मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी जिज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत श्री विष्णु पुकार श्रेष्ठलाई मंगोलियाको लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्रा. डा. राम स्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ।’