जितिया सुरु

जितिया सुरु
सुन्नुहोस्

जनकपुरधाम : 

जितिया पावैन बड भारी, 
धिया पुताके ठोकी सुतोलैन।

अपने खेलैन, भर थारी।।

जितिया पर्वको सन्दर्भमा माथि उल्लेखित यो लोक उखान निकै प्रचलित छ। सन्तानको दीर्घायुका लागि मिथिलाञ्चलमा आमाहरूद्वारा गरिने कठोर व्रत जितिया विधिविधान पूर्वक बिहीबारबाट सुरु भएको छ। 

व्रत अवधिभर पानी पनि नखाई र थुक समेत ननिलेर गरिने यो धार्मिक अनुस्ठान निकै कठोर हुन्छ। आश्विन कृष्ण सप्तमी तिथिका दिन वर्तालु महिलाहरूले नखायखाय अर्थात पवित्र जलाशयमा गएर चोखो भई घिरौंलाको पातमा पीना र तेल राखेर जिमुतवाहन देउतालाई अर्पन गर्छन्। 

यसका साथै यो पर्वको संकल्प लिएर विधिविधान पूर्वक पर्वको प्रक्रियाहरू सुरु हुन्छ। नखाय खायकै दिन व्रत लिने महिलाहरूले कोदोको रोटी र माछा खाने प्रचलन पनि छ। 

सप्तमी तिथिको उत्तरार्धमा वर्तालु महिलाले एकाबिहानै उठेर ‘औंगठन’ गर्ने गर्छिन्। औंगठन भनेको व्रत बस्नुअघि रात्रि पहरमै दही, च्यूरा, लड्डु, मिठाई र केला लगायतका मीठो भोजन ग्रहण गर्नु हो। 

आमाहरूले परिवारका सबै बालबच्चाहरूलाई एकाबिहानै उठाएर औंगठन गराउने चलन पनि छ। सप्तमी तिथि समाप्त हुनु अगावै औंगठन गर्ने काम सम्पन्न भई अष्‍टमी तिथिको आरम्भसँगै कठोर उपवास सुरु हुन्छ। नवमी तिथिको आगमन नहुँदासम्म व्रत खोल्न पाइँदैन। 

तिथिको समयमा हेरफेर हुँदा व्रतालु आमाहरूलाई ३६ घण्टासम्म पनि व्रत बस्नुपर्ने हुन्छ। व्रतका नियमहरू भने सहज छैनन्, ‘व्रत अवधीभरी थुक पनि निल्न पाइँदैन, कुनै पनि अपवित्र सामानहरू छुन पाइँदैन, तरकारी भए पनि वा एति सम्मकी सिन्का पनि भाँच्नु हुँदैन निकै नियमनिष्ठाका साथ बस्नु पर्छ,’ आफ्नो सन्तानको दीर्घायुका लागि करिब २५ वर्षदेखि जितिया मान्दै आएकी जीवन देवी झा भन्छिन्, ‘मिथिलामा यदि कसैको सन्तान ठूलो दुर्घटना वा रोग व्याधीबाट बचेर जीवित भयो भने सबैले भन्ने गर्छन् यसको आमाले पक्कै पनि जितिया मान्ने गरेकी होला त्यही भएर यसको प्राण बच्यो।’
पितृ पक्षमा यो पर्व मनाइने गरिएकाले यसमा मिथिलानीहरूले आफ्नो दिवंगत सासू र आमाको मोक्षका लागि सप्तमी तिथिमै ‘पितराइन’ खुवाउने परम्परा पनि रही आएको छ। 

धर्म शास्त्रका अनुसार महाभारतको युद्धमा जब अश्वस्थामालाई आफ्नो पिता द्रोणाचार्यको मृत्युका सूचना प्राप्त भयो तब पान्डवहरूसँग बदला लिने अभिप्रायले पांडवहरूको शिविरमा घुस्यो। शिविरमा पाँच जना सुतेका थिए। 

अश्वस्थामाले सुतेकाहरूलाई पांडव सम्झेर घाँटी काटि हत्या गर्‍यो। तर, हत्या गरिएकाहरू पांडव नभई तिनका पाँच जना छोराहरू थिए। छोराहरू मारिएपछि अर्जुनले अश्वस्थामालाई बंदी बनाएर उसको टाउकोमा जोडिएको दिव्य मणि निकाले। मणि छिनिएको रिसमा अश्वस्थामाले अभिमन्युको पत्नी उत्तराको गर्भमा रहेको बच्चालाई पनि मारेर पांडव वंशलाइनै निर्मुल बनाउने प्रयास गर्यो। 

तर, भगवान कृष्णले उत्तराको गर्भमै रहेको संतानलाई आफ्नो सबै पुण्यको फल दिएर गर्भमै पुनः जीवित गरिदिए। जन्मेपछि यसै बच्चाको नाम जीवित्पुत्रिका राखियो। पौराणिक कथाहरूका अनुसार सोही बेलादेखि आमाहरू संतान प्राप्ति वा संतानको दीर्घायुका लागि जीवित्पुत्रिका व्रत राख्ने गर्छिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.