हामी निराश भइहाल्ने अवस्था छैन, पदक आउँछ

हामी निराश भइहाल्ने अवस्था छैन, पदक आउँछ

खेल र समयको हिसाबले हामी मध्यभागमा आइसकेका छौं। अहिलेसम्म पदक प्राप्त भएको छैन। नेपालको आशा मरिसकेको छ कि बाँकी नै छ ?

खेलमा हारजित दुवै हुन्छ। अहिलेसम्म नेपालको प्रदर्शन हेर्ने हो भने मिश्रित रहेको छ। कतिपय खेलमा अपेक्षा गरेभन्दा कमजोर प्रदर्शन पनि भयो। कति खेलमा धेरै राम्रो प्रदर्शन पनि गर्‍यौं। तर, एसियाली खेलकुदअघि भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रदर्शन र एसियाली खेलकुदको प्रदर्शन हेर्ने हो भने नेपालले राम्रो प्रदर्शन गरिरहेको छ।

पहिलेभन्दा राम्रो सुधार गरेको छ। हामी मध्यभागमा मात्रै आएको र नेपालको खेल अझै बाँकी रहेकाले आशा गरौं नेपालले पक्कै पदक ल्याउने छ।

यसको मतलब हामी निराश भइहाल्ने अवस्था छैन ?

एसियाली खेलकुद ओलम्पिकपछिको सबैभन्दा ठूलो प्रतियोगिता हो। जहाँ ओलम्पिक र वल्र्ड च्याम्पियनसिपमा सहभागी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। यो सुखद् पक्ष हो। तर, हामीले कत्तिको तयारी गरेर यहाँ आयौं भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ। रातारातको तयारीले मात्रै पदक जित्न सकिँदैन। १८औं एसियाली खेलकुदपछि हामीले कत्तिको तयारी गर्‍यौं भन्ने प्रश्न महत्वपूर्ण हुन्छ। १८औं एसियाली खेलकुद सकिएलगत्तै हामीले १९औं संस्करणका लागि तयारी गर्न पाएका थियौं ? अवश्य पनि पाएनौं। म सदस्यसचिव भएर आएपछि एक महिनाको अवधिमा २३ वटा खेलको चरणबद्ध छनोट गरेर टिम निर्माण गरिएको थियो। त्यसले निरन्तरता पाउँदै अहिले हामी एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिरहेका छौं।

परिणाममा हेर्ने हो भने त हामीले अझै पदक जित्न सकेका छैनौं। तर, पछिल्लो एक/डेढ वर्षको तयारीले मात्रै यहाँ आएका हांै भन्ने कुरा बिर्सनु हुँदैन। एसियाली खेलकुदमा एक/डेढ वर्षको तयारीले मात्रै पुग्छ त ? भन्ने प्रश्नलाई हामी सबैले मनन गर्नु जरुरी छ। हाम्रो तयारी र काम गर्ने तौरतरिकामा पनि व्यापक हेरफेर गर्नु जरुरी छ। हाम्रा अगाडि अर्को एसियाली खेलकुद आउन तीन वर्ष मात्रै बाँकी छ। त्यसैले यो एसियाली खेलकुद नसकिँदै २०औं

एसियाली खेलकुदको तयारी कसरी गर्ने भन्ने सवाल पनि तेर्सिसकेको छ। 

अर्को कुरा खेलकुदमा सरकारको लगानी पनि निकै कम छ। देशको कुल बजेटको एक प्रतिशत पनि खेलकुदले पाउन सकेको अवस्था छैन। यो अवस्थाबाट हामीले एसियाका पावरहाउस राष्ट्रसँग कसरी प्रतिस्पर्धा गरिरहेका छौं भन्ने कुरा पनि सबैले सोच्नु पर्छ। चीन, जापान, दक्षिण कोरियालगायतका मुलुकले एउटा खेलाडीमा गरेको लगानी जति पनि हामीले समग्र खेलकुदमा लगानी गर्न सकिरहेका छैनौं। यो तीतो यथार्थ हामी सबैका सामु छ। त्यसैले अब खेलकुदमा रणनीतिक लगानी आवश्यक छ। हाम्रा काम गर्ने शैलीमा पनि आमूल रूपमा परिवर्तन गर्न जरुरी छ। 

हामी एसियाली खेलकुदमा किन पदक आएन भनेर कराइरहेका छौं। खेलकुदमा कत्तिको लगानी थियो। हाम्रा खेलाडीले कस्तो अवस्था पार गरेर यहाँ आएका थिए भन्ने कुरा कसैले पनि उठाइरहेका छैनन्। हामीले हाम्रो धरातल बिर्सिने हो भने आगामी दिनमा अझै विकराल अवस्था नआउला भन्न सकिन्न।

तपाईंले आफ्नो प्रतिरक्षाका लागि अपर्याप्त बजेट र तयारीको कुरा गरिरहनु भएको छ। समग्रमा हेर्ने भनेको त पदक नै हो नि होइन ?

भारतमा भएको पहिलो एसियाली खेलकुदबाट यात्रा थालेको नेपालले १०औं संस्करणमा पुगेर मात्रै पदक जितेको थियो। पहिलोदेखि नवौंसम्म हामी खाली हात नै फर्किएका थियौं। जुन खेलले सर्वाधिक पदक दिलाए, ती खेल यस संस्करणमा मात्रै होइन, पहिलेदेखि नै पदकविहीन भइरहेका छन्। त्यसैले मैले के भन्न खोजेको भने उत्कृष्ट पाँचभित्र पर्न सक्नु पनि हाम्रा लागि ठूलो उपलब्धि हो। यति भन्दाभन्दै हामीले पदकको आशा मारेका छैनौं। बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित टोलीलाई मैदान उतार्छौं।

  • रातारातको तयारीले मात्रै पदक जित्न सकिँदैन। १८औं एसियाली खेलकुदपछि हामीले कत्तिाको तयारी गर्‍यौं भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।
  • चीन, जापान, दक्षिण कोरियालगायतका मुलुकले एउटा खेलाडीमा गरेको लगानी जति पनि हामीले समग्र खेलकुदमा लगानी गर्न सकिरहेका छैनौं।
  • पछिल्लो एक/डेढ वर्षको तयारीले मात्रै यहाँ आएका हौं भन्ने कुरा बिर्सनु हुँदैन। 

नेपालले पदक नजितेमा त्यो आलोचनाको सामना गर्न तयार हुनुहुन्छ ?

आलोचना, आत्मालोचना भन्ने प्रक्रिया गतिशील संगठन र व्यक्तिका लागि आवश्यक हुन्छ। मैले १८औं संस्करण सकिएलगत्तै तयारी गर्न पाएँ कि पाइनँ। १९औं एसियाली खेलकुदको मुखमै आएर पछिल्लो एक/डेढ वर्षमा मात्रै समय पाएँ भन्ने महत्वपूर्ण हुन्छ। मैले जति समय पाएको थिएँ। त्यो समयलाई राम्रोसँग सदुपयोग गरेको छु। यसो भनिरहँदा महत्वपूर्ण पक्ष भनेको बजेट हो। हाम्रा लागि छुट्याएको १० करोड बजेट पनि अर्थ मन्त्रालयले गत माघमा रोक्का गरिदियो। यसले हामीलाई धेरै समस्या भयो। बजेटको समस्याका बाबजुद पनि हामीले तयारी भने छाडेनौं। त्यसकै प्रतिफल नेपालले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ। धेरै खेलमा पदकको नजिक पनि पुगेको छ।

पदकका सन्दर्भमा भन्ने हो भने हिजोदेखिकै परम्परागत प्रशिक्षणको तयारीका कारण अहिले यो अवस्था आएको हो। लगानी नै नगरी प्रतिफल खोज्नु कत्तिको उपयुक्त हुन्छ ? त्यसैले अब खेलकुदमा लगानी बढाउनुपर्छ। यसो भयो भने मात्रै आगामी संस्करणमा पदकका लागि अहिलेजस्तो तड्पिनु पर्दैन। जहाँसम्म नेपालको तयारीको सन्दर्भ छ, मैले पाएको समयको पूर्णरूपमा सदुपयोग गरेको छु। तर, त्यो समय अत्यन्त कम थियो।हामीसँग बजेट पर्याप्त थिएन। तयारीको समय पनि कम थियो भनिरहँदा २९ वटा खेलमा 

किन सहभागी भयौं भन्ने प्रश्न पनि त उठ्न सक्छ नि होइन ?

राष्ट्रिय खेलकुदपछि हाम्रा खेलाडीले खेल्ने प्रतियोगिता कुन हो ? विभिन्न कारणले दक्षिण एसियाली खेलकुद आयोजना हुन सकेको छैन। दक्षिण एसियाली राष्ट्रको आर्थिक स्थिति, देशहरूबीचको राजनीतिक सम्बन्ध र आन्तरिक परिस्थितिका कारण दक्षिण एसियाली खेलकुद समयमै भइराखेको छैन।

त्यसैले राष्ट्रिय प्रतियोगितामा खेलेका उत्कृष्ट खेलाडीले खेल्ने प्रतियोगिता नै एसियाली खेलकुद हो। हामी एकातिर खेलाडी पलायनको विषय उठाइरहेका छौं भने अर्कोतिर एउटै प्रतियोगितामा किन यति धेरै सहभागिता हुनुपर्‍यो भनेर पनि प्रश्न पनि गरिरहेका छौं। खेलाडीले खेल्ने वातावरण नभएपछि उनीहरूले पलायनको बाटो रोजेका हुन्। उनीहरूलाई रोक्ने एउटा ठूलो प्लेटफर्म एसियाली खेलकुद हो। एसियाली खेलकुद भनेको खेलाडीको पनि ड्रिम प्रतियोगिता हो। उसको सपनाको प्रतियोगिता हो। त्यसैले धेरै खेल भयो, खेलाडी धेरै ल्याइयो भनेर म मान्दिनँ। 

बु्रनाइजस्तो सम्पन्न राष्ट्रले थोरै मात्र खेलाडी सहभागी गराइराख्दा हामीले चाहिँ २५३ जना ल्याउनु पर्ने आवश्यक थियो त ?

पदकको सम्भावना भएका खेलको वैदेशिक प्रशिक्षण पनि गरेकै हौं। विदेशी प्रशिक्षक पनि ल्याएकै हौं। यति गर्दागर्दै पनि पदक जित्न सकिरहेका छैनौं।अबको महत्वपूर्ण प्रश्न भनेको उमेर समूहदेखि अर्थात् जगबाटै खेलाडी उत्पादन गर्न, प्रतियोगिताबाट छानिएका खेलाडीलाई नियमित रूपमा प्रशिक्षणमा राख्न र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन सकेनौं भने त्यसको केही महत्व हुँदैन।

हामीले ग्रासरुटदेखि नै प्रतियोगिता गर्ने, उनीहरूलाई वैदेशिक प्रतियोगिता र प्रशिक्षणमा सहभागिता गराउने काम गर्नुपर्छ। हामीले जति कुरा गरे पनि अन्तिममा ठोकिने अर्थमै हो। खेलकुदमा अप्रर्याप्त बजेट नभएका कारण हामीले नियमित रूपमा प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्न सकिरहेका छैनौं। विदेशी प्रशिक्षक ल्याउन र विदेशमा प्रशिक्षण गराउन पनि पाइराखेका छैनौं। 

एउटा एसियाली खेलकुददेखि अर्को एसियाली खेलकुद आउन चार वर्षको समय लाग्छ। अझ यसपटक त पाँच वर्षको समय थियो। पाँच वर्षको समयमध्ये हामीले डेढ वर्ष मात्रै प्रशिक्षण गर्न पाएका छौं। १८औं एसियाली खेलकुदपछि १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना भयो। त्यसपछि कोरोना सुरु भयो र हाम्रो सम्पूर्ण खेलकुद ठप्प भयो। अरू देशले कोरोना कालमा झन् कडा प्रशिक्षण गरे। त्यही प्रशिक्षणले खेलाडीहरू खारिए। तर, हाम्रो अवस्था फरक भयो। झन्डै तीन वर्षको समयमा केही एकाधबाहेक अरू खेलको तालिम र प्रशिक्षण ठप्प भयो। समग्र खेलकुद नै मृत अवस्थामा पुग्यो। त्यसैको नकारात्मक असर अहिले हामीले भोगिरहेका छौं। त्यो समयमा तत्कालीन नेतृत्वले यो कुरा बुझेको भए पदकका लागि यसरी तड्पिनु पर्ने अवस्था आउने थिएन।

एसियाली खेलकुदमा सहभागी खेललाई लिएर पनि धेरै चर्चा भएको छ। यसलाई कसरी हेर्नु भएको छ ?

हिजोका दिनमा जुन खेलले पदक ल्याइरहेका थिए, ती खेलको हालत अहिले कस्तो भएको छ, त्यो कुरा तपाईंहरूलाई थाहै छ। पुराना खेललाई पनि एकैपटक छोड्नु हुँदैन र सम्भावना भएका खेललाई पनि प्राथमिकतामा राख्नुपर्छ भनेर नै १९औं एसियाली खेलकुदमा २९ खेल समावेश गरिएको हो। रग्बीमा धेरै गोल खायो भनेर अहिले प्रश्न उठाउने काम भएको छ। 

खेलको नियम नै नबुझेर पनि उनीहरूले प्रश्न उठाउने काम गरिरहेका छन्। रग्बीमा एक स्कोर भनेको सात अंक हुन्छ। एक ट्राईको पाँच अंक र एक कन्भर्जनको दुई अंक हुन्छ। फुटबलमा जस्तो एक गोलको एक अंक रग्बीमा हुँदैन। यहाँ त नियम नै नबुझिकन प्रश्न उठाउने काम भइरहेको छ। 

प्रस्तुति : विष्णु थापा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.