चौपट व्यापार
बडादसैं नेपाली समाजको ठूलो हिस्साको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो। त्यसो त आर्थिक हिसाबले पनि महत्त्वपूर्ण अवसर हो। यिनै पर्वको छेकोमा नेपालमा किनमेल र व्यापार व्यवसाय फस्टाउँछ। तसर्थ दसैं सांस्कृतिकमात्रै नभई आर्थिक पर्व पनि हो।
दसैं आउनु भनेको शारदीय घामको रङ छाउनु हो। आकाशमा चंगाहरू उड्न थाल्नु हो अनि खेतमा धान झुल्न थाल्नु पनि हो। अझ बजारमा चहलपहल बढ्नु पनि हो। अनि नयाँनयाँ रङरोगनले घरहरू सिंगारिनु, नयाँ लत्ताकपडाको किनमेल गर्नु दसैंसँग जोडिएका नेपालीका गतिविधि हुन्। तर यसपालिको दसैंको छनक शरद ऋतुको आगमनले दिइसक्दा पनि बजारमा त्यसको छनक देखा परेको छैन। व्यापार व्यवसाय चौपट छ। दसैं लक्ष्य गरेरै व्यवसायीले विदेशबाट समेत सामान आयात गरिसकेका छन्। तर चिन्ता छ– सामान बिक्री होला कि नहोला ?
लत्ताकपडा, रक्सी, खसीबोका, मसला (जिरा/धनियाँ), दाल, चामल, गेडागुडी, खाने तेल, फलफूल, जुत्तादेखि विद्युतीय उपकरणको आयात व्यापक भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। दसैं भनेकै मासु र त्यसका परिकार अनि मरमसलाको खपत धेरै हुने अवसर हो। खसीबोकाको सबैभन्दा बढी किनबेल यही बेला हुन्छ। किसानले खसीबोका बिक्री गरेर नगद भित्र्याउने अवसर पनि हो यो। तर ती खसीबोका बिक्री होलान् कति भन्ने चिन्ता छ।
बजारमा किनमेल नहुनु भनेको उपभोक्तामा क्रयशक्ति घटेको प्रस्ट प्रमाण हो। मन्दीको प्रत्यक्ष दृष्टान्त हो। बजारमा मालवस्तु बिक्री हुनुको साटो पसलहरू बन्द भएका छन्। सटरहरू खालीखाली छन्। भाडामा गएका छैनन्। खपत घटेकै कारण उत्पादनमूलक क्षेत्रको उत्पादन आधाभन्दा बढी घटेको छ।
दसैं लक्ष्य गरेर एक दर्जन वस्तुको आयात ह्वात्तै बढेको देखिन्छ। कपडामात्रै ७ अर्ब १८ करोड ५३ लाख रुपैयाँबराबरका तयारी कपडा आयात भएका छन्। अरू वस्तुहरूको आयात पनि अर्बाैंमा नै छ। तर सुस्त बजारका कारण व्यवसायीलाई चिन्तित बनाएको छ।
बजारलाई चलायमान गराउन सक्ने ठानिएका घरजग्गा किनबेचको अवस्था सुस्त छ। सेयर बजार उकालो लाग्नै सकेको छैन। सरकारले अपेक्षित राजस्व संकलन गर्न सकेको छैन। अनि सरकारले समेत पुँजीगत खर्च गर्न नसक्दा बजारमा पैसा पुग्न सकेको छैन। आर्थिक चक्रलाई नै सक्रिय राख्न नसक्नु सरकारको कमजोरीकै कारण आज बजार शिथिल भएको छ। यसलाई चलायमान बनाउने जुक्ति सरकारले नै निकाल्नु पर्छ। सूक्ष्म अर्थतन्त्रलाई सुस्त बन्न दिनु हुँदैन।