भूकम्पबाट सदरमुकाम चैनपुरमा मात्रै २० घर भत्कियो
बझाङ : जिल्लामै केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा सदरमुकाम चैनपुरमा मात्रै २० घरमा क्षति पुगेको छ। स्थानीय प्रशासनका अनुसार मानवीय क्षति नभए पनि २० घर भत्किएका छन्।
बझाङमा १२ वटै पालिकामा पुराना तथा कच्ची घर र केही विद्यालयमा समेत क्षति पुगेको छ। भूकम्पबाट त्रसित स्थानीहरू सडक र खुला चौरमा बसेका छन्। भूकम्पका कारण विद्युत अवरोध भएको छ भने राजमार्गमासमेत पहिरो गएको प्रहरीले जनाएको छ।
टिमुर टिप्न लेक गएका मनमती धामी पहिरोमा परेर बेपत्ता भएको स्थानीयहरूले प्रहरीलाई खबर गरेका छन्।
त्यस्तै जयपृथ्वी नगरपालिकाको जालपा मावि र सत्यवादी माविका ५ जना विद्यार्थी घाइते भई जिल्ला अस्पतालमा भर्ना भएका छन्। भूकम्पका कारण स्कुलमा भागदौड मच्चिएको थियो।
त्यस्तै बझाङ जिल्ला अस्पतालमा भूकम्पको त्रासले सुत्केरीलाई बाहिर प्रांगणमा ल्याएर सुत्केरी गराइएको छ भने जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगरमा काम गरिरहेका २ जना श्रमिक गम्भीर घाइते भएका छन्। पराकम्पन आउने क्रम जारी छ।