स्थानीय तहमा भ्रष्टाचारको दुर्गन्ध

स्थानीय तहमा भ्रष्टाचारको दुर्गन्ध
सुन्नुहोस्

संघीयता कार्यान्वयनसँगै स्थानीय तह बनेपछि गाउँगाउँमा सिंहदरबारको नारा लगाइयो । तर, सिंहदरबारसँगै त्यसभित्र रहेका विकृति र बेथिति पनि स्थानीय तहसम्म पुगेको तथ्यांक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले देखाएको छ । ३३औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहविरुद्ध सबैभन्दा धेरै उजुरी आएका थिए । उजुरीमात्रै होइन, भ्रष्टाचारका मुद्दा पनि त्यहाँ नै धेरै छन् । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा ठूलो संख्या जनप्रतिनिधि रहेका छन् । एक वर्षभित्रै ७ सय ६६ प्रतिवादीमध्ये २ सय ९ जना त जनप्रतिनिधिमात्रै छन् ।

तथ्यांकले दोस्रो कार्यकालको प्रारम्भमा रहेको स्थानीय तहहरू भ्रष्टाचारको दुर्गन्धले गन्हाउन थालेको पाइन्छ । स्थानीय निकायमा योजना छनोट गर्दा आवश्यकता र प्राथमिकताभन्दा जनप्रतिनिधि आफन्त र कार्यकर्तामुखी भए । जसका कारण भ्रष्टाचारको जालो बढ्दै गएको हो । तहहरूमा अनावश्यक सामग्री खरिद र सीधै व्यापारीसँग सामग्री खरिद हुँदा नजानिँदो किसिमले भ्रष्टाचार र अनुचित कार्य हुने गरेको खुलेको हो । योजनामै कमिसनको खेल हुने गरेको पाइएको छ । योजनाको कामअघि बढाउँदा पहिल्यै कम मूल्यमा सम्पन्न हुने कामको लागत इस्टिमेटको पनि बढाइएको हुन्छ । शतप्रतिशत काम नहुँदै कार्यसम्पन्न प्रतिवेदन तयार बनाइनुले कामको गुणस्तर स्पष्ट हुन्छ । अझ यसरी रकम बचाउने र बाँड्ने खेल हुने गरेको देखिन्छ । यी कार्यमा उपभोक्ता समितिदेखि कर्मचारी र जनप्रतिनिधिको पनि मिलेमतो हुने गरेको छ ।

राजस्व संकलनमा पनि व्यापक अनियमितता र हिनामिना हुने गरेको छ । साथै कर्मचारीले जिम्मेवारी पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने, झूटा सूचना वा आश्वासन दिनेजस्ता कामगरी सेवाग्राहीलाई सास्ती दिएर पनि भ्रष्टाचारको वातावरण बनाउँछन् । जनप्रतिनिधिको मनोमानी र सेवासुविधाको नाममा पनि भ्रष्टाचार मौलाएको छ । उसो त प्रदेश र संघ सरकार पनि चोखो छैन । तीनै तहको सरकारमा व्याप्त भ्रष्टाचार नियन्त्रण अहिलको चुनौती हो ।

भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्व, प्रशासनिक संयन्त्र, नागरिक समाज, सामाजिक संघसंस्था र सम्बद्ध सबै सरोकार निकाय सक्रिय हुन जरुरी छ । यसका लागि नीतिगत सुधार र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । आमनागरिक समेत उत्तिकै सचेत हुन र सक्रियता देखाउन जरुरी छ । अन्यथा लगामबिनाको घोडा बन्दै गएको स्थानीय तहहरू अनियमितता र भ्रष्टाचार जालोले घेरिने छन् । अनि त सुशासनको नारालाई गिज्याउनेमात्रै होइन, देश नै आर्थिक रूपमा निकै कमजोर हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.