लगानीकर्ता आफैं पनि सचेत हुने कि  !

लगानीकर्ता सप्ताह

लगानीकर्ता आफैं पनि सचेत हुने कि  !
सांकेतिक तस्बिर।

काठमाडौं : अहिले देशभर विभिन्न कार्यक्रम गरी लगानीकर्ता सप्ताह मनाइँदै छ। धितोपत्र नियमनकर्ताहरूको अन्तर्राष्ट्रिय संगठन (आईओएससीओ)को आह्वानमा विश्वभर मनाइँदै गरिएको सप्ताहको नेतृत्व नेपालमा नेपाल धितोपत्र बोर्डले गरिरहेको छ। बोर्ड नेपाली धितोपत्र बजारको नियामक निकाय हो।

आईओएससीओले अक्टोबर २ देखि ८ सम्म लगानीकर्ता सप्ताह मनाउन आह्वान गरेको हो। नेपालमा पनि लगानीकर्ताको शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्तालाई सशक्तीकरण गर्ने उद्देश्यले देशव्यापी रूपमा असोज १५ देखि २१ सम्म साताव्यापी विविध कार्यक्रमहरू आयोजना गरी विश्व लगानीकर्ता सप्ताह मनाइँदै छ। यो सप्ताहमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई लगानी शिक्षा, सचेतनालगायत बजार विकास तथा सुधारका विविध पक्षका सम्बन्धमा देशव्यापीरूपमा लगानीकर्ताको शिक्षा तथा सचेतना अभिवृद्धि हुनेछ।

बोर्डले नेतृत्व गरेको कार्यक्रममा नेपाल स्टक एक्स्चेन्ज, सीडीएसी, ब्रोकरहरूले पनि साथ दिएका छन्।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आईओएससीओको आह्वानमा हरेक वर्ष संसारको एक सयभन्दा देशमा लगानीकर्ता सप्ताह मनाइन्छ। कार्यक्रमको मुख्य उद्देश्य लगानीकर्ता संरक्षण र वित्तीय साक्षरता अभिवृद्धि हो। यस वर्षको विषय दिगो वित्तीयकरण रहेको उनको भनाइ छ।

‘नेपालसँगै विश्वभर सोमबार लगानीकर्ता सप्ताह सुरु भएको छ,’ अध्यक्ष हमालले भने, ‘विभिन्न देशले आफ्नो वित्तीय साक्षरता स्तरअुनसार कार्यक्रम तय गरेको हुन्छ।’

हमालका अनुसार बोर्डले लगानीकर्ता संरक्षणका लागि बोर्डले विभिन्न प्रोटोकल ल्याएको छ। लगानीकर्ता सप्ताहकै क्रममा बोर्डले नेपाल उद्योग वाणिज्य महासंघसँग एक सम्झौतापत्रमा हस्ताक्षर गर्दैछ जसअन्तर्गत महासंघको सञ्जालमार्फत व्यवसायीस्तरमा वित्तीय साक्षरतामा उल्लेख्य वृद्धि हुनेछ। ‘स्रोत हामीले उपलब्ध गराउने र कार्यक्रम आयोजना महासंघले गर्नेछ,’ उनले भने।

यसअघि विश्व लगानीकर्ता सप्ताहको उद्घाटनको क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ता शिक्षा र गुनासो सुनुवाइका लागि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबट उद्घाटन गरे। च्याटबोटले धितोपत्र बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्म प्रदान गर्दछ।

लगानीकर्ताको सशक्तीकरण गर्ने उद्देश्यले आईओएससीओले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाउँदै आएको छ। यस अवसरमा आईओएससीओको एसोसियट सदस्य नेपाल धितोपत्र बोर्ड तथा पुँजी बजार सम्बन्ध अन्य पक्षहरूले पनि निरन्तर रूपमा लगानीकर्ता लक्षित विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आएको छ। सेयर बजारका विविध विषयमा केन्द्रित रही मनाइने विश्व लगानीकर्ता सप्ताह २०२३ मा बोर्डको अगुवाइमा नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर एसोसियसन, स्टक ब्रोकर एसोसिएसन, क्रेडिट रेटिङ संस्था, स्टक डिलर तथा पीईभीसी कोष व्यवस्थापकसमेतको सहभागिता रहनेछ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्तालाई सचेतना गराउँदै लगानी गर्दा ध्यान दिनुपर्ने विषयहरू जानकारी गराएको छ भने सीडीएससीले सेयर कारोबार गर्दा ध्यान दिनुपर्ने विषय जानकारी गराएको छ।

लगानीकर्ता सप्ताहमा ब्रोकर सक्रिय

सेयर ब्रोकरहरूले विश्व लगानीकर्ता सप्ताहमा व्यापक सक्रियता देखाएका छन्। हाल सञ्चालनमा रहेका पुराना नयाँ ब्रोकरहरूको संगठनले विविध कार्यक्रम गरेर लगानीकर्ता सप्ताहमा योगदान दिइरहेका हुन्।

पुराना ब्रोकरहरूको संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सोमबार लगानीकर्ता सप्ताहको उद्घाटन समारोह सहआयोजना गरेको थियो भने मंगलबार ब्रोकर कम्पनीका वेबसाइट, सामाजिक सञ्जाल तथा अनलाइन मिडियामार्फत सचेतनामूलक सन्देश प्रवाह गरिएको थियो। अक्टोबर २ देखि ७ तारिखसम्म देशका सबै प्रदेशमा एक दर्जन लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले जानकारी दिए।

एसोसिएसनको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम बिर्तामोड, बनेपा, बर्दिबास, भरतपुर, काठमाडौं, वीरगन्ज, बागलुङ, स्याङ्जा, भैरहवा, महेन्द्रनगर र जुम्लामा आयोजना गर्ने कार्यक्रम रहेको सापकोटाले बताए।

यस्तै नयाँ सेयर ब्रोकरहरूको संगठन धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालले पनि विश्व लगानीकर्ता सप्ताहको अवसरमा साताव्यापी कार्यक्रम थालेको छ। काठमाडौंको सरस्वतीनगरस्थित रिलायन्स कलेजबाट सेयर सचेतना तथा तालीम कार्यक्रम सुरु गरिएको हो। सचेतना कार्यक्रम असोज २१ गतेसम्म सञ्चालन हुने एसोसिएसनका अध्यक्ष सागर ढकालले जानकारी दिए।

असोज १७ गते ललितपुरको बालकुमारीमा रहेको क्यातफोर्ड इन्टरनेसनल कलेज, असोज १८ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट र असोज १९ गते पनौतीको पनौती नगरपालिकामा सचेतना तथा तालिम कार्यक्रम आयोजना गर्ने एसोसिएसनको योजना छ।

चौथो दिन तथा असोज २० गते शनिबार बिहान ८ बजेबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको नेतृत्वमा ब्यानर तथा प्लेकार्डसहित भृकुटीमण्डपबाट बसन्तपुर दरबार स्क्वायरसम्म पुगेर भेला हुनेछ। सप्ताहको समापन तथा अन्तरक्रिया कार्यक्रम असोज २१ गते दिउँसो ३ बजे तय गरिएको छ। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल प्रमुख अतिथि तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की तथा सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यको आतिथ्यता रहनेछ।

लगानी गर्दा के के कुरामा ध्यान दिने ?

१. प्रतिकूल परिस्थिति

सचेत लगानीकर्ताले क्रयशक्तिमा मुद्रास्फीतिले पार्ने प्रभावबारे बुझेको हुनुपर्छ। उसलाई लगानीमा प्राप्त हुने वास्तविक प्रतिफल दरबारे जानकारी हुनुपर्छ। निरन्तर मुद्रास्फीतिको वातावरणले विभिन्न किसिमका लागानीमा पार्ने प्रभावको जानकारी तथा विश्लेषण लगानीकर्ताले गर्नुपर्छ। अप्रत्याशित घटनाबाट हुने नोक्सानीबाट बच्नका लागि गरिने लगानी विविधीकरणको महŒवलाई लगानीकर्ताले बुझेको हुनुपर्छ।

लगानीकर्ताले प्रतिकूल अवस्थाका लागि पर्याप्त आपत्कालीन कोषको व्यवस्था गरेको हुनुपर्छ। सबै किसिमका लगानीमा जोखिम हुन्छ भन्ने लगानीकर्ताले बुझेको हुनुपर्छ। जोखिम व्यवस्थापन गर्ने, मुद्रास्फीतिको प्रभाव कम गर्ने र चर्को ब्याजको ऋणबाट बच्ने रणनीति तथा योजना लगानीकर्तासँग हुनुपर्छ।

२. दिगो लगानी 
दीर्घकालीन लगानी तथा लगानी विविधीकरणले प्रतिकूल आर्थिक अवस्था र बजार उतारचढावबाट पार पाउन मद्दत गर्छ। वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार क्षेत्र तथा संस्थामा गरिएको वित्तीय लगानी दिगो हुन्छ भन्ने जानकारी लगानीकर्तालाई हुनुपर्छ।

धितोपत्र निष्कासनकर्ताले प्रकाशित गर्ने विवरणहरूबाट उक्त संस्था वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार हो कि होइन भन्ने थाहा पाउन सकिन्छ। धितोपत्र निष्कासनकर्ता र लगानीकर्ताको लगानी लक्ष्य, उद्देश्य, जोखिम वहन गर्ने क्षमता र प्राथमिकताहरू मेल खान्छ कि खाँदैन विचार गर्नुपर्छ। लगानीको अवसर फरकफरक हुन्छन् त्यसमध्ये आफूलाई कुन उपयुक्त हो लगानीकर्ताले छुट्ट्याउन सक्नुपर्छ।

३. जालसाँजी, अपराध तथा ठगी

लगानीकर्ताले कारोबार गर्ने संस्था इजाजतपत्र प्राप्त हो कि होइन बुझ्नुपर्छ। लगानी गर्नुअघि स्वतन्त्र रूपमा लगानीका अवसरहरूको अनुसन्धान गर्नुपर्छ। छिटो धनी बन्ने, कहिल्यै नोक्सान नहुने, नाफाको ग्यारेन्टी गर्नेहरूको पछि लगानीकर्ता लाग्नु हुँदैन। हतारमा लगानीको निर्णय गर्नु हुँदैन।

अपरिचितले गर्ने फोन, इमेल वा अन्य माध्यमबाट सम्पर्क गर्दा आफ्ना सबै कुरा खुलाउनु हुँदैन। आफ्ना वित्तीय सूचना भएका मोबाइल, कम्प्युटरलगायतका उपकरणमा बलियो गरी पासवर्ड राखेको हुनुपर्छ। सामाजिक सञ्जालमार्फत आउने लगानीका प्रस्तावको पछि लाग्नु हुँदैन। इन्टरनेटमा पाइने कुनै पनि लगानीसम्बन्धी जानकारीको राम्ररी जाँचबुझ गर्नुपर्छ।

४. लगानीका आधारभूत पक्ष 
लगानीकर्ताले दीर्घकालीन, नियमित र लगानी विविधीकरणको फाइदालाई बुझ्नुपर्छ। लगानीकर्ताले आफ्नो भविष्यको आवश्यकता र लक्ष्यअनुसारको लगानी योजना बनाउनुपर्छ। केमा लगानी गर्दैछु ? भन्ने कुरा लगानीकर्ताले बुझेको हुनुपर्छ। कुन क्षेत्रमा लगानी गर्दा कति शुल्क लाग्छ ? त्यसले लगानी प्रतिफलमा कस्तो प्रभाव पार्छ ? लगानीकर्ताले थाहा पाउनुपर्छ।

लगानीका प्रक्रियालगायत लगानीसम्बन्धित विद्यमान ऐन, कानुनलगायतका विषयमा लगानीकर्ता जानकार हुनुपर्छ। लगानीकर्ताले धितोपत्र हस्तान्तरण र रकम भुक्तानी तोकिएको समयमा नै गर्नुपर्छ। बजारमा सुनिने हल्लालाई लगानीको एक मात्र आधार बनाउनु हुँदैन।

५. प्राविधिक पक्ष
वर्तमान द्रुत प्रविधिको लगानी वातावरणमा पनि समय लिएर लगानीसम्बन्धी निर्णय गर्नुपर्छ। वित्तीय लगानीमा डिजिटल प्रविधिको उपयोग गर्दा हुन सक्ने जोखिमहरू के के हुन् थाहा पाउनुपर्छ। लगानीकर्ताले सूचनाको आधिकारिक स्रोत कुन हो ? कुन होइन ? भन्ने छुट्ट्याउन सक्नुपर्छ। द्रुत गतिको प्रविधिको प्रभावमा परेर गर्न सकिने गलत लगानी निर्णयप्रति सधैं सचेत हुनुपर्छ।

लगानीकर्ता संरक्षणका निमित्त नेपाल धितोपत्र बोर्ड सधैं अग्रसर छ। समयक्रममा बजारमा नयाँ औजार ल्याएका छौं। आगामी दिनमा पनि सुधारमूलक कार्यलाई निरन्तरता दिनेछौं। मैले उद्घोष गरिसकेको छु कि निकट भविष्यमै स्वतन्त्र सञ्चालकको योग्यता, रोस्टर र वार्षिक रिपोर्टिङ गर्ने स्ट्यान्डर्ड तयार पार्न समिति निर्माण गरेर काम अघि बढाएका छौं। 

यो कार्य दसैंअघि नै लागू हुनेछ। वास्तविक क्षेत्रलाई नियमन गर्न मुस्किल हुने गरेको छ। उनीहरूले सुशासन कायम कुन स्तरमा गरिरहेका छन् भन्ने पहिचान गर्न सहज छैन जसकारण लगानीकर्ताले कम्पनीको स्तर यकिन गर्न सकिरहेका पनि छैनन्।

बजारको दिगोपनका लागि बोर्डको क्षमताले भ्याएसम्म विभिन्न कार्यक्रम गरिरहेका छौं। लगानीकर्ताले बजारमा राम्रो दिन आउँछन्, सुशासन बढ्नेछ भन्ने विषयमा आश्वस्त हुन जरुरी छ। सेयर बजार विगतका दिनमा फोहोर पोखरी थियो, अब सफा पोखरीमा परिणत हुँदैछ भन्नेमा विश्वस्त हुनुहोस्। अहिले लगानीकर्ताले मौद्रिक नीतिमा समस्या भोगिरहनु भएको छ। त्यसमा पनि सहजीकरण हुनेछ। गत साता नेपाल राष्ट्र बैंकका गभर्नरसँग मैले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाउन सुझाव दिएको छु। गभर्नर सा’बले सकारात्मक रूपमा लिनु भएको छ। राष्ट्र बैंकले यसबारे अध्ययन गरिरहेको सुनेको छु। एक डेढ हप्तामा निकास निस्किन्छ भन्नेमा म आशावादी छु र लगानीकर्तालाई आशावादी हुन अनुरोध गर्दछु।

अर्थतन्त्र नै मन्दीमा रहेका बेला बजारमा अप्ठेरो पर्नु स्वाभाविकै हो। तर, हाम्रो अर्थतन्त्र कमजोर स्थितिबाट माथि उठिसकेको छ। त्यसकारण हामी सकारात्मक हुनुपर्छ भन्ने मेरो सन्देश छ।

सेयर किनबेचमा ध्यान दिनुपर्ने विषय 

  • सेयर किनबेच गरेको पर्सिपल्ट (टी प्लस टुमा) धितोपत्र कारोबारको राफसाफ तथा फस्र्योट हुने भएकोले राफसाफ समयभित्र बिक्री गरेको धितोपत्र तथा खरिद गरेबराबरको रकम निर्धारित समयमा जम्मा गरिसक्नु पर्छ।
  • ईडीआईएस, क्लोजआउट तथा धितोपत्रको भारित औसत लागतबारेः
  • कारोबार गरेको भोलिपल्ट (टी प्लस वान) भित्र ईडीआईएस गरी आफूले बिक्री गरेको धितोपत्र सम्बन्धित ब्रोकरको पुल खातामा जम्मा गरिसक्नु पर्छ।
  • फ्रि ब्यालेन्समात्र बिक्री गर्न मिल्ने हुँदा मेरो सेयरमा फ्रिब्यालेन्स रहेको यकिन गरी बिक्री गर्नुपर्छ। तोकिएको समयभित्र ईडीआईएस गरिसक्नुपर्छ अन्यथा क्लोजआउटबापत २० प्रतिशत जरिबाना तिर्नुपर्छ।
  • पुँजीगत लाभकर गणनाका लागि आफूले बिक्री गरेको धितोपत्र हस्तान्तरण गर्नुअघि भारित औसत लागत तथा सर्टटर्म, लङ्टर्म होल्डिङ गणना गर्नुपर्छ।
  • हितग्राही खाता तथा मेरो सेयर प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ।
  •  मेरो सेयरको युजरनेम र पासवर्डलगायत हितग्राही खातासँग सम्बन्धित विवरण गोप्य राखी सीडीएससीको आधिकारिक प्रणाली मात्र प्रयोग गर्नुपर्छ।
  •  धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ÷एफपीओ)मा एकभन्दा बढी हितग्राही खाताबाट आवेदन दिनु हुँदैन।
  • घरायसी तथा मृत्यु नामसारी गर्दा सम्बन्धित निक्षेप सदस्यमार्फत आवश्यक कागजात रुजु गराई सोही निक्षेप सदस्यमार्फत प्रक्रिया अगाडि बढाउनुपर्छ।
  • सार्वजनिक निष्कासनमा आएका धितोपत्रसम्बन्धी पर्याप्त जानकारी लिई मात्र लगानी गर्नुपर्छ।
  • धितोपत्र कारोबार गर्दा हुने जोखिम लगायत अन्य पर्याप्त जानकारी लिएर मात्र कारोबार गर्नुपर्छ।  
     

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.