बेपत्ताका श्रीमतीलाई जीवन निर्वाह भत्ता
राजापुर : राजापुर नगरपालिका–५ पहाडीपुरकी भजियाकुमारी थारुनीको आम्दानीको कुनै स्रोत छैन। खेती किसानी गरेर कमाउने उनका पति मोतीलाल थारुलाई द्वन्द्वको बेला ४ कात्तिक २०५९ मा माओवादीको झुटो आरोपमा सुरक्षाकर्मीले बेपत्ता बनाए। अहिलेसम्म पतिको सास र लासबारे अत्तोपत्तो छैन। बेपत्ताकी पत्नीको रूपमा राजापुर नगरपालिकाले उनलाई मासिक दुई हजार रुपैयाँ जीवननिर्वाह भत्ता दिन्छ।
असोजको पहिलो साता अन्नपूर्णकर्मी उनको घरपुग्दा कान्छी बुहारी घरनजिकैको खोलामा हेल्का (महिलाले प्रयोग गर्ने जाल)ले माछा मारिरहेकी थिइन्। उनी तीन वर्षीया नातिनी यभासँग रमाइरहेकी थिइन्। भत्ता के गर्नुहुन्छ त भन्ने जिज्ञासामा उनले भनिन्, ‘पैसाले नुन, खुर्सानी, तेल किन्छु। गाउँघरमा कसैसँग पैसा माग्न परेको छैन। खर्च चलेको छ।’ १३ धुरमा उनको घर छ। बेपत्ताका परिवारलाई सरकारले दिएको रकमबाट उनले १२ धुर जग्गा र सानो घर बनाएकी छन्। उनलाई पति फर्कलान् भन्ने रत्तिभर पनि विश्वास छैन।
राजापुर–५ बर्काजयपुरकी बाँधी थारुले १७ वटा बाख्रा पालेकी छन्। मिल चलाएर घरखर्चको जोहो गर्ने उनका पति वसन्तु चौधरीलाई ३ कात्तिक २०५९ मा नेपाली सेनाले घरबाटै लगेर बेपत्ता बनायो। दुई छोरा र एक छोरी सानै थिए। बच्चा सानै थिए। उनी गर्भवती थिइन्। पतिको खोजीमा धेरै धाइन्। पत्ता लागेन। घरखर्च चलाउन उनले बाख्रापालनलाई साहारा बनाएकी छन्। द्वन्द्वपीडित भनेर राजापुर नगरपालिकाले ५ वटा पाठी दिएको थियो। अहिले त उनको खोरमा १७ बाख्रा छन्। बेपत्ताकी पत्नीका रूपमा नगरपालिकाबाट मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता पनि पाइरहेकी छन्। ‘नेपाल सरकारले भत्ता दिएन। म आफैं दिन्छु भनेर मेयर साबले भन्नुभयो। हामीले पाइरहेका पनि छौं। हाम्रो समस्या बुझेर हाम्रो सरकारले राहत दियो’, उनले राजापुर नगरप्रति कृतज्ञता जनाइन्।
राजापुर–६ विक्रमपुरको खोलाको किनारमा हिरा थारुको घुम्ती पसल छ। पति राजकुमार थारुलाई ३ कात्तिक २०५९ मा सुरक्षाकर्मीले घरबाटै लगेर बेपत्ता बनाएपछि उनले १० हजार रुपैयाँमा घुम्ती पसल किनेर जीवन निर्वाहको थालनी गरिन्। राजापुर नगरपालिकाले उनलाई पनि मासिक दुई हजार रुपैयाँको जीवन निर्वाह भत्ता दिने गरेको छ। स्वरोेजगार बनाउन पाँचवटा बाख्रा पनि दिएको छ। त्यसैले उनी स्थानीय सरकारसँग अलि बढी आशा र भरोसा गर्छिन्।
भजियाकुमारी, बाँधी र हिरा मात्र होइन, राजापुर नगरपालिकाले बेपत्ताका पत्नीलाई मासिक रूपमा दुई हजार रुपैयाँको जीवननिर्वाह भत्ता दिएको छ। १० भदौ २०७९ को कार्यपालिका बैठकबाट पारित भई जीवन निर्वाह भत्ता वितरण कार्यविधि–२०७९ लागू गरेको छ। ‘स्थानीय सरकारले प्रदान गर्ने विगत द्वन्द्वको क्रममा राज्यबाट र विद्रोही पक्षबाट बेपत्ता परिवारका पत्नीहरूलाई अर्को व्यवस्था नभएका एकल महिलाका लागि जीवन निर्वाह भत्ता वितरण गर्न व्यवस्थित, प्रभावकारी र पारदर्शी ढंगले वितरण गर्न र सो को प्रक्रिया निर्धारण गर्न वाञ्छनीय भएकाले कार्यविधि जारी गरिएको प्रस्तावनामा उल्लेख छ।
कार्यविधिअनुसार यो भत्ता सबैले पाउँदैनन्। कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति भएको वा मनोनीत भई बहाल रहेको व्यक्ति, नेपाल सरकार, स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्त भएको संगठित संस्थाबाट नियमित रूपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहेको व्यक्तिले समेत सुविधा पाएको मानिनेछ र यस्ता व्यक्तिले भत्ता पाउने छैनन् भनेर कार्यविधिले स्पष्ट किटान गरेको छ।
राजापुर नगरपालिकाबाट बेपत्ता परिवारलाई मासिक जीविकोपार्जन भत्ता पाउनेमा सबैभन्दा बढी वडा नं. ६ का ६ जना छन्। यो वडाबाट शिवा थारु, हिरा थारु, जनकरानी थारु, लक्ष्मी थरुनी, बेली थारु र गर्भी थरुनीले पाएका छन्। त्यसैगरी १० का ४ जना छन्। देवली थरुनी, गंगाकुमारी थरुनी, लोटनकुमारी चौधरी र फगनी थारुले पाएका छन्। ५ बाट दुई जना (बाँधी चौधरी र भजियाकुमारी थरुनी)ले भत्ता पाएका छन्। २ की रविना चौधरी, वडा नं. ४ की पुनमकुमारी गुप्ता र वडा नं. ९ की कृष्णकुमारी न्यापानेलाई नियमित भत्ता उपलब्ध गराइएको छ। जीवन निर्वाह भत्ता पाउने अधिकांश ४० वर्षभन्दा माथिको उमेर समूहका छन्।