वीरगन्जमा ‘रात्रि बजार’पुन : सुरु हुने, दशैंमा पाँच दिन लगाउने महानगरको तयारी
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले ‘रात्रि बजार’पुनः संचालन गर्ने तयारी गरेको छ। नेपालीहरुको महान पर्व दशैं नजिकिँदै गरेको र मौसमसमेत सुधार हुँदै गएकाले दुई महिनादेखि रोकिएको ‘रात्रि बजार’पुनः संचालन गर्ने तयारी महानगरपालिकाले गरेको हो।
यसअघि हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार गरी दुई दिन मात्र लाग्दै आएको‘रात्रि बजार’महानगरले यस पटक भने ‘रात्रि बजार ५ दिन लगाउने गरि तयारी गरेको छ।
दशैंको पहिलो दिन घटस्थापनाबाट सुरु गर्ने गरि पाँच दिन ‘रात्रि बजार’लगाउने तयारी गरिएको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए। उनले भने, ‘यही असोज २८ गते घटस्थापनाका दिनबाट पुरानो बसपार्कमा सुरु हुने ‘रात्रि बजार’कात्तिक २ गतेसम्म ५ दिन चल्ने गरी लगाउने तयारी थालेका छौँ।’
यस्तै महानगरले भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्जस्थित मुख्य नाका ५ दिनका लागि राति १२ बजेसम्म खुल्ला रहने जनाएको छ। रात्रि बजारमा भारतीय पर्यटक भित्र्याउन वीरगन्ज नाका रातको १२ बजेसम्म खुल्ला रहने मेयर सिंहले बताए।
सामान्यतया नेपाल–भारत सीमा नाका राति १० बजेदेखि बिहान ५ बजेसम्म दुवैतर्फ बन्द हुने गर्दछ। तर रात्री बजार लाग्ने ५ दिन नाका अबेर राति १२ बजेसम्म खुल्ला राख्न महानगरले नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति लिइसकेको छ।
महानगरभित्रको व्यापार व्यवसाय चलायमान बनाउन र पर्यटक भित्र्याउन महानगरले गएको बैशाख महिनादेखि रात्रि बजार लगाउन सुरु गरेको हो। यस पटकको ‘रात्रि बजार’ दशैंका बेला परेकाले आम सर्वसाधारणलाई सहज हुने गरि सहुलियत दरको पसल समेत संचालन गर्ने तयारी महानगरले गरेको छ। त्यसका लागि घरेलु तथा साना उद्योगसँग सहकार्य गरिएको मेयर सिंहले बताए ।
उनका अनुसार दशैं लक्षित रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका गरि दुई सय वटा स्टलहरु राखिनेछ। महानगरले ‘रात्री बजार’सञ्चालनका लागि विभिन्न संघ संस्थासँग समेत सहकार्य गरेको छ।