मुस्ताङमा पहिलोपल्ट कृषि महोत्सव
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा कृषि तथा पर्यटन महोत्सव बिहीबारदेखि सुरु भएको छ। जिल्लाकै कृषि र पर्यटन प्रवद्र्धन र विकास गर्ने उद्देश्यले घरपझोङ गाउँपालिकाले पहिलोपटक ‘कृषि तथा पर्यटन महोत्सव २०८०’ को आयोजना गरेको हो।
महोत्सव शुभारम्भअघि बाजागाजा, विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीसहित मुस्ताङको पुथाङ एयरपोर्टदेखि जिल्ला प्रशासन कार्यालय हुँदै जोमसोमबजार परिक्रमा गर्दै घरपझोङ महोत्सव स्थलसम्म र्याली प्रदर्शन गरिएको थियो। ‘महोत्सव सफल पारौं, कृषि र पर्यटन प्रवद्र्धनमा हातेमालो गरौं’ भन्ने नारासहित निस्किएको र्यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि सहभागिता थियो।
संघीय तथा प्रदेश सांसद, पूर्वसंघीय तथा प्रदेश सांसदहरू, संविधानसभा सदस्यहरू, विभिन्न संघसंस्था, सुरक्षा निकाय, कर्मचारी, विद्यालयका विद्यार्थी तथा शिक्षक, गुम्बाहरूका लामा, नागरिक समाज, पत्रकार र गाउँ समाजका नागरिकलगायतले महोत्सवको र्यालीमा सहभागिता जनाएका थिए। र्याली घरपझोङ गाउँपालिका कार्यालय प्राङ्गणमा पुगेर टुंगिएको थियो।
मुस्ताङकै इतिहासमा पहिलोपटक घरपझोङ गाउँपालिका कृषि तथा पर्यटन महोत्सव सुरु गरिएको हो। महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले उद्घाटन गरे। यसैगरी मुख्यमन्त्री पाण्डेले घरपझोङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन र स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रको दुई वटा भौतिक संरचना अलगअलग रूपमा उद्घाटन गरे। घरपझोङ गाउँपालिकाले ७ करोड ५९ लाख रुपैयाँ लागतमा संघीय तथा प्रदेश सरकारको साझेदारी चारतले प्रशासकीय भवन निर्माण गरेको हो। यसैगरी, गाउँपालिकाले ४८ लाख रुपैयाँ लागतमा तीनतले आपत्कालीन भवन निर्माण गरेको छ।
मुख्यमन्त्री पाण्डेले पर्यटन विकासका लागि मुस्ताङमा केन्द्रित गरी उपल्लो मुस्ताङको किम्लिङमा साहसिक खेल मैदान र वारागुङ मुक्ति क्षेत्र— २ मा पर्वतीय खेल पूर्वाधार निर्माण गर्न पहल गरेको बताए।
उनले उत्तरी कोरलानाका चाँडै खुल्ला हुने बताए। कोरला नाकाबाट सहज रूपमा हुने व्यापारिक गतिविधिलाई अघि बढाउने बताए। कोरला नाकाको स्थलगत भ्रमण सकेर जोमसोम फर्किएका मुख्यमन्त्री पाण्डेले चीनले आफ्नो क्षेत्रमा ठूल्ठूला भौतिक संरचना निर्माण गरेको र नेपालतर्फ कुनै पूर्वाधार निर्माण नहुँदा लज्जाबोध भएको सुनाए।
चौंरी चढेर पर्यटन प्रवर्द्धन गर्दै जनप्रतिनिधि
मुस्ताङको घरपझोङ गाउँपालिकाका जनप्रतिनिधिले चौंरी चढेर पर्यटन प्रवद्र्धन सुरु गरेका छन्। तीनदिने कृषि तथा पर्यटन महोत्सवमा सो गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकालीले संयुक्त रूपमा चौरीमा चढेर पर्यटन प्रवद्र्धनका लागि योगदान गरे।
मुस्ताङमै पहिलोपटक आयोजना गरिएको बृहत् कृषि तथा पर्यटन महोत्सव घरपझोङ गाउँपालिकाले कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको हो।
मुस्ताङमा उत्पादित रैथाने अर्गानिक कृषि उत्पादनको प्रदर्शनी, प्रचारप्रसार र बजारीकरण तथा मुस्ताङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक विविधता महोत्सवमार्फत पस्किएर बढीभन्दा बढी पर्यटन भित्र्याउन कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको हो। मुस्ताङको पशुपालन व्यवसायतर्फ याकचौरी तथा भेडाच्याङ्ग्रा पालन महत्त्वपूर्ण व्यवसायको रूपमा अपनाउँदै आइरहेको पाइन्छ। पारिस्थितिक प्रणालीमा समेत योगदान दिने हिमाली क्षेत्रको प्रमुख आयआर्जनको स्रोत मानिएका याकचौरी पालनलाई हिमाली संस्कृतिको रूपमा उजागर गर्न खोजिएको हो। महोत्सवमा याकचौरीमा चढेर सयर गरेको प्रतिपर्यटक तीन सय रुपैयाँ शुल्क तोकिएको छ।