कोरलानाकामा मुख्यमन्त्रीसहित प्रदेश सुरक्षा समितिको बैठक
जोमसोम : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको उपस्थितमा मुस्ताङको उत्तरी कोरलानाकामा बुधबार प्रदेश तथा जिल्ला सुरक्षा समन्वयको बैठक बसेको छ। प्रदेश स्तरीय सुरक्षाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थितमा प्रदेश तथा जिल्ला स्तरीय सुरक्षा समन्वयको दुई चरणमा अलग-अलग बैठक बसेको हो।
समन्वय बैठकमा एक चीन नीतिप्रति प्रतिबद्ध भई सीमा सुरक्षा तथा सीमानाकामा अवान्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सजगता अपनाउने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए। सो अवसरमा प्रधानमन्त्रीको चीन भ्रमणसँगै उत्तरी नाकाहरु पुनः सञ्चालन गर्ने मार्ग खुलिसकेकाले त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत बृहत् छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक सापकोटाले उल्लेख गरे।
मुख्यमन्त्री पाण्डेसहितको टोलीमा संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, प्रदेश सांसद विकल शेरचन र प्रदेश सांसद नम्डु गुरुङको विषेश उपस्थिति थियो। यसका अलवा मुख्यमन्त्रीको टोलीमा प्रदेश तथा जिल्ला सुरक्षा निकाय र प्रदेश तथा जिल्लास्थित सरोकारवाला कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो। मंगलबार कागबेनी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी उपल्लो मुस्ताङ प्रस्थान गरेका मुख्यमन्त्री पाण्डेसहितको टोलीले बुधबार कोरलानाकाको स्थलगत निरीक्षण गरेको प्रेस संयोजक सापकोटाले बताए।
मुख्यमन्त्री पाण्डेले कोरलानाकाको भ्रमण सकेपछि सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा पुगेर स्थानीयको समस्या र प्रदेश सरकारबाट सञ्चालित विकास निर्माणका योजनाका विषयमा जनताको आवाज सुन्ने काम भएको प्रेस संयोजक सापकोटाले बताए। प्रदेशका कार्यक्रम र जनसरोकारका विषयमा जानकारी हासिल गर्न मुख्यमन्त्रीसहित प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्षलगायतले स्थानीयबासीसँग अन्तक्रिया गरेका थिए।