डब्ल्यूएचओेको क्षेत्रीय निर्देशकमा डा. आचार्यलाई जिताउने पहल

डब्ल्यूएचओेको क्षेत्रीय निर्देशकमा डा. आचार्यलाई जिताउने पहल
डा. शम्भुप्रसाद आचार्य

डब्ल्यूएचओे, संयुक्त राष्ट्रसंघको  विशिष्टीकृत अंग हो। स्वतन्त्रता, समता र अधिकारको संरक्षण गर्ने संस्थामा राजनीतिक हस्तक्षेपको उम्मेदवारीलाई जिताउँदा डब्ल्यूएचओेको साख के होला ? प्रश्न उठेको छ।

काठमाडौं : अचेल निकै व्यस्त छन्, पाल्पा, भुटुका डा. शम्भुप्रसाद आचार्य। नहोऊन् पनि किन ? एक महिनापछि हुन लागेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओे) को दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको चुनावी मैदानमा उनी उत्रिएका छन्।

भारतको नयाँ दिल्लीमा आगामी कात्तिक १४ (अक्टोबर ३१) निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा ६ मत पाएमा उनी निर्वाचित हुने छन्। ‘हाम्रो क्षेत्रको मानवीय स्वास्थ्यका लागि आशावादी हुन सकिने धेरै आधारहरू छन,’ डा. आचार्यले अन्नपूर्णसँग भने, ‘मुख्य कुरा त युवासहितको गतिशील जनसंख्या छ। यो जनसंख्यालाई गतिशील र खुसी जीवन दिनुपर्छ। त्यसका लागि स्वस्थता जरुरी छ।’ 

एक साताअघि उनी प्रधानमन्त्री पुष्पकमल दाहालसँगै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी थिए। डब्ल्यूएचओेका महासचिव डा.टेड्रोससहित विभिन्न देशका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गरेर फर्केका छन्। सोही अवसरमा विभिन्न देशका सरकारका प्रतिनिधिहरूसँग उच्चस्तरको संवाद गरेर समर्थन जुटाउने प्रयास भएकाले उनी आशावादी छन्। डा.आचार्य भन्छन, ‘यो भेटघाट सकारात्मक छ। म उत्साही छुँ।’

प्रधानमन्त्री दाहालसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरत पौड्याललगायतले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा न्युयोर्कमा रहँदा विभिन्न मुलुकका राष्ट्रपतिदेखि प्रतिनिधिसम्मलाई भेटेका थिए। उनीहरूले सोही भेटघाटमा नेपाललाई क्षेत्रीय निर्देशकमा सहयोग गर्न आग्रह गरेका छन्। परराष्ट्रमन्त्री साउदले नेपालको उम्मेदवार डा. आचार्यलाई क्षेत्रीय निर्देशकका रूपमा निर्वाचित गर्नका लागि कूटनीतिक तवरबाट काम भइरहेको जनाएका छन्। प्रधानमन्त्री दाहालले त आचार्यलाई नै साथमा लिएर डब्ल्यूएचओेका प्रमुख टेड्रोस गेब्रेयस्ससँग पनि भेटघाट गरेका छन्।  यसले डब्ल्यूएचओेका क्षेत्रीय ११ सदस्य राष्ट्रमा स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग र सहकार्य गर्ने काम गर्छ। सदस्यमध्ये म्यान्मारले मत दिन नपाउने भएको छ। सैनिक शासनका कारण संयुक्त राष्ट्र संघमा भाग लिन बञ्चित भएको छ। 

त्यसैले निर्वाचनमा १० मत खस्नेछ। डब्ल्यूएचओेको दक्षिण–पूर्वी एसिया क्षेत्रको स्थापना सन् १९४८ मा भएको छ। संगठनमा विश्वभर रहेका ६ वटा क्षेत्रीय कार्यालय छन ्। जसमध्ये दक्षिण पूर्वी एसिया क्षेत्र पनि एक हो। यो क्षेत्रमा विश्वको एक चौथाइभन्दा बढी जनसंख्या छ। यो कार्यालयले यो क्षेत्रका नेपालसहित भारत, बंगलादेश, भुटान, इन्डोनेसिया, माल्दिभ्स, मियान्मार, श्रीलंका, थाइल्यान्ड, उत्तर कोरिया र टिमोर लेस्टेसहित कुल ११ राष्ट्रलाई समेट्छ। यस क्षेत्रको स्वास्थ्य सम्बद्र्धन गर्ने डा. आचार्यको सोंच छ। त्यहीँं सोंच पूरा गर्न क्षेत्रीय निर्देशकमा निर्वाचित हुने उनको लक्ष्य हो।

को हुन्, डा. आचार्य ?

डा. आचार्य दिग्गज जनस्वास्थ्य विशेषज्ञ हुन्। डब्ल्यूएचओे मुख्यालयको उच्च पदमा पुग्ने पहिलो नेपाली हुन्। डा. आचार्यले अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट जनस्वास्थ्य, स्वास्थ्य नीति र वित्तीय नीतिमा पीएचडी गरेका छन्। 

मध्यमवर्गीय परिवारमा जन्मिएका आचार्य आफ्नै बलबुतामा संघर्ष गरी उच्च पदमा पुगेका व्यक्ति हुन्। उनी ४५ मिनेट हिँडेर पाल्पाको कुसुम खोलास्थित भवानी माध्यमिक विद्यालयमा जान्थे। ‘त्यो बेला गाउँमा प्राथमिक स्वास्थ्य संस्था नै थिएन,’ डा. आचार्य स्मरण गर्छन्, ‘सानै उमेरदेखि तल्लो तहमा स्वास्थ्य सेवाको आवश्यकता कस्तो हुनुपर्छ ? भन्ने अनुभव गरेको छुँ।’ डा. आचार्यले परिवार नियोजन संघमा पनि काम गरे। त्यसबेला उनले दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दा छलफल गरी स्वास्थ्य सेवाको आवश्यकता बुझे। यसका कारण पनि उनी समाजको तल्लो तहको स्वास्थ्य आवश्यकताबारे पर्याप्त ज्ञान लिएका छन्। 

हाल डा. आचार्य हाल डब्ल्यूएचओेको मुख्यालय जेनेभास्थित कार्यालयको कन्ट्री स्ट्राटजी एन्ड सपोर्ट विभागको निर्देशकमा कार्यरत छन्। उनीसँग जनस्वास्थ्य क्षेत्रमा ३० वर्षको अनुभव छ। उनले नेपालको जनस्वास्थ्य क्षेत्र र विश्व ब्यांकको जागिर हुँदै तीन दशकअघि डब्ल्यूएचओमा प्रवेश गरेका थिए। सन् १९९२ देखि डब्ल्यूएचओका विभिन्न ओहोदामा रहेर निरन्तर काम गर्दै आएका छन्। हाल उनी उक्त संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयसस मताहत निर्देशकका रूपमा कार्य गरिरहेका छन्। उनले नेतृत्व गरिरहेको कन्ट्री स्ट्रेटेजी एन्ड सपोर्ट विभागले डब्ल्यूएचओको कार्यालय रहेका १५२ वटा देशका लागि रणनीतिहरू बनाउने काम गर्छ। यसका साथै महानिर्देशकहरूलाई विभिन्न मुलुकका स्वास्थ्य परिस्थितिबारे अवगत गराउनेदेखि समन्वयको जिम्मेवारी उनको काँधमा छ। डा. आचार्य नेतृत्वसीप र कूटनीतिक सुझबुझमा पनि अब्बल छन्। डब्ल्यूएचओेको तर्फबाट संयुक्त राष्ट्र संघ र अन्य विभिन्न संघ–संस्थाहरूका उच्चस्तरीय समितिहरूमा पनि सफल नेतृत्व गरेका छन्। उनलाई दुई जना संयुक्त राष्ट्रसंघका महासचिवद्वय बान्कि मुन र एन्टिनियो गुटरेजले यूएन सिस्टम स्टाफ कलेजको बोर्ड अफ गभर्नर्समा पनि नियुक्त गरेका थिए। तीन वर्ष सो पदमा काम गरेको अनुभव छ। 

उनले डब्ल्यूएचओेसँग मिलेर जनस्वास्थ्यको क्षेत्रमा धेरै काम गरिसकेका छन्। लामो समय जनस्वास्थ्यमा देश र विदेशमा काम गरेका आचार्यलाई क्षेत्रीय निर्देशकका लागि अब्बल व्यक्ति मानिन्छन्। सरकारले पनि क्षेत्रीय निर्देशकमा आचार्यलाई जिताउने गरी गृहकार्य गरिरहेको छ। नेपाललाई चार मुलुकहरूले मत दिने प्रतिबद्धता जनाइसकेका छन। थप दुई मतकालागि अन्य सदस्य राष्ट्रसँग कूटनीतिक वार्ता भइरहेको कूटनीतिक स्रोतले जनाएको छ। 

सार्वजनिक मञ्चमा हुने छ बहस

निर्वाचन अघि दुई जना उम्मेदवारबीच सार्वजनिक बहस हुनेछ। त्यसको अहिलेसम्म मिति तय भएको छैन। बहसमा सदस्य राष्ट्रका प्रतिनिधिले जिज्ञासा राख्ने छन्। त्यस बहस दुवै उम्मेदवारका लागि कोसेढुंगा सावित हुने छ। सदस्य राष्ट्रका प्रतिनिधिले कसलाई मतदान गर्ने भन्ने निर्णय गर्ने आधारशीला हुन्। त्यस्तै निर्वाचनको हुनुअघि सदस्य राष्ट्रका हेड अफ डेलिगेसन (स्वास्थ्यमन्त्री)बाट दुवै उम्मेदवारको अन्तर्वार्ता लिइने छ। सार्वजनिक बहस र अन्तर्वार्ताबाट डा. आचार्यको लामो अनुभव र दक्षता प्रस्फुटन हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

१० मतमध्ये नेपाललाई निर्वाचित हुन ६ मत आवश्यक छ। त्यसैका लागि नेपालले गृहकार्य गरिरहेको छ। डा. आचार्यले नेपाल, एसियाका विभिन्न क्षेत्र र विश्वस्तरमा समेत स्वास्थ्य क्षेत्रमा नीति, रणनीति, बहुपक्षीय सहकार्य र अन्तर्राष्ट्रिय रूपमा सुधारका काम गर्दै आइरहेका छन्। यसअघि डब्ल्यूएचओेबाट निर्देशकका रूपमा नेपाललाई सहयोग गर्ने र यूएनको प्रणालीसँग सहकार्य गर्ने काम गरिसकेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले डा. आचार्य नै क्षेत्रीय निर्देशकका लागि उपयुक्त उम्मेदवार जनाएका छन्। उक्त पदमा काम गर्नका लागि वाजेदसँग पर्याप्त अनुभव र विज्ञता नभएको टिप्पणी गरेका छन्। 

भारतको भरोसा 

अहिले क्षेत्रीय निर्देशकमा भारतका डा. पुनम खेत्रपाल सिंह छिन्। नेपालले यसअघि लगातार दुई पटकसम्म भारतलाई निर्वाचित गराउन मत दिएको थियो। अहिले भारतले मत दिन्छ कि दिँदैन त्यो प्रतीक्षाको विषय बनेको छ। नेपालकै सहयोगमा लगातार दुई/दुई पटक भारतले क्षेत्री निर्देशक बन्ने मौका पाएको हो। 

यसअघि भारतको आग्रह नेपालले मानेको थियो। यसपटक नेपाललाई भारतले सहयोग गर्छ भन्नेमा नेपाल विस्वस्त छ। त्यसकालागि अक्टोबर ३० देखि नोभेम्बर २ सम्म हुने क्षेत्रीय समिति बैठकमा कुर्नुपर्ने छ। 

कमजोर प्रतिस्पर्धी 

डा.आचार्यको प्रतिस्पर्धी हुन, बंगलादेशकी साइमा वाजेद। वाजेद बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । उनले क्लिनिकल साइकोलोजीमा एमएस्सी गरेकी छिन्। उनीसँग स्कुल साइकोलोजिस्टको शैक्षिक योग्यता पनि जनस्वास्थ्य क्षेत्रसँग अमिल्दो छ। उनले विगतमा अटिजममा वकालत गर्दै आएकी थिइन्। जनस्वास्थ्य क्षेत्रमा वाजेदको अनुभव सीमित छ। उच्चतहसँगको सहकार्य र नेतृत्वको अनुभव छैन। उनलाई बंगलादेशी विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको थियो। जुन विश्वविद्यालय उनको हजुरबुवाको नाममा स्थापित छ। उनका जनस्वास्थ्य क्षेत्रको पोजिसन मानार्थ हुन्। ती मानार्थ पोजिसन आमाको आडमा पाएको अन्तर्राष्ट्रिय जर्नलले जनाएका छन्। 

छोरी वाजेदलाई जिताउन बंगलादेशी प्रधानमन्त्री हसिना लागिपरेकी छिन्। हरेक कार्यक्रममा छोरीलाई नै लिएर हिँडिरहेकी छन्। भारतले नोभेम्बर दोस्रो साता नयाँदिल्लीमा जी–२० शिखर सम्मेलन गर्दा पनि छोरी वाजेदलाई लिएर पुगेकी थिइन्। विश्वव्यापी शिखर सम्मेलनहरूमा वाजेदको प्रचारलाई लिएर डब्ल्यूएचओको आचार संहिताको उल्लंघन गरेको टिप्पणीसमेत गरिएको छ। 

वाजेदको उम्मेदवारीलाई परिवारवादसँग जोडिएको छ। प्रधानमन्त्रीकै छोरी भएका आधारमा मनोनयन गरिएको र जनस्वास्थ्यका साथै प्रशासनिक अनुभव पर्याप्त नभएको टिप्पणी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरिरहेका छन्। हावर्ड मेडिकल स्कुल (बोस्टन)का ग्लोबल हेल्थ, सोसल मेडिसिनका प्रोफेसर सलमान केशवजी टिप्पणी गरेका छन,‘डब्ल्यूएचओे क्षेत्रीय निर्देशकको रूपमा छनौट गरिएको व्यक्ति चिकित्सा र जनस्वास्थ्यमा उन्नत प्रशिक्षण प्राप्त हुनुपर्छ। नेतृत्वको प्रदर्शनको गरेको अभिलेख हुनुपर्छ।’ वाजेदको उम्मेदवारीले परिवारवाद (नेपोटिजम) लाई प्रश्रय दिने जनस्वास्थ्यविद्को तर्क छ।

‘डब्ल्यूएचओेको प्रतिष्ठा कमजोर हुनु दिनुहुँदैन,’ जनस्वास्थ्यविद्को तर्क छ, ‘राजनीतिको भूमिका आफ्नो ठाउँमा हुन्छ, तर, डब्ल्यूएचओेको क्षेत्रीय निर्देशक हुने व्यक्तिको भूमिका प्राविधिक किसिमको हो।’ शेख हसिनाले छोरीका लागि कडा ढंगले प्रस्तुत भइरहेकी छिन्। द ल्यान्सेट आर्टिकलमा टाल्हाबुर्कीले वाजेदको उम्मेदवारीको प्रश्न उठाएका थिए। सो आर्टिकल बंगलादेशका सहायक प्रोफेसर यासिर अराफातले सामाजिक सञ्जालमा ट्वीट गरेका थिए। त्यसै कारण उनले जागिरबाट हात धुनु परेको छ। हसिना सरकारले उनलाई नोकरीबाट बर्खास्त गरेको छ । 

डब्ल्यूएचओे, संयुक्त राष्ट्रसंघको  विशिष्टीकृत अंग हो। स्वतन्त्रता, समता र अधिकारको संरक्षण गर्ने संस्थामा राजनीतिक हस्तक्षेपको उम्मेदवारीलाई जिताउँदा डब्ल्यूएचओेको साख के होला ? प्रश्न उठेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.