अनुकूल मौसमसँगै मुक्तिनाथमा बढे दर्शनार्थी
जोमसोम : हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा श्रद्धालु भक्तजनहरूको ओइरो लाग्न थालेको छ। सोह्रश्राद्ध गर्न तथा अनुकूल मौसमका कारण मुक्तिनाथमा श्रद्धालु भक्तजनहरूको घुइँचो बढेको हो।
मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा दर्शनार्थीहरूको घुइँचो बढेपछि मन्दिर व्यवस्थापन समितिलार्ई दर्शनार्थी सहजीकरणमासमेत हम्मेहम्मे परेको छ। मुक्तिनाथमा विशेष गरी असोज सुरु भएसँगै धार्मिक पर्यटक भित्रिने क्रम बढेको हो। बर्खायामको मौसमसँगै बेनी—जोमसोम सडक सहज हुन थालेपछि भारतीय पर्यटक मुक्तिनाथ आउन थालेका हुन् भने आन्तरिक नेपाली दर्शनार्थीहरू दसैंअघिको सोह्रश्राद्ध सुरु भएलगत्तै मुक्तिनाथ दर्शन गर्न आउने क्रम ह्वात्तै वृद्धि भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए। समितिका कर्मचारी सुवेदीले स्वदेशी दर्शनार्थीभन्दा भारतीय दर्शनार्थी ५ गुणा बढी मुक्तिनाथ दर्शन गर्न आएको बताए। उनले समितिको आन्तरिक व्यवस्थापन, कर्मचारी र सुरक्षा निकायको टोलीले दर्शनार्थीहरूलार्ई धेरै भन्दा धेरै सुविधा दिने प्रयास गरिएको उल्लेख गरे।
असोज महिना सुरु भएसँगै मुक्तिनाथमा दैनिक एक हजारभन्दा बढी दर्शनार्थी मुक्तिनाथको दर्शन गर्न आउने गरेको बताइएको छ। राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक सहज हुँदै गइरहेको र सोह्रश्राद्ध तिथि सुरु भइसकेकाले मुस्ताङमा यतिबेला धार्मिक दशनार्थीहरूको ओइरोले गुल्जार बनेको छ। विशेष गरी भारतीय पर्यटकहरू पोखरा—जोमसोम हवार्ईमार्ग र बेनी—जोमसोम सडकमार्ग हुँदै मुक्तिनाथ दर्शन गर्न आउने क्रम बढेको हो। सोमबार मात्रै भारतीयसहित ५ देशका एकै टोलीका करिब ७ सय दर्शनार्थीले मुक्तिनाथ दर्शन र त्यहाँ अवस्थित स्वामी नारायणको पूजाआजा गरे। सन् २०२३ को एकसाता अघिको एक्याप चेकपोस्टको तथ्यांकमा ५६ हजार बढी विदेशी पर्यटक मुस्ताङ आएकोमा सार्क देशका ५१ हजार ५६४ जना धार्मिक पर्यटक मुस्ताङ आएका थिए। जसमध्ये अधिकांश भारतीय पर्यटक रहेको जनाइएको छ। पछिल्लो अनुमानित तथ्यांकअनुसार हालसम्म झन्डै ५५ हजार भारतीय दर्शनार्थीले मुक्तिनाथ मन्दिरको दर्शन गरी सकेका छन्।
भारत गुजरातस्थित स्वामी नारायण संस्थाको प्रतिनिधित्व गर्दै मुक्तिनाथ दर्शन गर्न आएका क्यानाडाका दर्शनार्थी धर्मेस पटेलले गुजरात हुँदै मुक्तिनाथ दर्शन गर्न ६४० जनाको टोली मुस्ताङ आएको जानकारी दिए। उनले संस्थाअन्तर्गत विभिन्न देशका दर्शनार्थी मुक्तिनाथ आएको र यहाँँ आएर दर्शन गर्न पाउँदा रमाइलो अनुभूति भएको सुनाए।
आसन्न बडादसैं पर्व तथा सोह्रश्राद्ध तिथि सुरु भएसँगै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा दिवंगत पितृहरूको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्ने धार्मिक तिर्थालुहरूको घुइँचो लागेको छ। पितृ उद्धारका लागि प्रसिद्ध मानिएको धार्मिक तीर्थस्थल कागबेनीमा श्राद्ध गरी स्वदेशी दर्शनार्थीहरू मुक्तिनाथ दर्शन गर्न उकालो उक्लिन्छन्। सोह्रश्राद्धका लागि कागबेनीमासमेत दर्शनार्थीहरूको चहल पहल बढेको बताइएको छ। अनुकूल मौसमसँगै सोह्रश्राद्ध सुरु भइसकेकाले मुस्ताङका पर्यटकलक्षित होटलहरू भरिभराउ हुन थालेका छन्। कोरोना कहरका कारण आहत बनेका मुस्ताङका पर्यटन व्यवसायी धार्मिक दर्शनार्थीहरू मुक्तिनाथ दर्शन गर्न आउन थालेपछि उत्साहित बनेका छन्।
धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा एकजना पुजारी र मुक्तिनाथ विकास समितिका चन्दा संकलन गर्ने कर्मचारी, सरसफाइकर्मी र सुरक्षाकर्मीको व्यवस्थापन गरिएको छ। मन्दिरको मूल ढोका खोल्ने र बन्द गर्ने त्यहाँँका आनी झुमाहरूले गर्छन्। मन्दिर भित्र चढाइएको भेटी पनि त्यहाँँ कार्यरत आनी झुमाहरूले नै संकलन गर्छन्। मुक्तिनाथको १०८ धारामा स्नान गरी दर्शनार्थीहरूले मुक्तिनाथको दर्शन गर्छन्। मुक्तिनाथ मन्दिर बिहान ६ बजे खुल्ला हुन्छ भने दिउँसो १२ बजेदेखि १ बजेसम्म बन्द हुन्छ। त्यसपछि साँझ ५ बजेसम्म खुला रहन्छ।
सिन्धुलीदेखि मुक्तिनाथ दर्शन गर्न मुक्तिनाथ गर्न आएका धार्मिक दर्शनार्थी ईन्द्रबहादर मगरले मुक्तिनाथ दर्शन गर्न आउने क्रममा उत्तरी कोरलानाका समेतको भ्रमण गरेको बताए। कागबेनीमा पितृ उद्धारका लागि श्राद्ध गरी मुक्तिनाथ दर्शन गर्न पाउँदा आफूहरूलार्ई रमाइलो अनुभूति भएको सुनाए। सडकको केही असहजता भए पनि मुक्तिनाथ यात्रा सुखद् र अविस्मरणीय रहेको उनले बताए। मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने तिर्थालु दर्शनार्थी बढेसँगै मुस्ताङ भित्रिने सवारीसाधनको लर्को लागेको छ। मुक्तिनाथमा दर्शनार्थी लिएर आएका सवारी साधनले मुक्तिनाथको रानीपौवा बसपार्कको पार्किङ भरिन थालेको हो। मुक्तिनाथ आएका दर्शनार्थीका लागि स्थानीयले घोडा चढाएर पनि सेवा दिएका छन्।