास्तविक चित्रण गर्ने इन्डेक्स आउँदै, अन्य कम्पनीको सेयरझैं कारोबार पनि गर्न मिल्ने
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स (सूचकांक) निर्माणको कामलाई तीव्रता दिएको छ। प्रस्तावित नयाँ इन्डेक्सलाई नेप्से ‘नेप्से ३०’ भनेको छ। मापदण्ड पुगेका मध्येबाट उत्कृष्ट ३० कम्पनीको सेयरलाई सामेल गरेर इन्डेक्सको निर्माण हुने भएकाले नयाँ इन्डेक्सलाई ‘नेप्से ३०’ भनिएको छ।
भदौ २५ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले ‘नेप्से ३०’ को सञ्चालन कार्यविधि स्वीकृत गरिसकेको छ। बजार विकासको चरणमा नयाँ कदम मानिएको ‘नेप्से ३०’ प्रति लगानीकर्ता पनि उत्तिकै उत्साहित छन्। ‘सेन्सेटिभ इन्डेक्स’ र ‘सेन्सेटिभ फ्लोट इन्डेक्स’ ल्याएको १५ वर्षपछि ‘नेप्से ३०’ आउन लागेको हो। डेरिभेटिभ औजारको रूपमा समेत कारोबार गर्न सक्ने गरी नेप्से ३० ल्याउन लाएिकाले पनि यसलाई निकै महत्वका साथ हेरिएको छ।
स्टक एक्सचेन्जले मिति २०८० वैशाख २० मा एक सूचना जारी गरी प्रस्तावित नेप्से ३० मा समावेश गरिने स्टकको छनोटका आधार, चयन प्रक्रिया र गणना विधिको मस्यौदा प्रकाशित गरेको थियो जसमा राय सुझाव आएर कार्यविधि पनि बनिसकेको छ। जसअनुसार असोजमै नेप्से ३० लाई लाइभ गर्ने योजना नेप्सेको छ।
नेप्से ३० बाट लगानीकर्ताले मुख्य तीनवटा सुविधा पाउनेछन्। नेप्से ३० ले बजारको वास्तविक अवस्था देखाउनेछ। नेप्से ३० लाई आफैंमा एक धितोपत्र (सेयर)का रूपमा कारोबार गर्न सकिनेछ भने प्यासिभ म्युचुअल फन्डलाई सहयोग गर्ने अनुमान गरिएको छ।
नेप्सेले तत्काललाई बजार मुभमेन्ट हेर्ने गरी मात्रै उक्त इन्डेक्स ल्याउन लागेको हो। तर, यसले भविष्यमा डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन र एक्सचेन्ज ट्रेड फन्ड सञ्चालन गर्न सहयोग गर्नेछ।
अहिले नेप्सेमा विभिन्न ४ वटा परिसूचक र १३ वटा समूहगत उपसूचक छन्। सर्वसाधारण लगानीकर्ताको सबैभन्दा बढी चासो भने नेप्से इन्डेक्समा रहन्छ तर नेप्से इन्डेक्सले सबै कम्पनीको कारोबार प्रतिबिम्बित गर्दैन। यहाँ संस्थापकदेखि फ्रिफ्लोट सबै सेयर राम्रा–नराम्रा, लामो समयदेखि कारोबार नभएका सेयर समेटिन्छन्।
आखिर के हो त नेप्से ३० ?
सेयर बजार परिसूचक दुई आधारमा गरिन्छ, पहिलो मूल्यको आधारमा, दोस्रो पुँजीकरणको आधारमा। मूल्यका आधारमा गणना हुने परिसूचक कम्पनीहरूको मूल्य तलमाथि हुँदा परिवर्तन हुन्छ भने पुँजीकरणका आधारमा गणना हुने परिसूचक बजार पुँजीकरण तलमाथि हुँदा घटबढ हुने गर्छ। नेप्सेले हाल गणना गर्ने ‘नेप्से परिसूचक’ (नेप्से इन्डेक्स) पुँजीकरणमा आधारित परिसूचक हो। नेप्सेले ल्याउन लागेको ‘नेप्से ३०’ पनि पनि सोही आधारमा गणना हुने इन्डेक्स हो। तर, नेप्से ३० गणना गर्दा मापदण्ड पुगेका ३० कम्पनीको मापदण्डमा पर्ने सेयरको मात्र परिसूचक निकालिन्छ। अर्थात् बजारमा किनबेच गर्न मिल्ने (तत्काल कारोबारयोग्य वा फ्रि फ्लोट) सेयरलाई समावेश गरी इन्डेक्स निकालिन्छ।
सूचीकृत कम्पनीमध्ये सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी उत्कृष्ट ३० वटा कम्पनी छनोट हुनेछन्। यी ३० कम्पनीका फ्रि फ्लोट सेयरको पुँजीकरणका आधारमा नेप्से ३० गणना हुनेछ। मापदण्ड नै तोकिएका कारण नेप्से परिसूचक वा नेप्सेले गणना गर्ने अन्य परिसूचकहरू सेन्सिटिभ, फ्लोट वा सेन्सिटभ फ्लोटभभन्दा नेप्से ३० बढी विश्वसनीय हुनेछ।
यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिविम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्स्चेन्ज ट्रेडेड फन्ड सञ्चालन लगायतमा सघाउ पु¥याउने अपेक्षा नेप्सेले राखेको छ। यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुन जान्छ। अर्थात् नेप्सेले भविष्यमा नेप्से ३० लाई अन्य कम्पनीको सेयर किनेझैं कारोबार गर्न मिल्ने औजारका रूपमा विकास गर्ने योजना बनाएको हो।
हालका लागि भने उत्कृष्ट ३० कम्पनीको कारोबारका आधारमा नेप्से इन्डेक्सजस्तै गणना मात्र गरिन्छ। आगामी दिनमा नेप्से ३० लाई इन्डेक्स फन्डका रूपमा पनि कारोबार गर्न सकिन्छ। अर्थात् सेयर बजारमा नेप्से ३० को पनि कारोबार हुनेछ र सेयर मूल्य घटबढ हुँदा लगानीकर्ताले नाफाघाटा भए झैं ‘नेप्से ३०’ मा उतारचढाव आउँदा नेप्से ३० को सेयरबाहकलाई नाफाघाटा हुन्छ। विश्वको धेरै सेयर बजारमा सूचीकृत कम्पनीको सेयरमात्र नभएर नेप्से ३० जस्ता इन्डेक्स फन्डको कारोबार हुन्छ। ‘निफ्टी ५०’, ‘एसएन्डपी ५००’, ‘रुसेल २०००’, ‘डो जोन्स इन्डिस्ट्रिय एभरेज’, ‘नास्दाक कम्पोजिट’ आदि विश्वमा लोकप्रिय इन्डेक्स फन्ड हुन्।
कसरी बनाइन्छ नेप्से ३० इन्डेक्स ?
नेप्सेले तयार पारेको मापदण्डअनुसार छनोट भएका ३० वटा कम्पनीका फ्रिफ्लोट सेयरको बजार पुँजीकरणलाई आधार बजार पुँजीकरणले भाग गरेर १०० ले गुणन गर्दा निस्कने अंकलाई नेप्से ३० भनिनेछ। ती ३० कम्पनीको २०७९ पुस ३० गतेको फ्रि–फ्लोट बजार पुँजीकरणलाई नेप्से ३० को आधार बजार पुँजीकरण मानिनेछ। नेप्से ३० परिसूचकलाई प्रत्येक वर्षको भदौ महिनाको अन्तिम शुक्रबार र फागुन महिनाको अन्तिम शुक्रबार पुनर्समायोजन (रिब्यालेन्सिङ) गरी कम्पनी थप–घट हुनेछ।
नेप्से–३० इन्डेक्सबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबार योग्य उपकरण प्राप्त हुन जान्छ।
प्रस्तावित नेप्से–३० इन्डेक्सको गणना विधि पनि तयार पारिएको छ। प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिसेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा कुल भार (कम्पोजिट वेट) गणना गरिनेछ। सूचीकृत संगठित संस्थाहरूलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत्, उत्पादनमूलक, व्यापार तथा सेवा गरी ६ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरी प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नो समूहमा कुल भार (सेक्टरल कम्पोजिट वेट) गणना गरिनेछ।
यस्तो गणनापछि उच्चतम भार प्राप्त गर्ने संस्थाबाट ८ वटा कम्पनी कम्पनी छनोट गरिनेछ। कुनै समूहमा ८ वटाभन्दा कम संस्था छनोट भएमा सबै संस्थालाई छनोट गरिने जनाइएको छ। यसरी छनौट हुने कम्पनीको संख्या ३० भन्दा बढी भएमा कुल भारमा कम भार भएका कम्पनी हटाइनेछ तर हरेक क्षेत्रगत समूहबाट कम्तीमा एउटा कम्पनीलाई प्रतिनिधित्व गराइनेछ। यस्तै छनौट कम्पनीको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहबाट सूचीकृत सबै कम्पनीको कुल भार गणना गरेर बढी भार भएका कम्पनी थपेर ३० पु¥याइनेछ।
नेप्से ३० मा समावेशका लागि कम्पनी छनौटका आधारहरूः
- प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य (बुक भ्यालु) बढी भएको।
- विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा ३ वर्ष कम्पनी खुद नाफामा रहेको।
- प्रतिसेयर आम्दानी (ईपीएस) चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत र सोही वर्षको वार्षिक मुद्रास्फीति दरभन्दा बढी रहेको।
- कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी रहेको।
- सेयरधनीको संख्या कम्तीमा २०,००० रहेको।
- पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५,००० कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको।
- दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको।
- पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा सेयर कारोबार भएको।