हिमालको टावर पदमचाल

प्रकृति

हिमालको टावर पदमचाल

केन्जो पाँचथर र ताप्लेजुङको हिमाली क्षेत्रमा पदमचाल पर्याप्त मात्रामा पाइँदो रहेछ। यो आकर्षक फूलमात्र नभएर एक प्रकारको औषधीय गुण भएको वनस्पति भनेर विज्ञहरूले बताएका छन्।

तिम्बुङ पोखरीको दर्शन गर्न जाने मानिसले केन्जो फूल हेर्ने योजना बनाएका हुन्छन्। पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य हो यो। आकर्षक पोखरीलाई झन् आकर्षक बनाएको छ, पोखरी आसपासमा पाइने बहुउपयोगी वनस्पति केन्जो फूलले। केन्जोलाई पदमचाल भनिन्छ। संस्कृत भाषामा यसलाई अम्लसार, रेवाचिनी, बेतसाम्ल, फलाम्ले र गान्धिनी भनेर सम्बोधन गरिन्छ। यसलाई ग्रिन हाउस प्लान्ट भनेर चिनिन्छ।

केन्जोसँग रमाउन यो फूलेको सिजनमा जानुपर्ने हुन्छ। तिम्बुङ पुग्ने हरकोहीले केन्जोसँग रमाउने लक्ष्य बनाएका हुन्छन्। यहाँ पुग्ने जो कोहीले केन्जोसँग पोज पोजका फोटो खिच्ने, भिडियो बनाउने अनि रमाउने गरेका छन्। केन्जो भदौ र असोज महिनामा मज्जाले फुल्छ। केन्जो फुल्ने मुख्य सिजनमै पदयात्री तिम्बुङ यात्रा तय गर्छन्। केही दिनअघि पाँचथर सदरमुकाम फिदिमबाट नौ पदयात्रीले तिम्बुङको यात्रा गरे। पोखरीको दर्शनसँग केन्जोसँग रमाउने उनीहरूको लक्ष्य थियो। ‘यसपालि त जसरी पनि केन्जोलाई प्रत्यक्ष हेरेर आउने हो’, यात्रा सुरु गर्नुपूर्व तुलसी आचार्यले भनेका थिए, ‘केन्जोसँग मस्ती गरेर आउने हो।’

फिदिमबाट तीन दिनको यात्रापछि तिम्बुङ पुगिन्छ। तिम्बुङ पुगेपछि पोखरी नजिकैको पहरामा केन्जो फुलेको देखेपछि फिदिमका सुबास बाँस्कोटा खुसीले चिच्याए। ‘केन्जो त टावर जस्तो पो रहेछ !’ केन्जोको फूल सुमसुम्याउँदै उनी भन्छन्, ‘यसलाई हिमालको टावरभन्दा फरक पर्दैन।’ खुसीले पुलकित भएका उनले केन्जोलाई चुम्बन गरे। पत्रपत्र पल्टाएर हेरे अनि फोटो भिडियो मज्जाले खिचे। विगतमा केन्जोको फोटो हेरेर चित्त बुझाएका उनले प्रत्यक्ष देख्दा टावरसँग तुलना गरिदिए हुन्। हुन पनि केन्जोलाई झट्ट हेर्दा ठिङ्ग ठडिएको टावरजस्तै देखिन्छ। फेदमा मोटो र टुप्पोमा चुच्चो हुने भएकाले केन्जोलाई धरहरासँग तुलना गर्नेहरू पनि छन्।

‘केन्जो त काठमाडौंमा बनेको धरहरा जस्तो पो रहेछ’, सबिन लामिछाने भन्छन्, ‘पातको रङ पनि त्यस्तै पो रहेछ।’ केन्जोको बारेमा पहिलोपटक वैज्ञानिक व्याख्या गरेका ब्रिटिस बोटानिस्ट सर जोसेफ टाल्टन हुकरले केन्जोलाई ठिङ्ग उभिएको टावरसँँग तुलना गरेको पाइन्छ। ‘पदमचाललाई पहिलोपल्ट एक माइल टाढाबाट देखें। लाछेन उपत्यकाको १४ हजार फिट उचाइमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो। अप्ठ्यारा ठाउँमा थिए’, हुकरले आफ्नो पुस्तक हिमालयन जर्नल्स नोट्स अफ न्याच्युरलिस्टमा लेखेका छन्, ‘तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिंग उभिएको थियो।’

हुकरले सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा टावरको रूपमा केन्जो देखेको उल्लेख गरेका हुन्। केन्जोको बिरुवामा पत्रपत्र परेका सेता पातहरू हुन्छन्। तल्लो भागमा पातहरू ठूला हुन्छन्। माथिल्लो भागका पातहरू तल्लो पातहरूको तुलनामा साना हुन्छन्। यसको उचाइ एकदेखि तीन मिटरसम्म अग्लो हुन्छ। यसलाई पहराको आसपासमा फुलेको भेटिन्छ। केन्जो फुलेको बेला हिमाली टाकुरा र कन्दराको शोभा बढ्छ। यसलाई पहराको आसपास र हिमालको टाकुरामा मज्जाले फुलेको पाइन्छ।

वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठका अनुसार केन्जोलाई ग्रिन हाउस प्लान्ट भन्ने गरिन्छ। ‘केन्जो लेकाली क्षेत्रमा पाइने बहुउपयोगी वनस्पति हो’, श्रेष्ठ थप्छन्, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’ हिमाली क्षेत्रमा यसको व्यावसायिक खेती गर्न सकिने श्रेष्ठको भनाइ छ। तर, हालसम्म व्यावसायिक खेती गरेको आफूलाई थाहा नभएको उनी बताउँछन्। केन्जोको पातको रङ नौनीजस्तै देखिन्छ। यसको मगमग बास्नासमेत आउँछ। पातभित्र यसको फूल हुन्छ। यसबाट थप बिरुवासमेत उमार्न सकिने विज्ञको बुझाइ छ। पातले न्यानो बनाउने भएकाले त्यसभित्र सानासाना जीव बस्ने गरेको बताइन्छ।

औषधीय गुण भएको केन्जोलाई फूलहरूको रानी भनेर स्थानीयले भन्ने गरेका छन्। हिमालमा केन्जो फुल्दा वातावरण निकै आकर्षक देखिन्छ। साउनदेखि असोज महिनासम्म केन्जो फुलेको देख्न सकिने तिम्बुङ क्षेत्रका पर्यटन व्यवसायी अमिर राई बताउँछन्। ‘केन्जोले हिमाली क्षेत्रलाई दुलहीजस्तै राम्रो बनाएको छ’, उनी थप्छन्, ‘हिमालको गहना हो केन्जो। यसले हिमाललाई शोभायमान बनाएको छ।’ नेपालको तिम्बुङ पोखरी क्षेत्रमा केन्जो पर्याप्त मात्रामा पाइन्छ। तिम्बुङ जाने यात्रुले पोखरीको दर्शनपछि केन्जोसँग फोटो खिच्ने र भिडियो बनाउने गरेको पाइन्छ। ‘यसपटक केन्जोलाई प्रत्यक्ष देखियो’, पाँचथरको हिलिहाङ गाउँपालिकाका लोकेन खतिवडा भन्छन्, ‘केन्जो हेर्ने धोको बल्ल पूरा भयो। फोटोमा देखेभन्दा राम्रो हुँदोरहेछ केन्जो।’

हिमालको पहरामा सेताम्य भएर केन्जो फुल्छ। यो दुर्लभ प्रजातिको फूल हो। वनस्पति विभागका अनुसार नेपालको तिम्बुङ क्षेत्रमा पर्याप्त मात्रामा केन्जो पाइन्छ। नेपालसहित भारत र भुटानमा केन्जो भेटिएको राष्ट्रिय वानस्पातिक संग्रहालय तथा वनस्पातिक प्रयोगशालाका प्रमुख सुवास खत्रीले बताउँछन्। ‘यो औषधिको रूपमा प्रयोग गरिएको बहुउपयोगी वनस्पति हो’, खत्री थप्छन्, ‘स्थानीय मानिसले केन्जोलाई विभिन्न परिकार बनाए खाने गरेका छन्।’ केन्जोको एउटै फूलमा भाले र पोथी दुवै योनी पाइने अनुसन्धानकर्ताले बताएका छन्। नेपालमा तीन हजार मिटरदेखि चार हजार पाँच सय मिटरसम्मको हिमाली भेगमा केन्जो पाइन्छ। पाँचथर र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिम्बुङ क्षेत्रसहित दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, मुगु, पर्वतलगायत हिमाली जिल्लामा केन्जो भेटिएको वनस्पति विभागकी अनुसन्धान अधिकृत रीता क्षेत्री बताउँछिन्।

‘पाँचथर र ताप्लेजुङको हिमाली क्षेत्रमा पदमचाल पर्याप्त मात्रामा पाइँदो रहेछ,’ अनुसन्धानका लागि स्थलगत रूपमा खटिएकी क्षेत्रीले भनिन् ‘यसको विषयमा विगतमा पनि केही अनुसन्धानहरू भएका छन्। केन्जोको महत्त्व र विशेषताको विषयमा थप अनुसन्धान भइरहेको छ।’ क्षेत्रीले तिम्बुङसँग सिमाना जोडिएको भारतको सिक्किमतर्फ केन्जोको बगान नै भएको बताउँछिन्। ‘नेपालतर्फ पनि केन्जो पर्याप्त मात्रामा पाइँदो रहेछ’ उनी भन्छिन्, ‘तर संरक्षणको अभावमा यतातिर पातलो देखियो। सिक्किमतर्फ बाक्लो देखियो।’ केन्जोको तरकारी र अचार बनाएर खाने गरेकाले नेपालतर्फ केही पातलो देखिएको उनको भनाइ छ।

केन्जो आकर्षक फूलमात्र नभएर यो एक प्रकारको औषधीय गुण भएको वनस्पति भनेर विज्ञहरूले बताएका छन्। केन्जोमा औषधीय गुण धेरै हुने भएकाले स्थानीय मानिसले यसलाई अति महत्त्वपूर्ण वनस्पतिको रूपमा लिएका छन्। आयुर्वेदमा केन्जोलाई निकै महत्त्वका साथ लिने गरेको पाइन्छ। स्थानीय मानिसले पखाला लागेको कब्जियत भएको ज्वरो आएको बेला औषधिको रूपमा खाने गरेका छन्। आगोले शरीर जलेको बेला यसको रस जुसको रूपमा पिउँदा जलेको ठीक हुने स्थानीय बताउँछन्। हातखुट्टा मर्किएको, शरीर सुनिएको हड्डी भाँचिएको अवस्थामा केन्जोको जरा कुटेर गाईको गहुँतसँग घोलेर खाँदा ठीक हुन्छ।

यसको जरालाई अचुक औषधिको रूपमा लिने गरेका छन्। यो एक प्रकारको जडीबुटी हो। केन्जोको जरा र जमिनमुनि रहेको काण्ड कसिएर चाम्रो हुन्छ। बाहिरी भाग चाहुरिएको हुन्छ। यसबाट मगमग बास्ना आउँछ। यसको स्वाद केही मात्रामा अमिलो, पिरो र टर्रो हुने गरेको कालीखोलाका स्थानीय नन्दराम बानियाँ बताउँछन्। ‘केन्जोको अचार खुब मीठो हुन्छ’, बानियाँ थप्छन्, ‘धेरै मानिसले यसको अचार र तरकारीलाई रुचाएर खाने गर्छन्।’ केन्जोको पात र फूललाई स्थानीयले तरकारी तथा अचार बनाएर खाने गरेको समेत पाइन्छ। वनस्पति विभागले केन्जोलाई लोपोन्मुख वनस्पतिको सूचीमा राखेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.