मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पनि कर्मचारीको आन्दोलन
जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा स्थानीय सेवामा कार्यरत कर्मचारीले शुक्रबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तयार भई मन्त्रिपरिषदबाट संघीय संसदमा पेस हुने तयारीमा रहेको संघीय निजामती ऐन विरुद्ध असहमति जनाउँदै लोमान्थाङ गाउँपालिकाका कर्मचारीले आन्दोलन सुरु गरेको बताएका छन्।
लोमान्थाङका स्थानीय सेवामा कार्यरत निजामती कर्मचारीले राज्यले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई विभेदपूर्ण रूपमा हक अधिकार कुण्ठित हुने गरी निजामती विधेयक ल्याउन खोजेको भन्दै अतिआवश्यकीय कामकाजबाहेक सबै सेवा बन्द गर्ने निर्णय गर्दै पेन डाउन सुरु गरेको लोमान्थाङ गाउँपालिकाका इन्जिनियर सुरेश घिमिरेले जानकारी दिए।