संविधानले सबैका अधिकार समेटेको छ, कार्यान्वयनलाई झक्झकाउनुस् : पूर्वराष्ट्रपति यादव
परासी : पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानले सबैका अधिकारलाई समेटेको बताएका छन् लामो सघर्षपछि बनेको संविधान दक्षिण एसियामै उत्कृष्ट भएको भन्दै उनले कार्यान्वयनका लागि जनताले झक्झकाउनुपर्ने बताए।
नवलपरासीको प्रतापपुर गाउँपालिका-७ सूर्यपुरामा निर्माण गरिएको महामानव बीपी कोइरालाको शालिक अनावरण गर्न सोमबार त्यहाँ पुगेका पूर्वराष्ट्रपति यादवले सो कुरा बताएका हुन्।
‘संविधानले सबै जातजाति, धर्म समुदायका अधिकारलाई समेटेको छ, तर कार्यान्वयन नहुँदा अधिकार छैन जस्तो देखिएको छ, त्यसका लागि चुनावको समयमा सही प्रतिनिधिलाई छनौट गरेर पठाउनुस् र कार्यान्वयनका लागि दबाब दिनुस्,’ उनले भने।
अधिकार पाएनौं भन्नेहरूका लागि संविधानका धारा धारा पल्टाएर पढ्न पनि उनले सुझाव दिए। ‘संविधान पढ्दैनन्, अधिकार पाएनौंमात्र भन्छन्, समाज परिवर्तनसँगै संविधान पनि समयानुकुल परिवर्तन हुन्छ। समयअनुसार समेट्नुपर्ने अधिकारलाई जनप्रतिनिधिमार्फत् संसद्मा आवाज उठाउन लगाउनुस् परिवर्तन हुन्छ,’ पूर्वराष्ट्रपति यादवले भने।
गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा सम्पन्न शालिक अनावरण कार्यक्रममा विभिन्न जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो। गाउँपालिकाको १० लाखको सहयोगमा शालिकसहितका अन्य संरचना निर्माण गरिएको हो।