नेकपा एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह निर्वाचित
वीरेन्द्रनगर : नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा गुलावजंग शाह विजयी भएका छन्। नेकपा एमालेका पार्टी पोलिटब्युरो सदस्यबाट प्रदेश अध्यक्षमा लडेका शाह ३ सय ६९ मतसहित निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २ सय ७ र प्रकाश रोकायाले ४ मत प्राप्त गरे। त्यस्तै उपाध्यक्षमा शाहकै प्यानेलका टेकराज पछाई निर्वाचित भएका छन्। उनले ३ सय ४२ मत प्राप्त गरे। उनीसँगै उपाध्यक्षमा प्रतिस्पर्धा गरेका लालबहादुर महत्तरा १ सय ७६ र दानसिंह परियारले ५९ मत प्राप्त गरे।
त्यस्तै सचिवमा धुर्वकुमार शाही विजयी भएका छन्। उनले ४ सय ६ मत प्राप्त गरे। उनीसँगै सचिवमा प्रतिस्पर्धा गर्ने रुद्रबहादुर शाहीले १ सय ६९ मत प्राप्त गरे। त्यस्तै उप सचिवमा रविन्द्रराज शर्मा र रमेशकुमार शाही विजयी भएका छन्। शर्माले २ सय ९९ र शाहीले २ सय ६६ मत प्राप्त गरे। उनीहरूसँगै उपसचिवमा भिडेका पद्मा खड्का १ सय ५२, उब्जनबहादुर शाही ५६, तेजकुमार बिक ७७, धिरेन्द्रराज गिरी ५२, नारायणकुमार शाह ३५, मेनुका पछाई ९६ र बखतबहादुर भण्डारीले ३३ मत पाए।
कर्णालीमा खासगरी एमाले नेता गुलावजंग शाह पार्टी स्थायी कमिटी सदस्य यामलाल कँडेल समूह र मीनबहादुर शाही पार्टी स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी समूहबाट उम्मेद्वार भएका थिए। निर्वाचन परिणाम आइसकेपछि मुख्य प्रतिस्पर्धामा रहेका नेता मीनबहादुर शाहीले नवनिर्वाचित अध्यक्ष गुलावजंग शाहलाई अँकमाल गरी बधाई दिए।
निर्वाचनअघि पार्टीका केन्द्रीय अध्यक्ष ओलीको सिग्नल पनि शाहीलाई थियो। तर कँडेलले आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गरी शक्ति आर्जन गर्नका लागि निर्वाचनबाटै आफ्नो टिम विजयी गराएको एमाले नेताहरूको भनाइ छ।